१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पुल निर्माणमा ढिलाइ

खोटाङ – बंशिलाघाटस्थित सुनकोसी नदीमा निर्माणाधिन झोलुंगे पुल अलपत्र परेको छ ।बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डी जोड्ने पुल ठेकेदारको ढिलासुस्तीका कारण म्याद नाघ्दा समेत पूरा हुन सकेको छैन ।

निर्माण कम्पनी जगदम्बा र शंकरमाली जेभीले १५ महिनामा पूरा गर्नेगरी ठेक्का लिएको झोलुंगे पुल निर्माणमा ढिलासुस्ती भएपछि स्थानीय सास्ती खेप्न बाध्य छन् ।

एक करोड ४३ लाखको लागतमा पूरा गर्नेगरी ठेक्का लिएको दुई सय ३० मिटर लम्बाइ भएको पुलको हाल दुवैतर्फका जग हाल्ने बाहेकका काम हुन नसकेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए ।
 निर्माणस्थलमा ल्याइएका सिमेन्ट सडेर डल्लो परेको छ । जग पनि झाडीले पुरिसकेको स्थानीय बताउँछन् । आगामी तीन महिनाभित्र पुलको काम पूरा गर्नेगरी काम थालिएको ठेक्का पाएका प्रेम राईले बताए ।

पुल नहुँदा जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका १३ वडाका स्थानीय सदियौंदेखि बंशीलाघाटमा डुंगाबाट सुनकोसी वारपार गर्दैआएका छन् । बंशीलाघाट तराई आउजाउका लागि जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयको मुख्य नाका हो ।बंशिलाघाटको वारीपारी कच्ची सडक बनिसकेको र मालबाहक सवारी साधन ओहोर–दोहोर गरिरहेको भएपनि पुल नबन्दा स्थानीय उपभोग्य सामग्री ढुवानीमा समस्या झेल्न बाध्य छन् ।

‘बंशिलाघाटबाट तारिएको सामान जन्तेढुंगा गाउँपालिकाको चिसापानी लगायत बजारमा आउने गरेको छ,’ जन्तेढुंगा गाउँपालिका प्रमुख राईले भने, ‘हालसम्म बनिसक्नुपर्ने पुल अलपत्र छ, हाम्रो गाउँपालिकाका जनता सानो डुंगाबाट जोखिम मोलेर तराईको सामान ल्याउन बाध्य छन् ।’ समयमा पुल निर्माण कार्य पूरा गर्न पटक–पटक दबाब दिँदा पनि काममा आलटाल भएको प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले बताए ।
 

प्रकाशित: ८ माघ २०७४ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App