coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लम्बियो नेविसंघ महाधिवेशन

काठमाडौं- महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली तयार नहुँदा नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको बन्दसत्र अझै सुरु हुन सकेन। भागबन्डाका आधारमा प्रतिनिधि टुंगो लगाइए पनि बिहीबार साँझसम्म कुनै पनि पक्षले सूची उपलब्ध नगराएपछि महाधिवेशन लम्बिएको हो।

सूची उपलब्ध नहुँदा बिहीबार प्रतिनिधिको अन्तिम नामावली प्रकाशनसहितको प्रक्रिया प्रक्रिया अघि बढ्न सकेन। निर्देशक समिति संयोजक प्रकाशशरण महतले थप गर्ने प्रतिनिधिको सूची नआएका कारण अन्तिम नामावली प्रकाशित हुन नसकेको बताए। 'प्रतिनिधि संख्या थप गरेर विवाद मिलाउने समझदारी भएको थियो,' महतले नागरिकसँग भने, 'लिस्ट नआएकाले ढिला भइरहेको छ, रातिसम्म आउला, भोलि (शुक्रबार) बाट प्रक्रिया अघि बढ्छ।'

निर्देशक समिति सदस्य गुरुराज घिमिरेले साँझसम्ममा ७५ जिल्ला महाधिवेशन प्रतिनिधिको टुंगो लागेको जनाउँदै रातभरिमा सबै टुंग्याउने प्रयास भइरहेको जानकारी दिए। 'काठमाडौं उपत्यका, थपिएका २ सय १५ र १ सय १० का साथै अध्यक्षले मनोनीत गर्ने ३० को टुंगो लाग्न बाँकी छ,' उनले नागरिकसँग भने, 'थपिएका प्रतिनिधिको सूची नआएकाले ढिलाइ भइरहेको छ।'

समितिका अर्का सदस्य प्रदीप पौडेलले प्रतिनिधि टुंगो नलाग्दा देशभरिबाट आएका विद्यार्थीनेता अलपत्र परेको जनाउँदै त्यसका लागि गम्भीर पहल नभएको बताए। पूर्वसहमतिविपरीत प्रतिनिधिको सूची थपघट भइरहेको सूचना आइरहेको जनाउँदै उनले नागरिकसँग भने, 'पूर्वसहमतिअनुसार कुनै पक्षले पनि प्रतिनिधिको सूची दिएका छैनन्।'

महत नेतृत्वको निर्देशक समितिले मंगलबार राति ३ सय ५० महाधिवेशन प्रतिनिधि थप गर्दै २ सय २५ महाधिवेशन प्रतिनिधि पार्टी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला (कुन्दन काफ्ले नेतृत्वको अनशनरत) पक्ष र बाँकी १ सय २५ अनशनरत अर्को पक्षलाई दिने सहमति जुटाएको थियो। सिलिङ मिचेर सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षले ल्याएका ४ सय १८ महाधिवेशन प्रतिनिधिलाई पनि निर्देशक समितिले मान्यता दिँदै विवाद समाधान गरेको थियो।

प्रकाशित: २८ श्रावण २०७३ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App