८ वैशाख २०८१ शनिबार
राजनीति

आफैले पढाएको विद्यालयमा पुगिन् राष्ट्रपति भण्डारी

विराटनगर- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तन स्थापित भइसकेकाले आर्थिक समृद्धिमा मुलुक केन्द्रीत हुनुपर्ने बताइन्। उनले निर्वाचनपछि मुलुक राजनितिक स्थायित्वको चरणमा रहेकाले आर्थिक समृद्धि नै सवैको पहिलो अजेन्डा हुनुपर्ने बताइन्।

मोरङको बेलबारी नगरपालिका–१ नक्सालबारीस्थित जनता आधारभुत निम्न माध्यमिक विद्यालयको शनिवार स्वर्ण स्मारक अनावरण गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तनले पूर्णता पाएको बताइन्।

उक्त विद्यालयमा २०४३ साल माघ २ गतेदेखि २०४६ साल फागुन २४ गतेसम्म राष्ट्रपति भण्डारीले शिक्षक भएर काम गरेकी थिइन्। सो अवसरमा राष्टपती भण्डारीले विद्यालयलाई जग्गा प्रदान गर्ने दिलमाया मगर, विष्णुमाया मगर तथा सुरेन्द्र राहुललाई सम्मान गरिन्।

 ‘जनताको राजनीतिक परिवर्तन स्थापित हुँदै देश संघीय संरचनामा गएकोले अबका दिन दिगो विकास र आर्थिक समृद्धिमा राजनीतिक केन्द्रीत हुनुपर्छ,’ उनले भनिन, ‘नेपाली जनताले अव आर्थिक परिवर्तन चाहेकाले कृषि, पुर्वाधार, पर्यटन क्षेत्रमा लगानी आवश्यक छ।’

राष्ट्रपति भण्डारीले जलबायु परिवर्तनले मौसममा आएको परिवर्तन र त्यसले पारेको असरलाई न्यूनीकरण गर्नका लागि समयमै सचेत हुनुपर्ने औल्याइन्। उनले नदी कटान, भु–क्षय रोक्नका लागि चुरे संरक्षणमा ध्यान दिन जोड दिइन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत चुरे विनाशलाई रोक्न नसके तराईको उर्वर भुमिमा क्षति पुग्ने बताउँदै त्यसप्रति सबै सचेत रहनुपर्ने उनको भनाई छ।

उनले उपयोगी शिक्षा आजको आवश्यकत भएकाले सामुदायिक विद्यालयको शिक्षालाई प्रभावकारी वनाउन राज्यले लगानी बढाउनुपर्ने बताइन्। उनले उत्तरी मोरङमा पर्यटन क्षेत्रको विकासको प्रचुर संभावना भएकाले विदेश पलायन हुने युवाहरुलाई कृषि र पर्यटनमा जोड्ने गरी राज्यले योजना बनाउनुपर्ने सुझाव दिइन्। राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयलाई विकासको लागि राज्यको उचित ध्यान जानुपर्नेमा जोड दिइन्।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजनकुमार केसी, सांसद भानुभक्त ढकालले अवको शिक्षा युवा स्वरोजगार हुनुपर्ने बताए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शम्भु खनाल, बेलवारी नगरपालिका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्म निरौला तथा स्वर्ण महोत्सव मुल आयोजक प्रचार प्रसार समितका संयोजक भिम वस्नेत लगायतले कार्यक्रममा बोलेका थिए।

 

प्रकाशित: ६ माघ २०७४ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App