७ वैशाख २०८१ शुक्रबार
राजनीति

'स्वाभिमान बन्धक राखेर एकता हुन्न'

काठमाडौं- राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले आफ्नो अस्तित्व विलय गरेर राप्रपा नेपालसँग एकीकरण नहुने बताएका छन्। राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राणाले स्वाभिमान र आत्मसम्मान बन्धक राखेर राप्रपा नेपालसँग शरण मागीमागी एकता गर्न नसकिने बताए।

'दुई पार्टीबीच एकता हुनुपर्छ, यसमा हामी आज पनि दृढ छौं,' राणाको प्रश्न छ, 'तर, एकताका नाममा दुई प्रधानमन्त्रीदेखि थुप्रै माननीय मन्त्रीलाई ठाउँ दिएको राप्रपाले आफ्नो स्वाभिमान र आत्मसम्मान बन्धकमा राखी राप्रपा नेपालसँग निरीह भएर शरण माग्न जानु एकता हो कि अस्तित्वको विलीनीकरण?'

राप्रपा नेपालले विदेशीको इसारामा एकता तोडेको भन्दै पार्टी एकीकरणको अध्याय समाप्त भएको घोषणा गरेको दुई दिनपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राणाले एकीकरणका विषयमा राप्रपा नेपालले गरेको गालीगलौजका लागि माफी माग्नुपर्ने सर्त अघि सारेका छन्।

पार्टीका वरिष्ठ नेतासमेत रहेका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित धेरै नेता अनुपस्थित पत्रकार सम्मेलनमा अध्यक्ष राणाले अन्तरिम विधानमा रहेको असन्तुलन हटाउने हो भने एकीकरण हुने बताए।

वैचारिक विषय चैतभित्र हुने महाधिवेशनमा टुंग्याउने गरी एकीकरणको सैद्धान्तिक सहमति गरेका दुवै दलले अन्तरिम विधानमा राष्ट्रिय र पार्टी गरी दुई अध्यक्ष व्यवस्था गरेका थिए।

राणा राष्ट्रिय अध्यक्ष र राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी अध्यक्ष बन्ने सहमति थियो।

राणाले आन्तरिक विधानमा राष्ट्रिय अध्यक्षलाई भन्दा पार्टी अध्यक्षलाई बढी अधिकार भएको भन्दै त्यो स्वीकार्य नभएको बताए।

'दुई पार्टीबीच एकताका नाममा राप्रपाको झन्डा ओझेलमा पर्ने देखिँदादेखिँदै पनि बृहत्तर हितका लागि अगाडि बढेको हो,' उनले भने, 'विधानका कतिपय प्रावधान असन्तुलित हुँदा त्यसलाई सुधार गरी राप्रपा अध्यक्षलाई पनि थप अधिकार र जिम्मेवारी दिई सन्तुलित तरिकाले विधान सुधार गरौं भन्ने राप्रपाको प्रस्ताव थियो।'

राप्रपाले एकीकृत महाधिवेशनअघि एक वर्ष पार्टी सञ्चालन, चुनाव गराउन र एकता अधिवेशन गर्न मुख्य आधार अन्तरिक विधान रहेको बताएको छ।

राप्रपाले राप्रपा नेपालका अध्यक्षसहित नेताहरूबाट आफ्ना नेताविरुद्ध भएको गाली–बेइज्जती दुर्भाग्यपूर्ण भएको जनाएको छ।

राप्रपा अध्यक्ष राणाले राप्रपा नेपालका अध्यक्ष थापाको अभिव्यक्ति अमेरिकी राष्ट्रपतीय उम्मेदवार डोनल्ड ट्रम्प शैलीको भएको बताए। राणाले विदेशीको इसारा र सत्तामा जाने लोभले एकीकरण भाँडेको थापाको आरोप छ।

राणा भने आफूहरूले पुष्पकमल दाहालको पक्षमा मत हालेकाले सरकारमा जानु नौलो नभएको बताउँछन्। 'ओली नेतृत्वको सरकारको विपक्षमा मत दिएको, प्रचण्डलाई विश्वासमा मत हालेको सत्तारूढ दल हो, हामीले मन्त्री पठाउनु कुन अनौठो कुरा भयो?,' उनले भने, 'पार्टी एकीकरण नहुन्जेल हामी सत्ताको पक्षमा र राप्रपा नेपाल विपक्षमा बस्ने सहमति हो।' पत्रकारसम्मेलनमा डा. प्रकाशचन्द्र लोहनीसहितका नेता उपस्थित थिए।

पार्टी एकीकरणका लागि दबाब दिन पूर्वप्रधानमन्त्री चन्द नेतृत्वको हस्ताक्षरप्रति कुनै प्रतिक्रिया नजनाएका राणाले चन्दले पार्टीमा अहिले कुनै काम नगर्ने बताए। पत्रकार सम्मेलनमा चन्द, महामन्त्री तथा वार्ता टोली संयोजक बुद्धिमान तामाङ, प्रेमबहादुर भण्डारी, भुवन पाठकसहित नेता अनुपस्थित थिए। उनीहरूले एक साताभित्र पार्टी एकीकरण प्रक्रिया अघि नबढाए गम्भीर कदम चाल्ने चेतावनी दिएका छन्।

प्रकाशित: २८ श्रावण २०७३ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App