coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विमान भित्र्याउने प्रतिस्पर्धामा वायु सेवा प्रदायक

रमेश लम्साल/सिबी अधिकारी
काठमाडौं – मुलुकभित्र सुविधासम्पन्न विमानस्थलको अभाव भइरहेको बेला निजी वायु सेवा प्रदायक कम्पनी भने नयाँ विमान भित्र्याउने होडबाजीमा लागेका छन् । सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि नयाँ विमान ल्याउन विभिन्न खालका तयारी गरिरहेको बेला निजी सेवा प्रदायक एक पछि अर्को गर्दै नयाँ विमान भित्र्याउन लागिपरेका हुन्।

बुद्ध एयर, यति एयर, श्री जस्ता पुराना निजी वायु सेवा प्रदायक मात्रै नभई भर्खर सञ्चालनमा आउन लागेका कम्पनीसमेत सेवा विस्तारका लागि नयाँ विमान खरिद गर्ने होडबाजीमा लागेका हुन् ।
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुँदा उडान तथा अवतरणमा पालो कुर्नुपर्ने अवस्था छ । उच्च ट्राफिक हुने दिउँसोको समयमा स्वदेशी,विदेशी दुवैले पालो कुरेर बस्नुपर्ने बाध्यता छ।

विशेष गरी नयाँ ल्याउन लागिएका विमान धेरै यात्रु हुने क्षेत्र (ट्रंक रुट) मै केन्द्रित गरिँदा दुर्गम क्षेत्रमा सेवा पुग्न सकेको छैन । वायु सेवा प्रदायक कम्पनीका अनुसार ट्रंक रुटमा नै बढी प्रतिस्पर्धा हुने गरेको छ ।
बुद्ध एयरका हाल नौवटा जहाज सञ्चालनमा छन् । अर्को एक जहाज केही समयभित्रै नेपाल भित्रने छ । आगामी १० वर्षमा ३२० सिरिजमा २० नयाँ विमान भित्र्याउने तयारीमा बुद्ध छ।

यस्तै यति एयरले हाल ३० सिट क्षमताका सातवटा जेटस्ट्रिम ४१ ट्विन टर्बो प्रोप विमान सञ्चालन गरिरहेको छ । यतिले निकट भविष्यमै एटिआर विमान भित्र्याउने तयारी गरेको छ।

एकैपटक तीनवटा क्यानेडियन कम्पनीले उत्पादन गरेका जहाज ल्याएर प्रतिस्पर्धामा उत्रिएको श्री एयरले थप जहाज ल्याउने तयारी गरेको छ । सो कम्पनीका ५० सिट क्षमताका दुईवटा र ७८ सिटको एक जहाजले हाल सेवा दिइरहेको छ । श्री एयरले पनि नयाँ एउटा जहाज थप्ने तयारी गरेको छ । सो कम्पनीको आठवटा हेलिकप्टर सञ्चालनमा छन् । श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले थप जहाज ल्याउने तयारीमा आफूहरू रहेको जानकारी दिएका छन्।

यस्तै सञ्चालनमा रहेको सौर्य एयर पनि नयाँ विमान ल्याउने तयारीमा छ । सो कम्पनीका दुईवटा विमान सञ्चालनमा छन् । यस्तै सिम्रिक एयरका अपरेसन म्यानेजर रमेशमान ब्रजाचार्यले कम्पनी हेलिकप्टर भित्र्याउने तयारीमा रहेको जानकारी दिए । सिम्रिक एयरका हाल चारवटा हेलिकप्टर सञ्चालनमा छन् । थप एक कैलाश हेलिकप्टर ल्याउने तयारीमा कम्पनी रहेको ब्रजाचार्यको भनाइ छ।

नेपाल वायु सेवा निगम पनि तीन चिनियाँ जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ । निगमको दुई ठूला जहाज एकाध महिनाभित्र नेपाल भित्रनेछन् । अन्तर्राष्ट्रिय उडानका लागि ती जहाज ल्याउन लागिएको हो । निगमले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको ऋणमा जहाज किन्न लागेको हो।

यस्तै, निगम चीनबाट थप दुई नयाँ विमान आउने तयारीमा रहेको प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सले थप जहाज भिœयाउन लागेको छ । यसले हाल तीनवटा ठूला जहाजमार्फत सेवा दिइरहेको छ।

नेपाल वायुयान सञ्चालक संघका अध्यक्ष पवित्रकुमार कार्की एकपछि अर्को गर्दै वायु सेवा प्रदायक कम्पनीले जहाज थप्दै गएको सन्दर्भमा विमानस्थल साँघुरो भएको र विस्तारमा सोचे जति प्रगति नभएको गुनासो गर्छन्।

निगमका पूर्वनायब महाप्रबन्धक राजु केसीले नेपाली स्वयंले नै विमान ल्याउने र उडानमा प्रतिस्पर्धा गर्नु एकदमै राम्रो भएको बताउँछन् । निर्माणाधीन विमानस्थलबाट सेवा दिन पनि निजी वायु सेवा प्रदायकले जहाज थप्नु जरुरी रहेको भन्दै उनले पूर्वाधार थप र विस्तार गर्नुपर्नेमा जोड दिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ विमान ल्याउने वायु सेवा प्रदायकलाई काठमाडौं उपत्यका बाहिर पार्किङ गर्न निर्देशन दिइसकेको छ । नेपालगन्ज, भैरहवा, विराटनगर, पोखरामा जहाज पार्किङ गर्न प्राधिकरणले निजी सेवा प्रदायकलाई भनेको छ।
 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ नौवटा मात्रै जहाज पार्किङ गर्न सकिन्छ । त्यस्तै आन्तरिकतर्फ १७ वटा पार्किङ गर्न सकिने भए पनि जहाज थपिँदै जाँदा २८ वटासम्म पार्किङ हुने गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पर्यटक बढाउन पनि नयाँ जहाज जरुरी रहेको भए पनि पूर्वाधारको अभावमा समस्या परेको बताउँछन् । उनका अनुसार विमानस्थलको क्षमताका कारण थप जहाज धान्न गाह्रोपर्ने र अब थपिने जहाज अन्य स्थानमा पार्किङ गर्नुपर्ने अवस्था आएको छ ।  (रासस)

 

प्रकाशित: ७ माघ २०७४ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App