७ वैशाख २०८१ शुक्रबार
राजनीति

जानै लाग्दा मनपरी नियुक्ति

काठमाडौं – खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले तीन अर्बभन्दा बढी घाटामा रहेको खानेपानी संस्थानमा एकैपटक ११ जना सञ्चालक सदस्य थप गरी नियुक्त गरेका छन्।

बर्सेनि घाटामा जाने गरेको संस्थानमा बहिर्गमनको क्रममा रहेको सरकारका मन्त्री यादवले खुकुलो ऐनको फाइदा उठाउँदै हाल कायम ११ सञ्चालकमा ११ जना थपेर २२ सदस्य पु¥याएका छन् । अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकबाट मन्त्री यादवको प्रस्तावमा ११ जना सदस्य थपिएको हो । मन्त्रालय स्रोतका अनुसार आफ्नो कार्यकालको आखिरी समयमा मन्त्री यादवले आफन्त तथा कार्यकर्तालाई सञ्चालक समितिमा चार वर्षका लागि नियुक्त गरेका हुन्।

थपिएकामा विज्ञ सञ्चालक सदस्यमा निर्मला देवकोटा, सञ्चालक सदस्यमा वीरेन्द्रकुमार यादव, गुनाखर भुर्तेल, मीना पौडेल, वासु पौडेल, नेत्रप्रकाश पन्त, शान्ता पाण्डे, लीलाराम शर्मा, महेन्द्र यादवलगायत छन् । मन्त्री यादवले मन्त्रिपरिषद्मा ९ जनाको नाम लगे पनि पछि थपिएका दुईजनाको नाम अझै गोप्य राखिएको छ । नियुक्त भएका अधिकांश मन्त्रीको गृहजिल्ला धनुषाका बासिन्दा हुन्।

संस्थानमा रहेका पुराना १३ सदस्यमध्ये दुईजनाले राजीनामा दिएका थिए । अहिले भने सञ्चालक समिति २२ सदस्यीय भएको छ । ऐनमा ‘आवश्यकताअनुसार थप्न सक्ने’ भन्ने व्यवस्था छ । थपिएका सञ्चालकलाई समेत बैठक भत्ता, इन्धन भत्तालगायतका सुविधा दिनुपर्ने हुँदा संस्थानमा व्ययभार झनै थपिन्छ।

संस्थानका अध्यक्ष परमेश्वर पोखरेलले सरकारले सञ्चालक सदस्य थप गरेको आफूले सुनेको तर लिखित जानकारी नपाएको बताए । ‘सञ्चालक समिति सदस्य थप भएको भन्ने मैले पनि सुनेको छु,’ पोखरेलले आइतबार नागरिकसँग भने, ‘तर अहिलेसम्म मन्त्रालयबाट पत्र आएको छैन।’

संस्थानका महाप्रबन्धक भूपेन्द्रप्रसादले संस्थानमा सञ्चालक नियुक्ति, नीति निर्माणजस्ता विषय मन्त्रालयको अधिकारको विषय भएको बताए । यस विषयमा प्रतिक्रिया लिन खानेपानी मन्त्री यादव र सचिव गजेन्द्र ठाकुरलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

श्रीमतीको विदेश भ्रमण स्वीकृत गर्न दबाब
मेलम्ची खानेपानी आयोजनाको खर्चमा विदेश भ्रमण गर्न लागेका खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले राज्यलाई भार पर्नेगरी श्रीमती बिना यादवको भ्रमण स्वीकृत गर्न मन्त्रालयमा दबाब दिएका छन् । मन्त्रिपरिषद् बैठकमा ठाडो प्रस्ताव लगेर एक साता लामो स्पेन भ्रमण स्वीकृत गराएका यादवले सरकारी निकायलाई नै आर्थिक दायित्व हुने गरी श्रीमतीलाई समेत लैजाने तयारी गरेका हुन्।

यादवको दबाबपछि बिनालाई पनि मेलम्चीकै खर्चमा स्पेन भ्रमणमा पठाउने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ। ‘श्रीमतीलाई पनि सँगै लैजान दबाब दिएपछि प्रस्ताव तयार गरिएको हो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘राज्यलाई व्ययभार पर्नेगरी लैजानु राम्रो होइन ।’ यादवसँगै मन्त्रालयका उपसचिव उपेन्द्रकेशर खनाल पनि स्पेन जाने भएका छन् ।

अति विशिष्ट अधिकारी जानुपर्ने कुनै विशेष कार्यक्रम नभए पनि पदावधि सकिन लागेका मन्त्री यादव स्पेन घुम्न जाने लागेका हुन्। भिआइपीको विदेश भ्रमण सम्बन्धित देशका निकायको निम्तोमा हुने गरेको भए पनि यादवको भ्रमण सामान्य रहेको अधिकारी बताउँछन् ।

प्रकाशित: ८ माघ २०७४ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App