coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

क्यान इन्फोटेक मेलाको तयारी पूरा

काठमाडौं – सुबिसु क्यान इन्फोटेक–२०१८ को सम्पूर्ण तयारी पूरा भएको छ। क्यान महासंघले आइतबार पत्रकार सम्मेलन गरी २४औं संस्करणको क्यान इन्फोटेकको सबै तयारी पूरा भएको जानकारी दिएको हो।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको महामेलाका रुपमा लिइने क्यान इन्फोटेक यही माघ ११ देखि माघ १६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। प्रदर्शनीमा महासंघका सदस्य संस्थाहरुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित व्यवसायीको सहभागिता रहने आयोजकले जनाएको छ।

यसपटकको प्रदर्शनीमा भृकुटीमण्डपस्थित मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र बाहिर पाँचवटा ब्रान्डिङ प्रदर्शन कक्ष (स्टल) रहने छन्। त्यसैगरी, ट्रसमा एक सय ४४, खुल्ला स्थानमा १४ र फुड स्टल १० गरी दुई सय २२ स्टल रहने महासंघले जनाएको छ। प्रदर्शनीमा हार्डवेयर सेल्स एन्ड मेन्टेनेन्स, पावर सोलुसन, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन लगायतका स्टल रहने छन्।

‘यो वर्षको क्यान इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीद्वारा उत्पादित सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले छुट्टै सफ्टवेयर पेभिलियन निर्माण गरेका छौं,’ महासंघका महासचिव रन्जितकुमार पोद्दारले भने, ‘यसका लागि ४४ वटा स्टल विशेष सहुलियतमा उपलब्ध गराइएको छ।’ सफ्टवेयर पेभिलियनमा सूचना प्रविधिसम्बन्धी प्रदर्शनी, यो क्षेत्रमा भएको पछिल्लो विकासबारे जानकारी गराइने उनले बताए।

यसपटकको प्रदर्शनीमा चार लाख अवलोकनकर्ताको सहभागिता रहने आयोजकको अपेक्षा छ। प्रदर्शनीमा सहभागिताका सोमबारबाट इ–सेवामार्फत टिकट बिक्री खुल्ला गरिने जनाएको छ। सर्वसाधारणका लागि टिकट शुल्क सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ। अनलाइनमार्फत टिकट खरिद गर्दा २० प्रतिशत छुट प्रदान गरिने बताइएको छ। माघ १४ ‘बिजनेस डे’ को दिन भने विद्यार्थीका लागि छुट हुने छैन।

प्रकाशित: ७ माघ २०७४ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App