८ वैशाख २०८१ शनिबार
राजनीति

नगरपालिका संघसँगै पौडेलले प्रदेश संसद हाँक्दै

मकवानपुर – देशको राजधानी काठमाडौं समेत रहेकाले प्रदेश नम्बर ३ नम्बरको चर्चा बढी हुने गरेको छ। त्यसमाथि प्रदेशको राजधानी अचानक हेटौंडा तोकिएसँगै प्रथम सभामुखको चर्चा पनि चुलिएको छ।

प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइराला प्रदेश अस्थायी राजधानी हेटौंडा आएपछि प्रदेशभरीका साँसदहरुलाई कस्ले सपथ खुवाउँला भन्ने चासो थियो। अन्ततः जेष्ठ सदस्यको रुपमा ७१ बर्षिय डोरमणि पौडेल तोकिएपछि त्यो कौतुहलता पनि मेटियो।

पौडेलले आइतबार बिहान हेटौंडा–१०, बसपार्कसँगै रहेको मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा स्थापित प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख अनुराधा कोईरालाबाट पद तथा गोपनियताको सपथ खाए। सपथ खादै गर्दा ढाका टोपी, दौरा, सुरुवाल, कोटमा ठाट्टिएका उनले ईश्वर र देशको सट्टा जनता र देशको नाममा सपथ लिए। ईश्वरको सट्टा जनतालाई साक्षी मानेर सपथ खाएका उनी ढल्कदो उमेरमा पनि चमक देखिन्थ्यो।
त्यसलगत्तै प्रदेश नम्बर ३ की प्रदेश प्रमुख कोइरालाको बिशेष उपस्थितीमा उनले सानका साथ १०९ प्रदेश साँसदहरुलाई सपथ ग्रहण गराए। ३८ वर्षदेखि राजनीतिमा सक्रिय उनलाई  प्रदेश ३ नम्बरको भावी सभामुखको रुपमा हेरिएको छ।

तर, नेकपा एमालेकी मकवानपुर अध्यक्ष एवम् समानुपातिक प्रदेश साँसद मुनु सिग्देलले मुख्यमन्त्री एमालेको हुने भएकाले सभामुख माओवादी केन्द्रले पाउँने बताइन्। त्यसबारेमा अन्तिम टुङ्गो भने लाग्न बाँकी रहेको उनले बताईन्। पौडेलले प्रदेशमा गतिलो जिम्मेवारी पाउने सम्भावना भने अझै बाँकी रहेको सहजै आँकलन गर्न सकिन्छ। त्यसो त प्रदेशको पहिलो सभामुखको हैसियतमा सपथ ग्रहणसँगै केही बैठक समेत उनैले राख्ने छन्।

नेकपा एमालेको जिल्लादेखि केन्द्रिय तहमा समेत हैसियत राख्ने उनले नेपाल नगरपालिका संघ सहित बिभिन्न सामाजिक संस्थामा काम गरेको अनुभव समेत छ। एमालेको जिल्ला, प्रदेश र केन्द्रीय बिभागका बिभिन्न पदहरुमा बसेर काम गरी सकेको अनुभव उनीसँग छ।

प्रदेश राजधानी जोगाउन एमालेलाई चुनौती

प्रदेश नम्बर ३ को संसदमा एमालेको बहुमत छ। एक सय १० प्रदेश सांसदमध्ये प्रत्यक्ष र समानुपातिकगरि ५८ जना साँसद एमालेसँग नै छ। तर प्रदेश राजधानी हेटौंडालाई नै स्थायी गर्न वा सार्न आबश्यक दुई तिहाई पु-याउन उसले सम्वतः माओवादीसँगै काँग्रेसको साथ चाहिन्छ।

तर राप्रपा अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापा, मकवानपुर निर्वाचन क्षेत्र २ (ख)का साँसद एवम् पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँ लगायतको दबावमा प्रदेशको अस्थायी राजधानी हेटौंडा ल्याईएको छ। स्थायी राजधानी हेटौंडा नै बनाई छाड्ने धुवादार भाषण गर्दै आएका छन्, साँसद बानियाँले।

यता, सभामुखको भुमिका निर्वाह गरिरहेका जेष्ठ सदस्य पौडेल पनि जुनसुकै हालतमा हेटौंडालाई नै स्थायी राजधानी बनाउँने बताउँछन्। त्यसका लागि लविङ्ग भइरहेको काठमाडौंबाट टेलिफोनमा उनले नागरिकलाई बताए।

एमालेभित्रै र प्रदेश साँसदहरुबीचमै अस्थायी राजधानी हेटौंडा बनाईएकोमा नै असन्तुष्टी रहेको छ। यस्तो बेला सम्भवतः प्रतिपक्षी काँग्रेस जिल्ला सभापति समेत रहेका बानियाँको प्रतिबद्धताले एमाले साँसदहरुलाई टाउँको दुःख्ने पक्का देखिन्छ।

प्रत्यक्ष निर्वाचित ६६ जनामध्ये एमालेको ४२, माओवादी केन्द्रको १५, काँग्रेसको ७, नयाँ शक्ति पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीको १–१ जना साँसद छन्। त्यस्तै, समानुपातिकतर्फ एमालेको १६, काँग्रेसको १४, माओवादी केन्द्रको ८, विवेकशील साझाको तीन, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राप्रपा (प्रजातान्त्रिक)का १–१ जना साँसद छन्।

प्रत्यक्ष चुनावमा पौडेलको युवा रवाफ

मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ (ख)का बाम गठबन्धन(एमाले)का उम्मेदवार पौडेलका प्रतिस्पर्धी थिए लोकतान्त्रिक गठबन्धन(काँग्रेस)का अशोक शाक्य। चुनावको अन्तिम चुनावी भाषणमा शाक्यले २ पटक मेयर भएरपनि पौडेलले बिकास नगरेको आरोप लगाएका थिए। उनले पौडेललाई लक्षित गर्दै व्यङ्ग्य गरेका थिए, ‘उहाँले गरेको बिकास राजमार्गको दुबैतर्फ अनुत्पादक अशोकको बिरुवा रोपेको मात्र हो, अब हामी नयाँ बिरुवा रोप्छौँ।’ तर शाक्यलाई ४ हजार १ सय २२ मतले पछि पार्दै पौडेल बिजयी हुँदै गतिलो जवाफ थिए। उमेरले बुढ्यौली लागेपनि चुनावी कार्यक्रममा निक्कै सक्रिय रहेका थिए। पौडेलले २० हजार ७ सय ३ मत प्राप्त गरेका थिए भने शाक्यले १६ हजार ५ सय ८१ मत ल्याएका थिए। बिजयी भएसँगै उनले भनेका थिए, ‘मेयर हुँदा हेटौंडालाई मोडल सिटीको रुपमा बिकास गरे, त्यस्तै प्रदेश नम्बर ३ लाई मोडल प्रदेश बनाउने प्रतिबद्धता गर्छु।’

यस्तो छ पौडेलको जीवनी

नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको २०४८ र २०५४ मा निर्वाचित मेयर हुन्। २ पटक नगरपालिकाको नेतृत्व गरेका उनले हेटौंडालाई देशमै नमुनालायक हुने गरि बिकास गरेको जानकारहरु बताउँछन्।

राज्य पुनर्संरचना उच्च स्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरिसकेका पौडेल, अन्तराष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक बिकास समितिको अध्यक्ष समेत हुन्।

काठमाडौंको तत्कालिन फपिङ्ग गाबिसमा बि.सं. २००२ साल चैत्र १५ गते जन्मिएका उनको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर हो। मायानाथ पौडेल र कुलकुमारी पौडलका सुपत्र डोरमणिले मानविकी संकायमा स्नातक(बी.ए.)सम्मको औपचारिक अध्ययन गरेका छन्। बि.सं. २०३० सालदेखि बिद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय भएका थिए। उनले २०३२ देखि १० बर्ष शिक्षक भएर शिक्षण समेत गराएका थिए। लामो समय अर्धभूमिगत भूमिगत बिताएका उनको २०४६ सालको जनआन्दोलन ताकामा तत्कालिन सरकारले टाउकोको मुल्य तोकेपछि ५६ दिन भारतमा बसेका थिए। चार पटक कैद सजाँय तोकेर जेल परेका उनी १८ पटक प्रहरीको हिरासतमा बसेका थिए।

प्रकाशित: ८ माघ २०७४ १४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App