७ वैशाख २०८१ शुक्रबार
अर्थ

उदयपुर सिमेन्ट प्रदुषणमुक्त, मजदुर र स्थानीयलाई राहत

उदयपुर – उदयपुरमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले प्रदुषणमुक्त भएपछि कामदार मजदुर र स्थानीयलाई राहत मिलेको छ। उद्योगले फाल्ने धुँवा र धुलोको कारण वर्षौंदेखि समस्या भोग्दै आएका मजदुर र स्थानीयबासी उद्यागेमा ईलेक्ट्रो स्टारिक पावर इन्जिन (इएसपी) जडान गरिएपछि प्रदुषणबाट बच्न सफल भएका हुन्।

गत कात्तिकमा उद्योगमा जडान गरिएको ‘पोलुसन कन्ट्रोल मेसिन’ नामक यन्त्र जडान गरिएपछि उद्योगले फाल्ने धुँवा धुलो नियन्त्रणमा आएको हो। सो यन्त्र जडानपछि मंसिरयता उद्योगले सिमेन्ट उत्पादन गर्दा धुँवा धुलो फाल्न छाडेको छ। धुँवा धुलो ननिस्केपछि उद्योगमा काम गर्न मजदुरलाई धेरै सहज भएको छ भने स्थानीयलाई प्रदुषणको चिन्ता हटेको उद्योग प्रशासनले जनाएको छ। उद्योगले ३ करोड बढी लगानीमा भारतबाट झिकाएर यन्त्र जडान गरेको जनाएको छ। यसले उद्योगबाट उड्ने धुलो तथा धुवाँ नियन्त्रण भएको छ।

उद्योगका महाप्रबन्धक (जिएम) सुरेन्द्रकुमार पौडेलले उद्योगबाट निस्कने सम्पूर्ण धुवाँ र धुलो नियन्त्रण गरी उद्योग र आसपासको क्षेत्रलाई प्रदूषणरहित बनाउन यन्त्र जडान गरिएको बताए। वर्षेनी धुलो धुँवाको सट्टाभर्ना गर्न करोडौं खर्च हुने गरेकाले स्थायी निरुपनका लागि उद्योगले ठूलो लगानी भए पनि यन्त्र जडान गरेको हो। यन्त्र जडान गर्नुअघिसम्म उद्योग चलेका बेला दैनिक प्रतिघण्टा ३ टन धुलो उड्ने गरेकोमा यन्त्र जडानपछि त्यो पूरै नियन्त्रणमा आएको छ।

उद्योगबाट निस्कने धुलो र धुवाँका कारण कामदारलाई स्वास्थ्य उपचार भत्ता एकातिर दिनुपर्ने व्यवस्था गुर्नपरेको थियो भने अर्कातिर उद्योगको १ किलोमिटर आसपास बसोबास गर्दै आएका स्थानीयको भरणपोषण गर्नुपर्ने बाध्यता थियो। उद्योगदेखि १ किलोमिटर वरपरको क्षेत्रमा बस्दै आएका स्थानीय र उनीहरुको जग्गाजमिनमा लगाइएको बालीनाली सिमेन्टको धुलो धुवाँले प्रभावित पार्ने गरेका कारण वर्षेनी करोडौं रकम उद्योगबाट भरणपोषण शीर्षकमा जाने गरेको थियो। यसरी स्थापनाकालदेखि दोहोरो घाटा बेहोर्दै आएको उद्योगले स्थायी समाधानको बाटो निकाल्न यन्त्र जडानमा खर्च गरेको जिएम पौडेलले बताए।

‘वर्षेनी रकम खर्चनुभन्दा वान टाईम कष्ट महँगै परे पनि स्थायी समाधानका लागि यन्त्र जडान गरिएको हो’ पौडेले भने ‘अव कम्तीमा १० वर्ष उद्योगलाई प्रदुषण खर्चमा आर्थिक व्ययभार हुनेछैन।’ हुन त स्थापनाकालमै प्रदुषण नियन्त्रण यन्त्र जडान गरिएको थियो। तर, त्यसको प्रभावकारीता नरहेपछि प्रदुषणा अचाक्ली बढेकाले अर्को यन्त्र जडान गर्नुपरेको हो। जापान सरकारको सहयोगमा स्थापना भई ०४४ सालदेखि सञ्चालनमा आएको उद्योग सुरुताका पूरानो प्रविधिको यन्त्र जडान गरेकोमा आवश्यक मर्मत सम्भार हुन नसक्दा कामै नलाग्ने गरी बिग्रेको थियो।

यो यन्त्र पछिल्लो समय धुलो र धुवाँ दुवै नियन्त्रण गर्ने एसियनी मुलुकमै अत्याधुनिक र प्रभावकारी भएको उद्योगको दावी छ। यसले धुलो र धुँवालाई फिल्टरमार्फत छानेर वायुमण्डलमैत्री बनाएर बाहिर प्mयाँक्ने गरेकाले मानव स्वास्थ्यका लागि कम असरदार हुने गरेको प्राविधिकहरुको भनाई छ। धुलो र धुँवाको प्रभावबाट बँचाउन भनेर उद्योगले वर्षेनी प्रदुषणको सोधभर्नावापत रकम छुट्याएर खर्च गर्ने गरेको छ।

उद्योगले गैंडा छाप सिमेन्टको बिक्री गर्दा प्रतिबोरा मूल्यमा १ रुपैंया प्रदुषण नियन्त्रण शीर्षकमा छुट्याउने गरेको छ। जसवापत आएको रकम जिल्ला समन्वय समितिको प्रदुषण नियन्त्रण कोषको खातामा जम्मा हुने गरको छ। सो रकम प्रदुषण प्रभावित स्थानीयको भेलाद्वारा गठित समितिले जिल्ला समन्वय समितिमार्फत प्रदुषणप्रतिरोधी बिभिन्न गतिबिधिमा खर्च गर्ने गरेको छ। जति बढी सिमेन्ट उत्पादन भयो, उत्ति धेरै रकम जम्मा हुने समितिले गर्ने प्रदुषणप्रतिरोधी कार्यक्रम प्रभावकारी नभएको तथा रकम पारदर्शी नभएको भन्दै बेलाबेलामा स्थानीयले गुनासो गर्ने गरेका छन्।

दैनिक ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगले विद्युत कटौनी नभएमा दैनिक ६ सयदेखि ७ सय ५० टनसम्म उत्पादन गरेको रेकर्ड उद्योगसँग छ। सबै जनशक्ति र इन्जिनहरु व्यवस्थित भए, कच्चा पदार्थको पर्याप्तता तथा विद्युत आपूर्ति भईरहे दिनमा ६ सयदेखि ७ सय ५० टनसम्म उत्पादन हुने रेडर्क रहेको उद्योगका नायव महाप्रबन्धक महेश काफ्लेले बताए।

पछिल्लो समय विद्युत कटौती कम हुँदै गएपछि उद्योगले उत्साहजनक उत्पादन गर्दै आएको उनको भनाई छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ५० करोडभन्दा बढीको सिमेन्ट बिक्री गरेको उद्योगले आप्mनो त्रैमासिक विवरणमा उल्लेख गरेको छ। सो अवधिमा ६ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको उद्योगले दोस्रो त्रैमासिक प्रतिबेदन पनि छिट्टै सार्वजनिक गर्ने जनाएको छ। बजारमा गैँडा छाप सिमेन्टको माग अत्याधिक रहेकाले बजारको कुनै अभाव छैन। ‘गैंडाछापको बजारमा कुनै समस्या छैन त्यसैले जति बढी उत्पादन गर्न सक्यो उत्ति फाईदा हुन्छ’ उद्योगका लेखा अधिकृत गिरीराज पोखरेलले भने ‘अरु सिमेन्टजस्तो यसलाई बजारको चिन्ता छैन, जति उत्पादन भएपनि सँधै हारालुछ भइरहन्छ।’

प्रकाशित: ७ माघ २०७४ १५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App