७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश सरकारमा हिस्सा आज टुंग्याउने

काठमाडौं – एमाले र माओवादी केन्द्रले प्रदेश सरकारमा भागबन्डा, राष्ट्रियसभा सदस्य उम्मेदवारी चयन र पार्टी एकता प्रक्रियालाई आइतबार टुंगोमा पु¥याउने  भएका छन्। 

दुवै दलका अध्यक्षबीच ओली निवास बालकोटमा शनिबार भएको बैठकमा प्रदेश सरकार गठन, राष्ट्रियसभा उम्मेदवार चयन र पार्टी एकीकरण प्रक्रिया टुंगो लगाउन आइतबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको हो। 

एमाले अध्यक्ष केपी शर्मा ओली र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार यी तीनै विषयमा करिब तीन घन्टा वार्ता भएको थियो।


‘राष्ट्रियसभाको उम्मेदवारी र प्रदेश सरकार गठनका लागि कार्यदलले तयार पारेका प्रतिवेदनमा एकता संयोजन समितिले भोलि (आइतबार) निर्णय गर्नेछ र बैठकमा पार्टी एकताबारे पनि छलफल र निर्णय गर्नेछ ।’ 
पम्फा भुसाल, माओवादी केन्द्र प्रवक्ता

ओली र दाहालको बैठकपछि एमाले उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, विष्णु रिमालसहितका एमाले नेताहरूले पार्टी एकताबारे छलफल गरेका छन्। 

त्यसैगरी नेकपा माओवादी केन्द्रले आइतबार बिहान पार्टी हेडक्वार्टरका बैठक बोलाएको छ । 
‘अहिले तत्काल निर्णय गरिहाल्नुपर्ने राष्ट्रियसभाको उम्मेदवारी र प्रदेश सरकार गठनका लागि कार्यदलले तयार पारेका प्रतिवेदनमा एकता संयोजन समितिले भोलि (आइतबार) निर्णय गर्नेछ र बैठकमा पार्टी एकताबारे पनि छलफल र निर्णय गर्नेछ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘आइतबार बिहान पार्टी हेडक्र्वाटरको बैठक बस्नेछ।’

शनिबार अपराह्न माओवादी केन्द्रका अध्यक्ष दाहालसँग आफ्नो निवासमा भएको बैठकपछि एमाले अध्यक्ष ओलीले ठोस सहमति भएको बताएका छन्। 

‘अध्यक्षज्यूले ठोस सहमति भएको बताउनुभएको छ । तर त्यसबारे थप खुलाउनु भएन,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘भोलि तीन बजे एकता संयोजन समितिमा बैठक बसेर आवश्यक निर्णय लिनेछ ।’
शनिबारको छलफल आइतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा राखिने अजेन्डामा केन्द्रित भएको दाहालले बताएका छन्। 

ओली निवास बालकोटमा भएको छलफलमा राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठनका लागि गठित संयुक्त कार्यदलको प्रतिवेदन, पार्टी एकता र एकताको साझा दस्ताबेजका विषयमा कुराकानी भएको दाहालले जानकारी दिए।

दुई नेताबीच भएको छलफलमा बैठकका अजेन्डाबारे छलफल भएको र आइतबार दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताए। 

यसअघि दुवै दलका कार्यदलले राष्ट्रियसभाको उम्मेदवार बाँडफाँट, प्रदेश सरकारको खाका नेताहरूसमक्ष प्रस्तुत गरेको थियो । जसलाई आइतबार बस्ने एकता संयोजक समितिको बैठकले अन्तिम रूप दिनेछ । यसले राष्ट्रियसभामा एकल संक्रमणीय मतका आधारमा जित्न सकिने ४३ सिटको बाँडफाँट गरेको थियो । एमाले र माओवादीबीच ६६ र ३३ अनुपातमा सिट बाँडफाँट गरिएको थियो । सोअनुसार एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिनेछ । त्यसैगरी सातमध्ये एमाले र माओवादीको गठबन्धनले ६ वटा प्रदेशमा सरकार गठन गर्ने अवस्थामा छ। 

एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि थाइल्यान्ड जानुभन्दा एक दिनअघि भएको बैठकमा एकता संयोजन समितिमा बैठकले कार्यदल गठन गरेको थियो। 

दाहालले एकता सम्बन्धी थप विषयको निर्णय संयोजन समितिले नै गर्ने बताएका छन् । दाहाल र ओलीबीच यसअघि सानो कार्यदल बनाएर संगठन र वैचारिक विषयलाई अन्तिम रुप दिने सहमति भएको थियो । तर दुवै नेता सहमति भएको एक दिनपछि बसेको संयोजन समितिले सो विषयलाई अर्को बैठकसम्म सारेको थियो । समितिमा एमालेबाट झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा छन्। 

एकतालाई तीव्रता दिने निर्णय गरेका चुनावपछि एकता संयोजन समितिको बैठक बस्न लागेको दोस्रो पटक हो। दुवै दलले असोज १७ गते पार्टी एकता घोषणा गर्दै त्यसका प्रारम्भ प्रदेश तथा प्रतिनिधिसभा चुनावमा गठबन्धनबाट गर्ने जनाएका थिए। 

प्रकाशित: ७ माघ २०७४ ०१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App