१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जसलाई एउटा फोटोले हिरोइन बनायो

फोटोग्राफर गौतम धिमालले खिचेको तस्बिर यही हो जसले दीपिकालाई आज हिरोइन बनायो ।

अभिनेता रमेश उप्रेतीको ड्रिम प्रोजेक्ट ‘ऐश्वर्य’ बाट नेपाली फिल्म क्षेत्रमा भित्रिएकी हिरोइन हुन्– दीपिका प्रसाईं । एउटै फिल्मले उनलाई चर्चामा ल्यायो, सबैको चासोमा पार्यो । ‘ऐश्वर्य’मा उनलाई काम गराउनकै लागि फिल्मका निर्देशकले निकै कसरत गरेका थिए । दीपिका स्वयम् भन्ने गर्छिन्, ‘हिरोइन बन्ने मेरो इच्छा त हो तर त्योभन्दा पनि बढी अरूकै चाहना हो ।’ आफ्नो फिल्मी यात्रा, करिअर, रुचि र योजनाबारे नागरिक परिवारसँग दीपिका यसरी खुलिन् : 

फिल्मकी हिरोइन त उनी भइसकेकी थिइनन् तर धेरैको दिलकी भइसकेकी थिइन् । हिरोइनको परम्परागत मान्यताअनुसार उनी हिरोइनका लागि फिट पनि थिइन् । त्यसैले स्कुल पढ्दा होस् या कलेज सबैले उनलाई ‘ओई हिरोइन’ भनेर सम्बोधन गर्ने गर्थे । बाहिर मात्रै होइन घरमै आउँथ्यो– ‘हिरोइन’ को प्रतिक्रिया। ‘मेरी ममीलाई त उहाँका साथीहरूले पहिल्यैदेखि ‘तेरी छोरी त हिरोइन बनाउने खालकी छ, उसलाई हिरोइन बनाउनुपर्छ’ भन्थे । र, उहाँ मलाई त्यही कुरा घरमा आएर सुनाउनुहुन्थ्यो ।’

पर्दाबाहिर भएको घोषणा अब त पर्दाभित्रै देखिइसक्यो । दीपिका हिरोइन भइसकिन् । उनले खेलेको फिल्म पनि बजारमा चल्यो ।  त्योभन्दा महत्वपूर्ण – उनको कामको तारिफ भयो, सँगसँगै सुन्दरताको चर्चा पनि । 

युएन सपना 
दीपिका कहिलेकाहीँ दार्शनिक कुरा गर्छिन् । जिन्दगीबारे धेरै सोच्दिनन्, यसलाई नियन्त्रण गर्न खोज्दिनन् । आफ्नो जिन्दगी स्वतन्त्र चरी झै उडिरहोस्, उनको चाहना पनि यस्तै–यस्तै छ । उनलाई लाग्छ– मान्छेका जीवनमा सधैँ ‘अप्सन’ हुनुपर्छ । फिल्ममा मात्रै उनले आफ्नो भविष्य देखेकी छैनन् । उनीसँग सानैदेखिको एउटा सपना छ– जसलाई आफ्नो जिन्दगीको ‘सेकेन्ड अप्सन’ बनाएकी छन् । ‘मेरो सानैदेखिको सपना त युएन (संयुक्त राष्ट्रसंघ) मा काम गर्ने हो,’ उनले सुनाइन्, ‘फिल्ममा काम गर्ने रुचि त उमेर बढ्दै गएपछि आएको हो । सानैदेखि म युएनको गाडीमा अरूलाई देख्दा आफू बसेको कल्पना गर्थेँ, अहिले पनि गर्छु । कुनै दिन यो गाडीमा चढेरै छाड्छु, युएनको अफिसमा काम गररै छाड्छु भनेर सोच्थेँ, आज पनि सोच्छु ।’ 

यो त भयो उनको सपनाको कुरा । त्यसो त उनको विपना (हिरोइन, जो अहिले छिन्) को कथा पनि कम रोचक छैन । ग्ल्यामर दुनियाँमा उनको प्रवेश कथा रमाइलो छ । 

फोटोको चमत्कार 
एउटा फोटोको शक्ति कतिसम्म हुन सक्छ ? दीपिका त हाकाहाकी भन्छिन्, ‘एउटै फोटोले मलाई हिरोइन बनाइदियो ।’ फोटोग्राफर गौतम धिमाललाई उनी आफ्नो गडफादर मान्छिन् । ‘घरबेटी बा’ सिरियलमा काम गर्ने दीपिकाका भिनाजु नवराज आचार्यले ‘अब तिमीले मोडलिङ गर्दा हुन्छ’ भन्दै उनलाई गौतमसँग भेट्न सुझाएका थिए । दिदीले पनि चिन्नुहुन्थ्यो । दुवै जनाको सुझावअनुसार दीपिकाले उनीसँग भेटेर पोर्टफोलियो सुट गरिन् । त्यही सुटका बेला खिचिएका फोटोमध्ये एउटा फोटो रहेछ, जसले उनको जिन्दगीको यात्रै मोडिदियो । ‘मलाई व्यक्तिगत रूपमा पनि त्यो फोटो मेरो अहिलेसम्मकै बेस्ट फोटो भन्ने लाग्छ । त्यो फोटो सार्वजनिक गर्नेबित्तिकै सुरुमा एकजना निर्मात्रीले अफर गर्नुभएको थियो,’ दीपिकाले फोटोले गरेको चमत्कार सुनाइन् । 

उनी त्यतिबेला प्लस टु पढ्थिन । फेसबुकमा हालेको फोटोपछि केही फिल्मकर्मी उनीकहाँ फिल्मको अफर लिएर पुगे तर उनी खेल्न तयार भइनन् । ‘त्यतिबेला म परिपक्व थिइनँ, न निर्णय लिने क्षमता नै ममा थियो,’ दीपिका भन्छिन्, ‘नजान्दा–नजान्दै मिडियामा आउनु ठीक नहोला भनेर मैले त्यतिबेला कुनै प्रस्ताव स्वीकारिन्, ‘ऐश्वर्य’ खेल्नुअघि नै मैले पाँचवटा जति फिल्म रिजेक्ट गरिसकेकी थिएँ।’

दीपिकालाई सबैभन्दा सुरुमा अफर आएको फिल्म ‘ऐश्वर्य’ नै हो । निर्देशक दिवाकर भट्टराईले उनलाई धेरै पहिले फेसबुकमा म्यासेज पठाएका थिए तर उनले म्यासेज चाहिँ धेरै पछि मात्र हेरिन् ।  त्यही पनि तत्काल जवाफ फर्काइनन् । ‘मैले खेल्दिनँ भनेर केही रिप्लाई गरेकी थिइनँ, बीचमा अरू अफर पनि आए तर मैले खेलिनँ,’ दीपिकाले सुनाइन्, ‘तर दिवाकर सरले भने मलाई छाड्नुभएन, पछि लागिरहनुभयो । उहाँले ‘हामीलाई तपाईं नै चाहिन्छ बरु कति समय चाहिन्छ हामी कुर्न तयार छौं’ भन्नुभयो । मैले ब्याचलर नसकिञ्जेल फिल्म नखेल्ने भनेँ । ब्याचलर सकिन नौ महिना बाँकी थियो । उहाँहरूले कुर्नुभयो । त्यसपछि एकचोटी भेटेर कथा सुनिदिन आग्रह गर्नुभयो । मैले भेटेँ । भेटेर कथा सुन्नेबित्तिकै मैले केही नसोचिकन तत्काल ‘म यो मुभी गर्छु’ भनेर निर्णय लिएँ ।’ त्यसपछि भोलिपल्ट उनले अडिसन दिइन्, अनि फिल्म खेलिन् । 

धैर्य दीपिका  
फिल्म रिलिज हुनुअघि रिलिज भएको ‘ऐश्वर्य’को एउटा गीत ‘तिमी रोएको पल’ दर्शक÷श्रोतामाझ निकै लोकप्रिय भयो । गीत रिलिज हुनासाथ उनी अरू फिल्म मेकर्सको नजरमा परिन् । थुप्रै फिल्मका अफर आए, आउने क्रम अझै जारी छ । आधा दर्जनजति स्क्रिप्ट त अहिले पनि उनका कोठामा छन्, हेरिरहेको बताउँछिन् । ‘राम्रो ब्यानर, राम्रो निर्माताबाटै अफर छ तर म अब दोस्रो फिल्म खेल्दा पूरै तयारीसाथ अझ सशक्त भएर आउँछु,’ उनले भनिन्, ‘मैले सुधार्नुपर्ने पक्षहरू धेरै छन् । त्यो सुधारेर मात्र आउँछु । म अब आउँदा दर्शकले ममा फूल एक्टर प्याकेज पाऊन् । सकेसम्म खोट नभेट्टाऊन् । यसरी आउँछु कि अहिले मलाई मन पराउनेहरू दोस्रो फिल्म हेर्दा त ‘फिदा’ नै होऊन् ।’ 

अहिले विज्ञापन र फोटोसुटका काममा व्यस्त रहेकी उनी कम्तीमा ६ महिनापछि मात्र अब फिल्ममा काम गर्ने तयारीमा छिन् । ‘मास्टर्सको परीक्षा पनि छ, अलिकति पढाइमा पनि ध्यान दिनुपर्ने छ,’ उनले भनिन् । काठमाडौंको केएनके कलेजबाट ‘सोसल वर्क’ मा स्नातक गरेकी उनी अहिले त्रिभुवन विश्वविद्यालयमा पब्लिक एडमिनिस्ट्रेसन विषयमा मास्टर्स गरिरहेकी छन् ।  

दीपिकाको अफेयर ? 
फिल्म रिलिज भएसँगै दीपिकाका प्रशंसकहरू बढिरहेका छन् । सामाजिक सञ्जालमा उनलाई पछ्याउन, फिल्म डायलग बोल्दै प्रभावित पार्न खोज्ने थुप्रै छन् । कोही त होला जोसँग उनी पनि प्रभावित भइरहेकी छिन् ? ‘म बैंकर्स अनिल केसरी शाहसँग प्रभावित छु,’ सुरुमा उनले  प्रश्नलाई अन्तै मोड्न खोजिन् । पछि अफेयरबारे जानकारी लिन खोजेको बताएपछि उनी थोरै मुस्कुराउँदै बोलिन्, ‘मलाई थाहा थियो त्यही भएर कुरा घुमाउन खोजेकी थिएँ । खासमा मैले अहिलेसम्म चाहेजस्तो केटा भेटेको छैन ।’ कस्तो केटा चाहिने हो र ? नागरिक परिवारको प्रश्नमा उनले न्यूनतम सर्तहरू सुनाइन्, ‘म आफू पनि सिम्पल छु, त्यसैले मलाई संघर्ष बुझेको केटा होस् भन्ने लाग्छ । उसलाई जिन्दगी के हो थाहा होस् । धेरै सो अप नगरोस् । बौद्धिक होस् । निर्णय गर्ने क्षमता राम्रो होस् । परिस्थितिसँग सामना गर्न सक्ने होस् । मुख्य कुरो त सोच मिलोस्, मन त जोसँग पनि मिलिहाल्छ ।’

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App