५ वैशाख २०८१ बुधबार
विचार

तस्करी रोक्न डिएनए बारकोडिङ

गत साता मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएको एक कन्टेनर तस्करीका वन्यजन्तुबाट भरिएको अवस्थामा प्रहरीले फेला पार्याे। कार्गोमार्फत आएको उक्त कन्टेनरभित्र दुई नवजात चिम्पान्जीहरू लुकाएर राखिएको थियो । यस्तै गत कात्तिकमा प्रहरीले चिम्पान्जी, बाँदर र अफ्रिकी चरा तस्करी गरेको अभियोगमा ६ जनालाई काठमाडाँैमा पक्रिएको थियो । उता मध्य र सुदूरपश्चिमका पहाडी जिल्लाबाट दुर्लभ तथा संरक्षित वन्यजन्तु (सालक लगायत) तस्करी गरेर भारत लैजाने क्रम रोकिएको छैन । समस्या यति विकराल रहेछ कि काठमाडौँमा मात्रै एक वर्षमा वन्यजन्तु तस्करीका करिब ५० वटा मुद्दा दर्ता हुने रहेछन् ।
जडीबुटी चोरी निकासीको समस्या पनि उस्तै छ । नेपालको उच्च हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी जस्तै सतुवा, वनलसुन, पाँचऔँले, जटामसी, कटुकी, गुच्ची च्याउ आदि तस्करी भएर भारत र तिब्बत पुग्ने गरेको सुनिएको छ । वन्यजन्तु र जडिबुटीमात्र होइन, माटो पनि ज्यादै महत्वपूर्ण प्राकृतिक स्रोत हो । तर हाल जलवायु परिवर्तन, बढ्दो प्रयोग र गलत व्यवस्थापनका कारण माटो पनि संकटमा परेको देखिन्छ । माटो परीक्षण गरेर पुरातत्वविद्ले इतिहास मात्र केलाउन सक्ने होइन, यसबाट औषधीजन्य पदार्थ पनि निकाल्न सकिन्छ । हाल विश्वमा पाइने करिब दुई तिहाइ एन्टिबायोटिक्स यिनै माटोबाट निकालिएका ब्याक्टेरियाबाट उत्पादन गरिएको हो । हाल नेपाली माटो दक्षिण कोरिया, मलेसिया, चाइना, ताइवान पुग्ने गरेको सुनिएको छ अनुसन्धानको बहानामा । विशेषगरी उच्च हिमाली क्षेत्रको माटोमा विदेशी अनुसन्धानकर्ताले आँखा गाडेको देखिन्छ किनकि त्यस्ता ठाउँको माटोमा औषधीजन्य ब्याक्टेरिया भेटिने सम्भावना रहन्छ । तर नेपालको कमजोर वैज्ञानिक पूर्वाधार र असफल सरकारी नीतिका कारण त्यस्ता जैविक वस्तुको दोहन रोकिएको छैन । माथि उल्लिखित वन्यजन्तु, जडीबुटी वा माटो जस्ता प्राकृतिक जैविक वस्तु जोगाउन तिनको डिएनए बारकोडिङ गर्नुपर्छ । र, यसैको चर्चा प्रस्तुत लेखमा गरिएको छ।

उच्च हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी तस्करी भएर भारत र तिब्बत पुग्ने गरेको सुनिएको छ । वन्यजन्तु र जडिबुटीमात्र होइन, माटो पनि ज्यादै महत्वपूर्ण प्राकृतिक स्रोत हो । तर हाल जलवायु परिवर्तन, बढ्दो प्रयोग र गलत व्यवस्थापनका कारण माटो पनि संकटमा परेको देखिन्छ । माटो परीक्षण गरेर पुरातत्वविद्ले इतिहास मात्र केलाउन सक्ने होइन, यसबाट औषधीजन्य पदार्थ पनि निकाल्न सकिन्छ । हाल विश्वमा पाइने करिब दुई तिहाइ एन्टिबायोटिक्स यिनै माटोबाट निकालिएका ब्याक्टेरियाबाट उत्पादन गरिएको हो ।

प्रहरी वा भन्सारका कर्मचारीलाई जैविक वस्तुबारे जानकारी कम हुने र देशले हालसम्म भन्सार नाकाहरूमा डिएनए बारकोडिङ विधिलाई अंगिकार नगरेका कारण तस्करहरूका लागि उर्वर भूमि हुन पुगेको छ नेपाल । विदेशमा त्यस्ता जैविक वस्तुको निर्यात विन्दुमा (भन्सार नाका) नै डिएनए बारकोडिङ परीक्षण हुने गरेको छ । हुन त डिएनए परीक्षण रिपोर्ट पनि समय समयमा नेपालमा विवादमा आउने गरेको छ । गत साता मात्रै तनहुँ जिल्ला अदालतले एक मुद्दाको फैसलामा डिएनए रिपोर्टलाई अस्वीकार गरेको छ । र, राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावित भई गलत रिपोर्ट निकालेको आरोप लगाएको छ । यसै सम्बन्धमा ३ वर्ष अगाडि सर्वोच्च अदालतले पनि डिएनए परीक्षणलाई स्वीकार वा अस्वीकार गर्न अदालत स्वतन्त्र हुने बताएको थियो । यी दुवै फैसलामा डिएनए परीक्षणलाई चुनौती दिनुको पछाडि वैज्ञानिक कारण पनि भेटिन्छ जस्तै डिएनएको परीक्षण विधि नमुना संकलन, भण्डारण आदिमा हुन सक्ने मानवीय त्रुटिबाट डिएनए रिपोर्ट फरक पर्न सक्छ । त्यसैले भरपर्दो डिएनए परीक्षणको सुनिश्चितता राज्यले गर्नुपर्छ । फलस्वरूप जैविक वस्तुको चोरी निकासी वा तस्करी रोक्न डिएनए बारकोडिङ देशभित्रै गर्न सकियोस्।

डिएनए बारकोडिङ के हो ?
डिएनए बारकोडिङ विधिमा डिएनएको निश्चित खण्डको सानो भाग सिक्वइन्स गरिन्छ । र, त्यही डिएनए सिक्वइन्सलाई अन्तर्राष्ट्रिय डाटाबेस वा जिन बैंकमा बारकोडका रूपमा राखिन्छ । सुपरमार्केटमा सामग्री किन्दा जसरी युनिभर्सल प्रडक्ट कोड (बारकोड) मेसिनले रिड गरेको हामीले देखेका छौँ त्यस्तै गरी डिएनए बारकोडलाई पनि मेसिनले रिड गर्छ । फलस्वरूप अज्ञात जैविकवस्तुको वैज्ञानिक पहिचान गर्न सकिन्छ । डिएनए बारकोडिङ सुरु भएको सन् २००३ देखि मात्र हो जब क्यानेडियन वैज्ञानिकले यससम्बन्धी अनुसन्धात्मक शोध सोही वर्ष एक जर्नलमा प्रकाशित गरे । र, विश्वमा हालसम्म पनि यस क्षेत्रको अध्ययन अनुसन्धानमा क्यानाडाकै वर्चस्व कायम देखिन्छ । क्यानाडाको ‘इन्टरनेसनल बारकोड अफ लाइफ’ले डिएनए बारकोडिङ सम्बन्धी वैज्ञानिक तथ्यांक संसारभरिबाट संकलन गर्छ । जसमा हालसम्म हजारौँ जैविक वस्तुको करिब ५ लाख डिएनए बारकोडिङ तथ्यांक भेटिन्छ।

वनस्पति, जनावर वा ब्याक्टेरियाको बारकोडिङ गर्ने वैज्ञानिक तरिका फरक फरक छ । जनावरको हकमा प्रायः जीवकोषको माइटोकोन्ड्रियाभित्रको डिएनएको निश्चित भाग (साइटोक्रोम सी अस्सिडेज नामक जिन) लाई पोलिमरेज चेन रिआक्सन (पिसिआर) गरेर टेस्टट्युबमा निकालिन्छ र त्यसपछि सिक्वइन्स गरेर सोको परीक्षण गरिन्छ । यही विधिअनुसार चरा, पुतली, माछा, झिँगा आदिको प्रजाति पहिचान गर्न सकिन्छ । हाम्रो देशमा सर्वाधिक चासोको विषय डिएनए बारकोडिङका लागि खर्च कति लाग्छ भन्ने देखिन्छ । जैविक पदार्थ जस्तै जनावरको छाला, हड्डी, मासु अथवा वनस्पति वा ब्याक्टेरिया कुन वस्तुबाट डिएनए निकाल्ने हो सोहीअनुसारको बहुराष्ट्रिय बायोटेक्नोलोजी कम्पनीले बनाएको किट नेपाली बजारमा पनि अचेल सजिलै पाइन्छ । विदेशी किट प्रयोग गरेर डिएनए निकाल्न प्रतिस्याम्पल करिब तीन सय रुपियाँ खर्च हुन्छ । र, डिएनए ३० मिनेटभित्रै निकाल्न सकिन्छ । उक्त डिएनएबाट बारकोडिङका लागि चाहिने निश्चित भाग (जिन) पिसिआर पद्धतिबाट निकालिन्छ जसका लागि करिब तीन सय रुपियाँ नै खर्च हुन्छ प्रतिस्याम्पल । त्यसपछि उक्त डिएनएलाई सिक्वइन्स गर्नुपर्छ । त्यसका लागि डिएनए सिक्वइन्सर नामक उपकरण प्रयोग गरिन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा उक्त उपकरण भए पनि हालसम्म व्यावसायिक रूपमा सञ्चालनमा आउन सकेको छैन । विकल्पमा विदेशी प्रयोगशालामा पठाएर सिक्वइन्स गर्दा प्रतिस्याम्पल पाँच डलर खर्च हुन्छ (हुलाक खर्चबाहेक) । अतः समग्रमा हिसाब गर्दा एउटा स्याम्पलको बारकोडिङ गर्दा करिब एघार सय रुपियाँ खर्च हुन्छ (प्रयोगशाला सेवा शुल्कबाहेक)।

जनावरको तुलनामा वनस्पतिको डिएनए बारकोडिङ गर्न सजिलो छैन । धेरै अनुसन्धानपछि सन् २००९ देखि प्रायः वनस्पतिको सवालमा ‘म्याटके’ र ‘आरबीसीएल’ नामक जिनको डिएनए सिक्वइन्स परीक्षण गरेर बारकोडिङ गरिन्छ । र, अझै पनि विभिन्न प्रजातिका वनस्पतिको बारकोडिङ सही किसिमले गर्ने तरिका पत्ता लगाउन वैज्ञानिक अनुसन्धान जारी छ । त्यस्तै ढुसी (फन्जाई) को बारकोडिङ गर्दा ‘आईटीएसटु’ नामक जिनको जाँच गरिन्छ । र, ब्याक्टेरिया जगतको प्रजाति पहिचान गर्ने छुटै वैज्ञानिक विधि छ । स्मरण रहोस्, डिएनए बारकोडिङ विधिबाट कुनै जैविकवस्तुको जाति वा प्रजातिको पुस्ता वा विकासक्रम छुटाउन चाहिँ सकिँदैन।

क्यानाडेली संस्था ‘इन्टरनेसनल बारकोड अफ लाइफ’ले गत मंसिरमा संसारमा हुने वन्यजन्तुको बढ्दो तस्करीलाई रोकथाम गर्न विमानस्थल वा नाकामा नै जैविक वस्तुको परीक्षण तत्काल गर्न सरल ‘बारकोडिङ किट’को विकास गरेको छ । जसको कारण अब केही घन्टामा नै वन्यजन्तु वा वनस्पतिको सही पहिचान गर्न सकिने भएको छ । यस अगाडि तिनको प्रयोगशाला परीक्षणका लागि केही साता कुर्नुपर्ने थियो । जैविक वस्तुको तस्करी नियन्त्रणका लागि यो ‘बारकोडिङ किट’ अचुक सूत्र हुने विश्वास गरिएको छ । तसर्थ नेपालमा पनि यसको प्रयोग गर्न सरकारी अधिकारीको ध्यान जाओस्।

क्यानाडाको ‘बारकोड अफ लाइफ सिस्टम’ (बोल्ड) लाई संसारकै प्रमुख डेटाबेसका रूपमा प्रयोग गरिन्छ । यो बारकोडिङ सफ्टवेयर प्रयोग गर्न पैसा तिर्नुपर्दैन । हुन त डिएनए बारकोडिङबारे वैज्ञानिक आलोचना पनि नसुनिएको होइन । र, सत्य हो यो विधिले सबै खाले जैविकवस्तुको प्रजाति सही किसिमले पहिचान गर्न सक्दैन।

नेपाली सन्दर्भ
राष्ट्रिय वन्यजन्तु संरक्षण ऐनले विभिन्न २७ प्रजातिका स्तनधारी जन्तु, ९ प्रजातिका पन्छी र विभिन्न ३ प्रजातिका घस्रने जन्तुलाई संरक्षितको सूचीमा राखेको छ । र, त्यस्तै ३३ वटा वनस्पतिलाई पनि सरकारले लोपोन्मुखको सूचीमा राखेको छ । सरकारले ती जैविक वस्तुको संरक्षणका लागि डिएनए बारकोडिङ तत्काल सुरु गर्नुपर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सरकारले ३ ट्रक चोरी निकासी वा तस्करी गरेर ल्याइएका वन्यजन्तुको भौतिक रेकर्डका लागि करिब चार हजार स्याम्पलको फिजिकल बारकोडिङ हालै सम्पन्न गरेको छ । तर स्मरण रहोस्, उक्त विभागले लाखौँ खर्चेर गरेको उक्त काम डिएनए बारकोडिङ होइन र त्यसको वैज्ञानिक अर्थ छैन । माटोबाट ब्याक्टेरिया निकालेर त्यसको प्रजाति पहिचान डिएनए लेभलमा गरी ‘जिन बैंक’ बनाए मात्रै माटोको अन्तर्राष्ट्रियस्तरमा हुने चोरी निकासी रोक्न सकिन्छ । तर यस विषयमा राज्य बेखबर देखिन्छ।  

‘सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल’ नामक एनजिओले विदेशी आर्थिक सहयोगमा केही वन्यजन्तुको डिएनए बारकोडिङ गरेको भेटिन्छ । अन्तर्राष्ट्रिय जिन बैंकका अनुसार उक्त संस्थाले ५१ वटा हिमचितुवा र एउटा बाघको डिएनए बारकोडिङ गरेको देखिन्छ।

हालै वनस्पति विभागले नेपालमा पाइने महत्वपूर्ण खालका औषधीजन्य वनस्पतिको डिएनए बारकोडिङ सुरु गरेको छ । र, यस्तै काम नास्टले पनि सुरु गरेको भेटिन्छ । यसरी दुई सरकारी निकायबीच आवश्यक समन्वय हुन नसकेकाले  एउटै काममा दोहोरोपन देखिएको छ।

शैक्षिक क्षेत्रको कुरा गर्दा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तिलकराम श्रेष्ठले केही विद्यार्थीलाई नेपाली माछाको डिएनए बारकोडिङमा आधारित थेसिस भारतीय प्रयोगशालाको सहयोगमा गराएको भेटिन्छ । विषयगत दक्षताको कुरा गर्दा हाल बिएस्सी फरेस्ट्री वा बिएस्सी जनरल साइन्सको पाठ्यक्रममा  डिएनए बारकोडिङ सम्बन्धी सैद्धान्तिक वा प्रयोगगात्मक ज्ञान समावेश गरेको देखिँदैन । र, हाल नेपाली विश्वविद्यालयमा बायोटेक्नोलोजी विषय पढेकाले डिएनए बारकोडिङ गर्न सक्छन्।

ढिलै भए पनि वन मन्त्रालयले चितवनमा राष्ट्रियस्तरको वन्यजन्तु अनुसन्धान केन्द्र खोल्दै छ । र, उक्त केन्द्रमा भविष्यमा वन्यजन्तुको डिएनए बारकोडिङ गर्ने प्रमुख उद्देश्य रहेको सरकारी अधिकारी बताउँछन् । उक्त अनुसन्धान केन्द्र सञ्चालनमा नआउन्जेलसम्म वन मन्त्रालयले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई नै वन्यजन्तु र वनस्पतिको डिएनए बारकोडिङ परीक्षण गर्ने जिम्मा दिएको बुझिन्छ । तर यस विधिविज्ञान प्रयोगशालाले पहिला यसै लेखमा चर्चा गरिएको जस्तो आम मानिस र अदालतको विश्वसनीयता आर्जन गर्न रूपान्तरित हुन आवश्यक देखिन्छ।

अन्तमा, सरकारले देशमा भएका प्राकृतिक सम्पदा र जैविक वस्तुको चोरी निकासी वा तस्करी रोक्न डिएनए बारकोडिङको महत्व बुझेर उपयुक्त नीति निर्माण गर्न आवश्यक देखिन्छ।

प्रकाशित: ८ माघ २०७४ ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App