८ वैशाख २०८१ शनिबार
अर्थ

भारतले पानी नछाड्दा किसान समस्यामा

भारतीय पक्षले पानी नछाड्दा बारामा सुक्खा अवस्थामा रहेको गण्डक नहर । तस्बिर - नागरिक

बारा –भारतीय पक्षले गण्डक नहरमा पानी नछाड्दा हिउँदे बाली लगाएका किसान समस्यामा परेका छन् । गण्डक नहरको पानीको भरमा हिउँदे बाली लगाएका बारा र पर्सा  जिल्लाका हजारौं किसान सिँचाइ गर्न पानी नपाएपछि समस्यामा परेका हुन् ।

‘नहरमा पानी भएको बेलामा हिउँदे बाली गहुँ, मकै र आलु लगाएका किसानलाई सिँचाइ गर्न सजिलो हुने गरेको थियो,’ मटिअर्वाका किसान बृजकिशोर साहले भने, अहिले नहरमा पानी नआएकाले नहरको पानीको भरमा खेती गर्ने किसानलाई सिँचाइ गर्न समस्या भएको छ ।’गण्डक नहरमा पानी नआएपछि नारायणी सिँचाइ डिभिजन कार्यालय पर्सा, बहुअरीमा किसानले गएर सोध्दा त्यहाँ भएका अधिकारीले भारतीय पक्षले यस सिजनमा पानी नछाडेकाले नहरमा पानी दिन नसकिएको तर्क गर्ने गरेको साहले बताए ।

नहरमा पानी नआएपछि किसान प्रतिघन्टा तीन सय रुपैयाँ तिरेर बोरिङबाट मकै, गहु र आलु बालीमा सिँचाइ गर्न बाध्य भएको साहले बताए । ‘नहरमा पानी भएको भए खेतमा लगाएको गहुँ, मकै लगायत बालीमा सिँचाइ हुने थियो,’ फूलबरियाका किसान प्रभु यादवले भने, ‘अहिले बोरिङबाट सिँचाइ गर्दा एक बिघा क्षेत्रफलको एक पटकमा तीन हजारदेखि चार हजार रुपैयाँसम्म बढी रकम खर्च गर्नु परेको छ ।’
गहुँ र मकै बाली लगाउँदा सुरुमै मल, बिउ र खेतको जोताइमै  धेरै रकम खर्चिएका यस क्षेत्रका किसानले अहिले सिँचाइका लागि पनि रकम खर्च गर्नुपर्दा खेतबाट उत्पादन हुने बालीको मूल्यभन्दा लागत मूल्य नै बढी हुने अवस्था आएको यादवले बताए ।

गण्डक नगरको पानीको भरमा बारा, पर्सामा गरी १ ब्लकदेखि १० ब्लकसम्मको २० हजार हेक्टरमा धान बाली र १६ हजार हेक्टरमा हिउँदे बाली सिँचाइ हुने गरेको नारायणी सिँचाइ डिभिजन कार्यालय पर्सा, बहुअरीले जनाएको छ ।

नारायणी सिँचाइ डिभिजन कार्यालय पर्साका इन्जिनियर तथा प्रवक्ता सुरेश साहले यस वर्ष हिउँदे बालीका लागि भारतीय पक्षबाट नै नेपाल आउने गण्डक नहरमा पानी नछाडिएको बताए ।भारतीय पक्षबाटै नहरमा पानी नछाडिएपछि गण्डक नहरको पानीको भरमा हिउँदे बाली लगाएका बारा, पर्साका किसानलाई सिँचाइ गर्नका लागि पानीको व्यवस्था गर्न नसकिएको तर्क साहले गरे ।नेपाल र भारतबीच भएको सम्झौताअनुसार गण्डक नहरमा भारतीय पक्षले प्रतिसेकेन्ड आठ सय ५० क्युसेक पानी छाड्नुपर्ने भएपनि यस सिजनमा पानी छाडिएको साहले बताए ।

गण्डक नहरमा पानी छाड्नका लागि  भारतीय पक्षलाई पटकपटक लिखित जानकारी गराउदा समेत भारतीय पक्षले नहरमा मर्मत भइरहेको भन्दै पानी छाड्न इन्कार गर्दै आएको अवस्था रहेको साहले बताए ।भारतीय पक्षले आफूखुसी गण्डक नहरमा पानी छाड्ने गरेकाले गर्दा नहरको पानीले खेतमा लगाउने बालीमा सिँचाइ गर्ने किसान समय समयमा समस्यामा पर्दै आएका छन् ।


 

 

 

प्रकाशित: ८ माघ २०७४ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App