८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश सांसदलाई सेनाको हेलिकोप्टरमार्फत ल्याइँदै

सुर्खेत – प्रदेशसभा सदस्यलाई सपथ गराउनका लागि सुर्खेतमा सम्पूर्ण तयारी पूरा भएको छ। ६ नम्बर प्रदेशका प्रत्यक्ष एवम् समानुपातिक सांसदले आइतबार सपथ लिँदैछन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेश सांसदका लागि जिल्ला समन्वय समितिको सभा हलमा सपथ खुवाउने तयारी गरिएको छ।

प्रदेश प्रमुखको कार्यालयका कर्मचारी गंगाप्रसाद न्यौपानेका अनुसार प्रदेश सांसदको सपथअघि विहान १० बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। ‘विहान १० बजे क्षेत्रीय वन तालिम केन्द्रमा प्रदेश प्रमुखले पदभार ग्रहण गर्नुहुनेछ’ न्यौपानेले भने, ‘त्यसपछि ११ बजे जिल्ला समन्वय समितिको सभाहलमा प्रदेश सांसदको सपथको कार्यक्रम राखेका छौं।’

क्षेत्रीय वन तालिम केन्द्रको बैठक कक्षलाई प्रदेश प्रमुखको कार्यालय बनाइएको छ। प्रदेश प्रमुखले पदभार ग्रहण गरेपछि निर्वाचन आयोगले मतपरिणामसहितको प्रतिवेदन बुझाउने छ। त्यसपछि प्रदेश प्रमुखले प्रदेशसभाका सदस्यलाई सपथ खुवाउन जिल्ला समन्वय समितिको सभाहलमा जाने छन्। सपथग्रहण समारोहमा सुर्खेतस्थित उच्च सरकारी अधिकारी, पत्रकार, कार्यालय प्रमुख, लब्धप्रतिष्ठित व्यक्तित्वलाई आमन्त्रण गरिएको छ। प्रशासनले ६ नम्बर प्रदेशका ४० जना सदस्यलाई सपथग्रहणका लागि खबर गरिसकेको छ।

सांसदलाई हेलिकोप्टरमा ल्याइँदै

६ नम्बर प्रदेशका ४० सांसद मध्ये २७ जना शनिबारसम्म काठमाडौंमै छन्। शनिबार दिनभर हवाई उडान नहुँदा उनीहरु सुर्खेत आउन पाएनन्। आइतबार विहान ११ बजेका लागि प्रदेश सांसदका लागि सपथग्रहणको समय निर्धारण गरिएको छ। हवाइजहाजबाट नेपालगञ्ज हुँदै सुर्खेत आइपुग्न सम्भव नभएपछि काठमाडौंमा रहेका सांसदहरुलाई सपथका लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिने भएको छ।

‘शनिबार काठमाडौं–नेपालगञ्ज कुनै पनि उडान नहुँदा २७ जना प्रदेशसभाका सांसदहरु काठमाडौंमै हुनुहुन्छ’ क्षेत्रीय प्रशासक सुरेश प्रधानले भने, ‘आइतबार विहान नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत उहाँहरुलाई ल्याउने तयारी भइरहेको छ।’ क्षेत्रीय प्रशासक प्रधानका अनुसार सुर्खेत आउनका लागि हवाइजहाज चढ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रदेश सांसदहरु उडान नहुँदा काठमाडौंमै रोकिएका हुन्।

निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा काठमाडौंमा रहेका सांसदलाई सुर्खेत ल्याउने व्यवस्था गरिएको हो। ‘विहान ८ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उहाँहरु सुर्खेत आउनु हुनेछ’ प्रधानले भने, ‘निर्धारित समयमै सपथग्रहणको काम हुन्छ।’

प्रकाशित: ६ माघ २०७४ १६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App