coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

यसरी सुधारौँ कांग्रेस

आम निर्वाचनको परिणाम आएको एक महिनाभन्दा बढी भयो । तिनै तहको निर्वाचनमा नेपाली कांग्रेसको देशव्यापी असफलतालाई लिएर देशभरकै लोकतन्त्रवादीहरू मर्माहत भएका छन् । बौद्धिक वर्ग चिन्तित भएको कुरा अहिलेसम्म दिनानुदिन पत्रपत्रिकामा पढ्न पाएको खबर तथा आलेखबाट सजिलै अनुमान गर्न सकिन्छ । देशभरका सचेत नागरिकका यस प्रकारको चिन्ता र चासोलाई कांग्रेस नेतृत्वले बेलैमा उचित सम्बोधन गर्नुको साथै पार्टीभित्र विद्यमान विकृति एवम् बेथितिको समाधान खोज्न अहिलेको लोकतन्त्रवादीहरूको प्रमुख इच्छा रहेको छ।

२०६५ सालको संविधानसभाको उपनिर्वाचनमा धनुषा ५ बाट म कांग्रेस सभासद्को उम्मेदवार थिएँ । यसमा मैले पराजयको सामना गर्नुपरेको थियो । २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा यसै क्षेत्रबाट म सभासद्का रूपमा जित हासिल गरेको थिएँ । हालैको प्रदेश सभा एवम् प्रतिनिधि सभाको निर्वाचनमा धनुषाका १२ जना कांग्रेसी उम्मेदवारमध्ये (संघीय संसद्का लागि ४ जना र प्रदेश सभाका लागि ८ जना) १ जना मात्र प्रदेश सभाका लागि निर्वाचित भएका छन् । म धनुषा ४ (१) बाट प्रदेश सभाका लागि उम्मेदवार थिएँ र यसमा मैले पनि पराजयको सामना गर्नुपर्याे।

 गणतन्त्र स्थापनाका लागि २०६२/६३ ताकाका राजनीतिका नायक गिरिजाप्रसाद कोइरालाले वामशक्तिसँग गरेको सहकार्यलाई ऐतिहासिक एवं समसामयिक बाध्यताका रूपमा लिन सकिन्छ । तर हालको समयमा एमाले र माओवादीसँग गरिएको सत्ता साझेदारी कांग्रेसका लागि प्रत्युत्पादक साबित भएको छ ।

विजयीपश्चात् समीक्षाको विषय अस्वाभाविक हुन जान्छ । अझै हाम्रो देशमा त जितको उन्मादमा कति व्यक्ति मदहोष भएर जान्छन् । तीन तहकै निर्वाचनमा भारी पराजय भोग्नुपरेको अवस्थामाथि गहन छलफल गर्नु प्रत्येक कांग्रेसीजनको दायित्व एवं कर्तव्य हुन जान्छ । यस पंक्तिकारले बुझेको कांग्रेस पराजयका केही कारण यसप्रकार छन् :

१.वामपन्थी शक्तिसँगको सहकार्य : गणतन्त्र स्थापनाका लागि २०६२/६३ ताकाका राजनीतिका नायक गिरिजाप्रसाद कोइरालाले वामशक्तिसँग गरेको सहकार्यलाई ऐतिहासिक एवं समसामयिक बाध्यताका रूपमा लिन सकिन्छ । तर हालको समयमा एमाले र माओवादीसँग गरिएको सत्ता साझेदारी कांग्रेसका लागि प्रत्युत्पादक साबित भएको छ । यो विषयको विस्तृत चिरफार यस लेखको उद्देश्य नभएकाले यसमाथि बढी छलफल अहिले नगरौँ ।

२.वामपन्थीहरूको गठबन्धन : आम निर्वाचनको मुखमा आएर एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुनु सम्पूर्ण नेपाली राजनीति वृत्तमै एउटा अनौठो घटना थियो । विभिन्न भेगअनुसार यी दुवै राजनीतिक शक्ति सहकार्यको प्रभाव मात्रामा फरक भए पनि, देशभरिकै निर्वाचन परिणाममा यसको असर गठबन्धनको पक्षमा देखिएको हो । मूल रूपमा गठबन्धनको असर हिमाली र पहाडी क्षेत्रमा बढी पाइएको छ ।

३.संविधान, कांग्रेस र मधेस : जहाँसम्म कांग्रेस र मधेसको सम्बन्ध छ, यसमा कांग्रेसले दुइटा मौका गुमाएको अवस्था छ । क) संविधान निर्माणलाई लिएर तराई–मधेसबाट उठाइएको असन्तुष्टिलाई राज्यले समाधान गर्न नसक्नुमा त्यहाँका आम नागरिक मात्र हैन बौद्धिक वर्ग पनि कांग्रेसलाई एउटा मुख्य दोषीका रूपमा लिएका छन् । ख) तराई–मधेस केन्द्रित दलहरूसँग चुनावी गठबन्धन गर्न नसक्नु कांग्रेसका लागि राजनीतिक अदूरदर्शिता मानिन्छ । यो गठबन्धन गर्न सकेको भए कांग्रेसलाई दुईतर्फी लाभ हुने अवस्था थियो । संविधान निर्माणको विषयलाई लिएर तराई–मधेसका आम नागरिक एवं कांग्रेसबीच बढेको दूरी सधैँका लागि कम हुनुका साथै आम निर्वाचनको परिणाम पनि धेरै हदसम्म कांग्रेसको पक्षमा हुने ठूलो सम्भावना थियो।

४.विभिन्न तहका निर्वाचन नजिकै घटेका आइजिपी प्रकरण, प्रधानन्याधीश माथिको असफल महाअभियोग एवं राजदूत नियुक्तिका घटनाले देशव्यापी रूपमा कांग्रेसको विपक्षमा वातावरण सृजना गरेको पाइयो ।

५.    अन्तर्घात : कांग्रेस पराजयका विभिन्न कारणहरूको लामो सूची प्राज्ञिक बहसको विषय होला तर पार्टीभित्रको आपसी ‘अविश्वास एवं अन्र्तघात’ सबैले स्वीकारेको सबभन्दा प्रमुख कारण हो । कांग्रेसजनको जुनसुकै भेला (बैठक) मा ‘अन्र्तघात’ भन्ने विषयमा नेताहरूले सबभन्दा बढी समय खर्चेका हुन्छन् । यो समस्या पार्टीको नितान्त आन्तरिक समस्या हो । यसको समाधान पनि पार्टीभित्रैबाट हुनुपर्छ । रोग (अन्र्तघात) थाहा भइसकेको छ, औषधी (अनुशासन÷विधि विधान) पनि उपलब्ध छ तर डाक्टर (नेतृत्व÷पार्टी) ले इलाज (अनुशासनको कारबाही) गर्न नसक्ने विडम्बनापूर्ण अवस्थाको कारणले सम्पूर्ण पार्टी पंक्ति पीडामा छ ।
६.टिकट वितरणको विषय : टिकट वितरणमा देखिएको चरम ढिलाइ मात्रले एकैचोटि अनेकौँ प्रश्न खडा गर्छ । बढी जसो ठाउँमा टिकट वितरणमा भएको त्रुटिलाई निर्वाचनको परिणामले साबित गरेको छ । “सर्वनाश भयो, अब कांग्रेसलाई उकास्न अप्ठ्यारो छ, अमूकले बर्बाद गर्याे पार्टीलाई, उनले पार्टीको हविगतको नैतिक जिम्मेवारी लिनुपर्छ” यी वाक्यहरू कांग्रसेजनहरूकै मुखबाट अहिले यत्रतत्र सर्वत्र सुन्न सकिन्छ । यो निराशाजनक स्थितिबाट यथाशीघ्र बाहिर आउने उपाय कांग्रेस नेतृत्वले खोज्न सक्नुपर्छ ।

बिपी, सुर्वणसमशेर, गणेशमान एवं कृष्णप्रसाद भट्टराईजस्ता दूरदर्शी नेताले रोपेका “रुख”को जरा देशभरि फैलिएको तथ्यलाई कांग्रेसले समानुपातिकतर्फ प्राप्त गरेको सम्मानजनक मतबाट प्रमाणित हुन जान्छ । कांग्रेसका लागि हालको राजनीतिक अवस्था अनुकूल नभएको पार्टीसँग आबद्ध सबै पक्षहरूले स्वीकार्नुपर्छ । कांग्रेसले लज्जास्पद परिणामको सामना गर्नु कुनै अचानकको घटना होइन।

एकातिर आज कांग्रेसको यस अवस्थाका लागि आ–आफ्नो तर्फबाट पार्टीसँग आबद्ध सबैले जिम्मेवारीको अनुभूति गर्न आवश्यक छ भने अर्काेतिर नेतृत्व पंक्तिले आफ्नो भागको जिम्मेवारी लिनबाट पछिहट्नु हुँदैन । अबको समयमा भाषण मात्रले पार्टीलाई जोगाउन सक्ने अवस्था देखिँदैन । पार्टीको इतिहास, यसले राष्ट्र निर्माणमा गरेको योगदान एवं स्वयं यस पार्टीको निर्माणमा हजारौँको संख्यामा विभिन्न भेगका देशवासीले गुमाएको ज्यानलाई ध्यानमा राख्दै प्रत्येक लोकतन्त्रप्रेमीले आ–आफ्नो ठाउँबाट निर्णायक भूमिका खेल्नुपर्ने समय आइसकेको छ । पार्टीको आधारभूत संरचनामा समयानुकूल वैज्ञानिक परिर्वतन आवश्यक छ । ‘मुलुकी ऐन’जस्तो दशकौँ पुरानो संगठनात्मक प्रणालीमा आमूल परिवर्तन अपरिहार्य देखिन्छ । यस दिशामा पंक्तिकारका केही सुझाव यसप्रकार छन् :

१. क्रियाशील सदस्यता : यसको आधुनिकीकरण गर्न अति आवश्यक छ । कुनै–कुनै ठाउँमा क्रियाशील सदस्य संख्या भए जति पनि निर्वाचनमा मत प्राप्त नभएको अवस्था सामुन्ने आएको छ । यसलाई व्यवस्थित गर्न देशभरिका विद्यमान “सम्पूर्ण क्रियाशील सदस्यताको व्यवस्थापन एवं क्रियाशील सदस्यता लिने तर पार्टीमा योगदान नगर्नेको तत्कालै खारेजी” पार्टीका आन्तरिक विकृतिहरूको उन्मूलनको दिशामा पहिलो उचित कदम हुनेछ । यसमा कुनै विलम्ब गरिनु हुँदैन । यसको अर्काे कुनै विकल्प पनि देखिँदैन । “यी पाँच/दशजना क्रियाशील सदस्यहरू मेरै हुन् ।” कुनै एक नेता वा कार्यकर्ताले भन्ने गरेको परिस्थितिलाई पूर्णविराम दिन यो कठोर कदम चाल्नैपर्छ ।

२. देशभरिका क्रियाशील सदस्यताको खारेजीपछि यथाशीघ्र बिल्कुलै नयाँ शिराबाट साधारण एवं क्रियाशील सदस्यता वितरण अभियानको प्रारम्भ गरिनुपर्छ । यसमा कुनै एक व्यक्तिको लोकतान्त्रिक मूल्य मान्यताप्रतिको योगदान, पार्टीको सिद्धान्तप्रतिको श्रद्धा, विश्वास एवं प्रतिबद्धतालाई ध्यानमा राख्दै आजको वैज्ञानिक युगमा विभिन्न प्रविधिको विकासका विषयलाई मध्यनजर गर्दै उनको “शैक्षिक योग्यता”लाई समेत उचित स्थान दिनुपर्छ।

३.साधारण सदस्यताको प्रक्रियालाई सहज र सरल पार्न केन्द्रीय कार्यालयबाटै विशेष पहल गर्नुपर्छ । यसका लागि विभिन्न योजना ल्याउन सकिन्छ । यसमा कुनै सदस्यले सदस्यता लिनै चाहेको हो भने पार्टीका गतिविधिदेखि संगठन, कार्यक्रममा सक्रिय सहभागितमा ध्यान दिनुपर्छ । यो प्रक्रिया बाह्रै मास सुचारु रूपले चलाइराख्नु पर्छ । अहिलेको अवस्थामा कुनै एक ठाउँका समाजमा देखिएका आपसी ईष्र्या–द्वेषको न्यूनीकरणका लागि केन्द्रबाटै साधारण सदस्यताको वितरण उचित देखिन्छ । यसरी नै क्रियाशील सदस्यताका लागि निश्चित मापदण्ड तय हुनुपर्छ । विद्यमान क्रियाशील सदस्यता वितरणमाथि ठूलो प्रश्न चिन्ह खडा भएको अवस्था छ ।
४.साधारण एवं क्रियाशील सदस्यता पूर्णरूपले निःशुल्क वितरण गरिनुपर्छ । नयाँ शिराबाट यो कार्यलाई सुरु गरी खासगरी क्रियाशील सदस्यतालाई तत्कालका लागि १ वर्षभित्रै सम्पन्नता दिइनुपर्छ ।

५.अहिलेसम्मको अभ्यासमा गाउँदेखि केन्द्रसम्मका पार्टीका आन्तरिक प्रतिस्पर्धा अस्वस्थकर एवं द्वेषपूर्ण वातावरणमा सञ्चालन भएको पाइन्छ । सामान्यतया यी प्रतिस्पर्धा पार्टीको विभिन्न तहमा २÷३ समूहका विभिन्न व्यक्तिहरूको बीचमा हुने गर्छ। आजसम्मको पार्टीको आन्तरिक प्रतिस्पर्धाको अभ्यासबाट आएको परिणामको अध्ययन गर्दा यो सम्पूर्ण वा शून्यको सिद्धान्तमा आधारित प्रक्रियाका रूपमा लिन सकिन्छ । वर्तमान अवस्थामा एउटा कुनै समूहले १–२ प्रतिशत मात्रले बढी मात्र मत प्राप्त गरे पनि यस समूहले सबै पदहरू प्रतिनिधिहरू हत्याउँछ र अर्काे समूह, जसले १–२ प्रतिशत मात्रले कम मत प्राप्त गरेमा यस समूहले एउटा पनि पद÷प्रतिनिधिहरू पाउँदैन । केन्द्रमा ठीक यसै नभए पनि गाउँ, क्षेत्र र जिल्लामा यस्ता कहालीलाग्दो दृश्य प्रायः हेर्न पाइन्छ र यसै बेलादेखि प्रतिस्पर्धी समूहका कार्यकर्ता एवं नेताहरूबीच ईष्र्या–द्वेषकारूपमा विषको बीजारोपण हुन जान्छ । आन्तरिक प्रतिस्पर्धाको परिणाम प्रकाशित भएको समयदेखि प्रतिस्पर्धी समूहहरूको बीचमा स्थायी वैमनस्य कायम भएको देखिन्छ । यस्तो अवस्थामा आम निर्वाचनको सामना गर्नु, कुनै एक देशका प्रधान सेनापति मानसिक रूपले विभाजित सेनाहरूको जमातलाई लिई अर्काे देशमाथि आक्रमण गर्नु र विजयको आशा गर्नु हो, जो पूर्ण रूपले हाँस्यास्पद एवं असम्भव परिस्थितिको सृजना गर्छ ।

अरू समय खेर नफाली पार्टीलाई यस कठिन परिस्थितिबाट बाहिर ल्याउने बाटो खोज्नैपर्छ । यस परिप्रेक्ष्यमा यस पंक्तिकारको एउटा सुझाव छ– गाउँ/वडा, क्षेत्र र जिल्लासम्मका पार्टीका आन्तरिक दुई वा दुईभन्दा बढी पक्षहरूबीच हुने प्रत्येक प्रतिस्पर्धा “समानुपातिक पद्धति”को आधारमा अभ्यास गरिनुपर्छ । जुन समूह÷पक्षले कुल मत संख्याको जति प्रतिशत मत प्राप्त गर्छ त्यसको आधारमा पद÷प्रतिनिधिको संख्या प्राप्त गर्नेछ । गाउँ स्तरमा छनोट गरिने क्षेत्रीय प्रतिनिधि, क्षेत्रीय स्तरमा महाधिवेशन प्रतिनिधि र गाउँदेखि जिल्ला स्तरका कार्यसमितिका सदस्यहरूको छनोट यसै विधिअनुसार हुनुपर्छ । यी तहका पदाधिकारीहरू (सभापति, सचिव, कोषाध्यक्ष) को छनोट प्रत्यक्ष निर्वाचनकै आधारमा गरिनुपर्छ । प्रतिस्पर्धी कुनै एक पक्षले सभापति र सचिवको पदमा विजय हासिल गर्छ भने स्वाभाविक रूपमा अर्काे पक्षले उपसभापति र मनोनित सचिव पाउनुपर्छ । केन्द्रीय स्तरको प्रतिस्पर्धालाई समानुपातिक पद्धतिभन्दा बाहिर राख्न सकिन्छ ।

पार्टीभित्रको वर्षांैदेखि चलि आइरहेको संगठनात्मक प्रणालीमा आमूल परिवर्तन एवं आन्तरिक अनुशासन कायम गर्नु नै पार्टीका लागि सही बाटो हो । जस्तोसुकै अँध्यारो रातपछिको अवस्था उज्यालो बिहान नै हो भन्ने शाश्वत तथ्यलाई ध्यानमा राख्दै सबै लोकतन्त्रवादी कांग्रेसको पुनरुत्थानमा लाग्नैपर्छ र यो सम्भव पनि छ।

प्रकाशित: ८ माघ २०७४ ०४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App