८ वैशाख २०८१ शनिबार
समाज

तीन महिलाको हत्या रहस्य सुल्झिएन

खोटाङ – खोटाङमा लामो समय बित्दा समेत दोषी पहिचान नहुँदा तीन महिलाको हत्या रहस्यमय बनेको छ । २०७३ साल माघ २६ गते बुधबार बीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विकको हत्यामा संलग्न दोषीको अहिलेसम्म पहिचान हुन सकेको छैन । हत्याका विषयमा अनुसन्धान जारी रहेको भए पनि ‘रिजल्ट’ प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । ‘हामीले तीनवटै घटनामा संलग्न रहेको आशंकामा दस–पन्ध्रजनालाई अनुसन्धानमा तानिसक्यौं,’ थापाले भने, ‘तर दोषी पत्ता लाग्न सकेको छैन । हाम्रो अनुसन्धान जारी छ।’

६ महिनाको अवधिमा भएका तीन महिलाको बीभत्स हत्याको घटना प्रकृति पनि उस्तैउस्तै देखिन्छ । महिलाको हत्यारा पत्ता नलागेको विषयमा जिल्लाका सांसदले जिल्लादेखि संसद्मा आवाजसमेत उठाए । तर, तीनवटै महिला हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पाएको छैन । जघन्य घटनामा संलग्न अपराधीको पहिचान नहुँदा सर्वसाधारणमा त्रास फैलिएको छ । प्रहरीको इन्भेस्टिगेसन टिमको अनुसन्धानबाट समेत दोषी पत्ता लाग्न नसक्दा प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठेको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले बताइन् । ‘अपराध अनुसन्धानमा नेपाल प्रहरीले अन्तर्राष्ट्रिय छवि बनाएको छ,’ उनले भनिन्, ‘तर तीनवटै महिलाको हत्यामा संलग्नको पहिचान हुन नसक्नु अत्यन्तै दुःखदायी कुरा हो।’

जिल्ला प्रहरी कार्यालयको बलबुताले नभ्याएपछि रिजनल इन्भेस्टिगेसन टिम (आरआइटी) को टोलीसमेत आएर घटनाका विषयमा अनुसन्धान गरेर फर्कियो । तर, आरआइटीले समेत रीताको हत्यामा संलग्नलाई पत्ता लगाउन सकेन।

घटनाको प्रकृतिका आधारमा तीनवटै घटनामा एउटै व्यक्ति वा समूहको संलग्नता रहेको समेत अनुमान गरिएको छ । लामो समयसम्म दोषी पत्ता नलाग्दा कतिपयले त ‘ठूलो मान्छे’ कै संलग्नता भएकाले दोषी पत्ता लाग्न नसकेको भन्दै व्यंग्यसमेत गर्ने गरेका छन् । महिलाको हत्यालगत्तै प्रहरी ताते पनि दोषी पत्ता नलाग्दा अनुसन्धान प्रयास फलदायी बन्न सकिरहेको छैन।

होटलमा काम गर्दैआएकी रीता खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कुशेआंैसी जंगलमा बीभत्स अवस्थामा मृत फेला परेकी थिइन् । सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी उनको शव बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो । युवतीको शवको टाउको फुटेको, दाँत झारिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा भेटिएकाले हत्या गरिएको स्थानीयको दाबी छ । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा ज्ञानीमायाको इलाका प्रहरी कार्यालय महादेवस्थानभन्दा करिब पैदल पाँच मिनेटको दूरीमा हत्या भएको थियो । हलेसी मन्दिरतर्फबाट स्वास्थ्यचौकी जाने बाटोमा उनको खुकुरी प्रहार गरेर हत्या भएको थियो।

देवी माइतीघर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट घर फर्कनेक्रममा सम्पर्कविहीन बनेको दोस्रो दिन साउन ५ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएकाले घटनालाई शंकास्पद मानिएको छ । तर, हालसम्म प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । प्रहरीले घटनामा कसको संलग्नता थियो र घटनाको कारण के थियो भन्ने प्रश्नको जवाफ अझै बाहिर ल्याउन सकेको छैन । तीनवटै घटनाका विषयमा अनुसन्धान जारी राखेको बताए पनि दोषी पत्ता नलाग्दा पीडित परिवार निरास बनेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए।

आङ नै सिरिङ हुनेगरी रीताको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय खोटाङका तत्कालीन डिएसपी नवीनकिशोर प्रधान आफै अनुसन्धानका क्रममा घटनास्थल पुगेका थिए । जिल्ला प्रहरी कार्यालयको बलबुताले नभ्याएपछि रिजनल इन्भेस्टिगेसन टिम (आरआइटी) को टोलीसमेत आएर घट्नाका विषयमा अनुसन्धान गरेर फर्कियो । तर, आरआइटीले समेत रीताको हत्यामा संलग्न पत्ता लगाउन सकेन । डिएसपी प्रधान फर्किएपछि घटनाका विषयमा अनुसन्धानका लागि आरआइटी झिकाइएको थियो । आरआइटीको टोलीले २०७३ साल फागुन २६ गतेदेखि केही दिन अनुसन्धान गरेको थियो । किशोरीको हत्यामा संलग्न दोषी हालसम्म प्रहरीले पत्ता लगाउन नसकेको भन्दै अनुसन्धानका लागि घटनास्थल पुगेको राष्ट्रिय मानव अधिकार आयोगले सुक्ष्म अनुसन्धानका लागि विशेषज्ञ टोली पठाउन पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयलाई आग्रह गरेको केही दिनमै रिजनल इन्भेस्टिगेसन टिम आएको हो।

जिल्लाको अनुसन्धान क्षमताबाट दोषी पत्ता लगाउने लक्ष्य पूरा हुने सम्भावना कम देखिएको भन्दै जिल्ला प्रहरी कार्यालयले पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान बयुरो (सिआइबी) को टोली पठाइदिन सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजलाई आग्रह गरेको थियो । रीताको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै अन्तरपार्टी सञ्जालले फागुन १७ गते राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको थियो । सञ्जालको ध्यानाकर्षणपछि घटनास्थल पुगेको आयोगको टोलीले फागुन २२ गतेदेखि केही दिन अनुसन्धान गरेर फर्किएको थियो।

दोषी पहिचान नहुँदा प्रहरीको आलोचना
खोटाङमा ६ महिनाको अवधिमा हत्या गरिएका तीन महिलाको हत्यामा संलग्न दोषी पत्ता लगाउन नसकेको भन्दै प्रहरीको आलोचना भइरहेको छ । महिलाको हत्या भएको महिनौं बित्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै प्रशासन र प्रहरीको आलोचना भएको हो । २०७४ साल साउन २९ गते देवी विकको हत्यमा संलग्न दोषी पत्ता लगाउन माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय चिसापानीमा धर्ना दिए । यस्तै महिलाको हत्यामा संलग्न दोषीको पत्ता लगाउनमा ढिलाइ भइरहेको भन्दै तत्कालीन सांसद विशाल भट्टराई (हाल प्रतिनिधिसभा सदस्य) को नेतृत्वमा साउन १३ गते जिल्ला प्रशासन कार्यालय गएको जन्तेढुंगा, खोटेहाङ र बराहपोखरी गाउँपालिकाका प्रमुख÷उपप्रमुखको टोलीले तत्काल दोषी पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी र तत्कालीन डिएसपी प्रधानको ध्यानाकर्षण गराएको थियो । साउन १२ गते आयोजित खोटाङको प्रथम जिल्लासभामा समेत जनप्रतिनिधिले महिलाको हत्यामा संलग्नको पत्ता नलागेको भन्दै प्रशासन र प्रहरीप्रति असन्तुष्टि पोखेका थिए ।
देवीको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै अखिल नेपाल महिला संघ नेतृत्वको स्थानीयले साउन ९ गते जन्तेढुंगा गाउँपालिका र इलाका प्रहरी कार्यालय चिसापानीमा दबाब जुलससहित ज्ञापनपत्र बुझाएका थिए । यस्तै एमाले जन्तेढुंगा गाउँपालिका संगठन समितिले साउन ७ गते विज्ञप्ति निकालेर देवीको हत्यामा संलग्न दोषी पत्ता लगाउन र कारबाहीका लागि प्रहरी तथा प्रशासनको ध्यानाकर्षण गराएको थियो । लामो समयसम्म महिलाको हत्यारा पत्ता नलाग्दा आपराधिक सोच र प्रवृत्ति भएका व्यक्तिले प्रश्रय पाएको जन्तेढुंगा गाउँपालिकाका प्रमुख राईले बताए । ‘एक्लो दोक्लो हिँडेका महिलाको लाश भेटिन्छन्, हत्यारा भेटिँदैन,’ राईले भने, ‘महिला हत्या भएको महिनौं बित्दा दोषीको अत्तोपत्तो नलाग्दा कानुनी राज्यको उपहास भएको छ ।’ अपराधी पत्ता नलाग्दा हुने गम्भीर सामाजिक र मनोवैज्ञानिक असरप्रति प्रहरी र प्रशासन सचेत हुनुपर्ने स्थानीयको भनाइ छ।

अनुसन्धानमा असहयोग भएको प्रहरीको गुनासो
खोटाङका तीन महिलाको हत्याका दोषी पत्ता लगाउनमा स्थानीयको असहयोग भएको प्रहरीको गुनासो छ । घटनाका विषयमा स्थानीयबाट आवश्यक सूचना प्राप्त नहुँदा अनुसन्धान गर्न र दोषी पत्ता लगाउन अप्ठ्यारो परिरहेको प्रहरीले बताउँदै आएको छ । समाजमा हुने हरेक घटनामा सूचनाको पहिलो स्रोत स्थानीय हुन् । तर, सूचना प्राप्त नभएपछि प्रहरी एक्लैलाई अपराधी पत्ता लगाउन समस्या परिरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित: ८ माघ २०७४ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App