७ वैशाख २०८१ शुक्रबार
अर्थ

'मुलुककै नमुना वीरगन्ज महानगर'

वीरगन्ज – वीरगन्ज महानगरपालिकाको प्रथम नगर सभा आइतबार नगरसभा गृहमा सुरु भएको छ। नयाँ संबिधानमा स्थानीय तहले स्थानीय सरकारको हैसियत पाए अनुसार त्यसको ब्यवस्थापिकाको भुमिका गर्ने नगर सभाको उद्घाटन आइतवार गरिएको हो। महानगरका प्रमुख विजय सरावगीको सभाध्यक्षतामा सुरु भएको प्रथम नगर सभाको उद्घाटन सत्रलाई प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा साँसद उपेन्द्र यादवले पानस बालेर शुभारम्भ गरे।

वीरगन्ज महानगरलाई ब्यवस्थित गर्नसके यो मुलुककै नमुना महानगर बन्न सक्ने आधार र सम्भावनाहरु रहेको नगर सभाका उद्घाटन सत्रका वक्ताहरुले बताएका छन्। पछिल्लो समयमा बिभिन्न राजनीतिक घट्नाक्रमको शिकार भएको र विकासको मामिलामा पछाडी परेको यस महानगरको विकासका लागि यहाँबाट राजनीतिक परिवर्तनमा मुद्दाहरु उठान गरिएजस्तै अब विकासको मुद्दालाई अगाडी बढाउनु पर्ने उनीहरुले जोड दिए। ‘हामीले आफ्नो सोंचलाई थोरै बद्लिनु पर्ने हुन्छ, अब अधिकार प्राप्तिको साँथसाथै विकासको कुरा पनि जरुरी छ,’ फोरम अध्यक्ष यादवले भने, ‘नेपाल एउटा अल्पविकसित मुलुक हो, त्यसमा पनि सबभन्दा पछाडी परेको र स्रोत सधानको अभाव भएको प्रदेश दुई हो। यस कारण विकासको मुद्दा र रोजगारीको बृद्धी यहाँको प्राथमितामा हुनु पर्छ।’

राजनीतिक प्रसंगलाई जोड्दै नेता यादवले बिगतमा राज्य पुनर्संरचना आयोगले दिएको सुझाव अनुसर १० वटा प्रदेशको निर्माण नगरेर प्रमुख दलहरुले गल्ती गरेकोले त्यसकाबाट उत्पन्न जटिलताहरुलाई मुलुकले सामना गर्नुपर्ने भएको बताए। कार्यक्रमका अतिथि फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष तथा साँसद प्रदीप यादवले विकास निर्माणको काममा जनताको प्रतिनिधिको सक्रिय निगरानी हुनुपर्ने बताए। पछिल्लो समयमा राजस्व अनुसन्धान बिभागले वीरगन्जमा व्यापारिक प्रतिष्ठानहरुमा छापामारी गर्ने र कारवाहीभन्दा अबैध रुपमा पैसा कमाउने बाटो बनाएको आरोप लगाए। यहाँ जारी एशियाली विकास बैंकको ढल तथा सडक सुधार सम्बन्धी योजना सुस्त र गुणस्तरहीन भएको उनको आरोप थियो।

साँसद तथा वीरगन्जका पूर्व मेयर बिमल श्रीवास्तवले संरचनाको विकासको लागि ठोस योजना बनाएर अघि बढ्न सुझाव दिए। उनले उद्योग, कृषी, शिक्षा, आवास लगायत विकासका लागि खास खास क्षेत्र निर्धारण गर्नुपर्ने बताए। साँसद हरिनारायण रौनियारले स्थानीय तहले योजना बनाए आफूहरु विकासको बजेट ल्याउन हरेक सम्भव प्रयास गर्ने बताए। मुख्य दलहरुले प्रदेश २ मा पराजय भोगेपछि अब प्रदेश राजधानीको बिवाद जानिजानि सृजना गराएको आरोप लगाए। नगरसभा उद्घाटन समारोहमा बोल्ने नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र्रका नेताहरुले विकासको लागि सुझाव र प्रथम नगर परिषदको सफलताको शुभकामना दिए।

दिगो विकास र सहज सेवा

वीरगंज महानगरपालिकालाई देशकै समृद्ध तथा नमुना महानगर वनाउने योजना नगर सभाले पारित गर्न लागेको बताउदै महानगर प्रमुख विजय सरावगीले दिगो विकास र नगरवासीलाई सहज रुपमा सेवाहरु प्रदान गर्ने लक्ष्यसाँथ अघि बढेको बताए। ‘मुलुकमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएको छ। झन्डै डेढ दशकभन्दा लामो समयदेखि जनप्रतिनिधिबिहिन भएको स्थानीय तहमा ताजा जनादेश सहितको यस स्थानीय तहमा आम नागरिकमा थप अपेक्षा र उत्साह सिर्जना भएको छ। अबको स्थानीय तह अधिकार सम्पन्न स्थानीय सरकार हो,’ सरावगीले भने, ‘हामीले संविधानप्रदत अधिकारभित्र रही कर तथा शुल्क लगाउन र उठाउन, कानून निर्माण गर्न र आफैले छनौट गरेको विकास निमार्णका योजनाहरु तयार गर्न केन्द्रमूखी र परनिर्भर भएर सम्भव छैन।’ केन्द्रको अनुदानसंगै स्थानीय स्रोतको विकास अहिले जरुरी रहेको उनले जोड दिए।

महानगरका सबै काम कारबाही नयाँ सोच र योजनाका साथ व्यवस्थित र पारदर्शी गर्न आवश्यक कानून निर्माण अघि बढेको उनले बताए। ‘नेपालको संबिधानले परिलक्षित गरेका राज्यका नीति तथा निर्देशक सिद्धान्त, चौधौँ आवधिक योजना र नेपालले अन्र्तराष्ट्रिय मञ्चमा प्रतिबद्धता गरेका सन् २०३० सम्ममा प्राप्त गर्नु पर्ने दीर्घकालीन विकासका लक्ष्य समेतलाई आधार मानी र स्थानीय आवश्यकतालाई मध्यनजरगरी यस नगर सभाले आफ्ना नीति तथा कार्यक्रमहरूलाई दिशानिर्देश गर्ने छ।’ प्रदेश नम्वर २ को स्थायी राजधानी वीरगन्जलाई वनाउन कार्यक्रमका प्रमुख अतिथि फोरम नेपालका अध्यक्ष यादव, निर्वाचित प्रतिनिधी सभा र प्रदेश सभाका सांसदहरु र सबै राजनीतिक पार्टीहरु र सबैलाई नगरवासीको तर्फबाट उनले आग्रह गरेको जिकिर गरे।

प्रकाशित: ७ माघ २०७४ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App