coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रियसभामा जान राजपा र फोरममा डौडधूप

काठमाडाैँ – आगामी माघ २४मा हुने राष्ट्रियसभा चुनावमा पार्टीका तर्फबाट उम्मेदवार हुन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका करिब दुई दर्जन भन्दा बढी नेताको दौडधूप सुरू भएको छ।

राष्ट्रियसभामा राजपाले दुई र संघीय समाजवादी फोरमले दुई वा तीन  सिट पाउने अनुमान राजपा र फोरम नेपालका नेताहरूले गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा पार्टीबाट उम्मेदवार हुन छुटेका नेताहरूले राष्ट्रिय सभाका लागि  आकांक्षा देखाएका छन् । राष्ट्रियसभा चुनावका लागि छलफल गर्न आइतबार बोलाइएको राजपाको राजनीतिक समितिको बैठकमा राष्ट्रियसभा उम्मेदवारका लागि परिपक्व र पार्टीसँग आबद्ध बौद्धिक नेतालाई प्राथमिकता दिने भनी निर्णय  गरिएको थियो । बैठकले पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने अन्तिम अधिकार अध्यक्ष मण्डलका सदस्यहरूलाई दिएको छ।

राजपामा राष्ट्रियसभाका लागि विर्खेशचन्द्र लाल, अशोक यादव, रम्भा मिश्र, निलम बर्मालगायतका नेताहरूले लविइङ सुरू गरेका छन् । पार्टीका तर्फबाट प्रदेशसभा समानुपातिकमा नाम रहेको तर अन्तिम समयमा पार्टीको सिफारिसमा नपरेका सुरेन्द्र झा, रामप्रवेश बैठा, विनोद सिंह, रमेश पटेललगायतका नेताहरू पनि आकांक्षी रहेका छन् । प्रदेशसभाका लागि  समानुपातिक सूचीमा रहेका पनि राष्ट्रियसभाको उम्मेदवार हुनसक्ने तर  त्यसका लागि समानुपातिकको सूचीबाट रहेको  नाम फिर्ता लिन पार्टीले निर्वाचन आयोगमा सिफारिस गर्नुपर्ने कानुनी प्रावधान रहेको राजपका नेताहरू बताउँछन्। राष्ट्रियसभामा जान इच्छा देखाएका विर्खेशचन्द्र लाल आफू राष्ट्रियसभामा पार्टीका तर्फबाट उम्मेदवार हुन इच्छुक रहेको  बताए  उनले भने, ‘राष्ट्रियसभामा पार्टीले कसलाई पठाउँछ, त्यो पार्टीको कुरा हो तर राष्ट्रिय सभामा जान म इच्छुक छु। ’

यसैगरी राष्ट्रियसभामा जान फोरममा  ७ नेता आकांक्षी रहेकाछन्। फोरमका हरिनारायण यादव, उदयकान्त मिश्र, श्रवण अग्रवाल, वीरेन्द्र महतो, विन्हा सिन्हा, छाया शर्मा, सिमा सिहंलगायतका नेताहरूले राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन आकांक्षा राखेको स्रोतको भनाइ छ । उनीहरूले अहिले राष्ट्रियसभा सदस्यको टिकटका लागि पार्टीभित्र लविङ गरिरहेका छन्।
संघीय संसदमा ३३ प्रतिशत महिला पु¥याउन फोरमले राष्ट्रियसभामा पाउने तीन सिटमध्ये कम्तीमा दुई सिटमा महिलालाई उम्मेदवार बनाउनु पर्नेछ । पुरूषका लागि  बाँकी रहेको एक सिटका लागि अहिले  पार्टीभित्रै लविइङ सुरु भएको छ । प्रतिनिधिसभाको समानुपातिकमा संघीय फोरमले पाएको सिटमध्ये सबै सिटमा महिलालाई सिफारिस गरेमा राष्ट्रियसभामा कम्तीमा दुई सिट महिलालाई उम्मेदवार बनाउनु पर्छ । प्रतिनिधिसभाको समानुपातिकमा संघीय फोरमले पाएका सिटमध्ये एक सिटमा पुरूषलाई पठाउने हो भने राष्ट्रियसभामा तीन वटै सिटमा महिलालाई उम्मेदवार बनाउनुपर्ने बाध्यता हुुन्छ।

चुनावमा सहकार्य गर्न दुवै गठबन्धनसँग वार्ता
राष्ट्रियसभा चुनावमा  सहकार्य  गर्न दुवै गठबन्धनसँग वार्ता जारी राख्ने निर्णय आइतबार बसेको राजपाको राजनीतिक समितिले निर्णय गरेको छ । सहकार्य गर्नेबारे अन्तिम निर्णय गर्ने अधिकार राजपाको राजनीतिक समितिको बैठकले अध्यक्ष मण्डलका सदस्यलाई दिएको छ  । राजपाका नेताहरूले भने राष्ट्रियसभाको चुनावमा नेपाली कांग्रेससँग सहकार्य गर्ने सम्भावना बलियो रहेको बताउँछन् । राष्ट्रियसभा चुनावबारे सहकार्य गर्नेबारे छलफल गर्न शनिबार नेपाली कांग्रेस र राजपाका नेताहरूको औपचारिक बैठक बसेको थियो । एमालेका नेताहरूसँग भने औपचारिक नभई अनौपचारिक वार्ता र संवाद भइरहेको राजपाका नेताहरू बताउँछन् । यसैगरी राष्ट्रियसभा निर्वाचनबारे एमाले र संघीय  फोरमका नेताहरूबीच पनि अनौपचारिक कुराकानी भएको स्रोतको भनाइ छ । यसबारेमा एमाले अध्यक्ष केपी ओली र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवबीच पनि कुराकानी भएको स्रोतको दाबी छ।

राजापका वरिष्ठ उपाध्यक्ष विर्खेशचन्द्र लालले राजपा–फोरम गठबन्धनले राष्ट्रियसभा चुनावका लागि नेपाली कांग्रेससँग सहकार्य गर्ने सम्भावना बलियो भएको बताउँछन् । उनी भन्छन्, ‘औपचारिक निर्णय नभए पनि नेपाली कांग्रेससँग सहकार्य हुने सम्भवना छ।’

यसैगरी राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झाले पनि राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य हुने सम्भावना रहेको बताए।

प्रकाशित: ८ माघ २०७४ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App