coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सलाम मसुदा

डा. राजुबाबु श्रेष्ठ
चिल्लो सडकमा बेतोडले हुइँकिरहेको थियो, हामी चढेको बस । हामी जापानका गाउँ घुम्नलाई निस्केका थियौँ जापानी सडक र बस दुवै सफा र सुरक्षित थिए । बसभित्र थियौँ, हामी बाह्र देशका प्रहरी अधिकृतहरू ।
 साथमा थिए जापान प्रहरीका तीन अधिकृत र जाइकाका तीन महिला कर्मचारी । हामी बिहानै चुओ सिटीमा खाना खाई ताकाकुसी गाउँ भ्रमणमा निस्किएका थियौँ । ताकाकुसी पुग्न हामीलाई दुई घन्टाको यात्रा तय गर्नु थियो ।

बस गुडिरहँदा राजमार्गका दायाँ–बायाँ जताततै रहेका हरिया रूख फुत्तफुत्त पछाडि सरिरहेका थिए । सडक वरपरको हरियालीले मन फुरुंग भएको थियो । पहाडी बाटो, कहीँकतै थिएन पहिरो र अवरोधहरू । यी पहाडी सडकका भित्तामा या त बोटबिरुवा थिए, या सिमेन्ट वाल । सडकको पूरै भागमा थियो, रेशमी पिच । नेपाल छाडेदेखि नै प्रदूषण देख्न पाइएको थिएन । गाउँले सडकमा गाडीको चाप त्यति थिएन । स–साना सुन्दर पहाडको बान्की मिलेका घुम्तीहरू पार गर्दै दिउँसो २ बजे पुगियो ताकाकुसी गाउँ ।
आँखाले एकैपटकमा खिच्चो, ताकाकुसी गाउँको तस्बिर । मनभरि फैलियो, ताकाकुसीको सुन्दरता । माथि सानो पहाड, पहाडको फेदीमा गाउँ र गाउँमुनि सुन्दर ताल, लहरै बनेका एकै रुपका स–साना दुईपाखे घरहरूले जापानी आर्किटेक्टको नमुना प्रस्तुत गरिरहेका थिए ।

गाउँको चोकैमा थियो, ताकाकुसी प्रहरी चौकी चुजाइसो । प्रहरी चौकीअगाडि नै थियो, एउटा प्राथमिक विद्यालय । प्रहरी चौकीअगाडि खेलिरहेका थिए, एक हुल बच्चाहरू । केही बच्चा प्रहरीसँग गफिँदै थिए । सुरुमा ती बच्चाहरूको प्रहरीप्रतिको हार्दिकताले नै मेरो मन लोभ्यायो । तत्कालै मस्तिष्कमा मेरो देशको तस्बिर आइपुग्यो । सोचेँ, कति वर्ष लाग्ला मेरो देशको प्रहरी चौकीको कम्पाउन्डमा यसरी बच्चाहरू खेल्न र प्रहरीसँग यसरी साथी जसरी घुलमेल हुन ? आफैँसँग प्रश्न गर्नु सिवाय केही थिएन । हामीलाई देखेपछि ती प्रहरी बच्चाहरूलाई छाडी हाम्रो स्वागत गर्न आइपुगे ।

मसुदा कुनै ठूलो मान्छे हुनुपर्छ भन्ने सोच पालेर चढेका थियौँ पहाड । जब डाँडोमा पुगेपछि मसुदा कुनै ठूलो मान्छे नभएर एउटा प्रहरी भएको खुलासा भयो । मेरो मन आश्चर्य र गर्वले ढुस्स फुल्यो । प्रहरी जवानको सम्मान र अमरत्वका लागि ताकाकुसीका जनताले स्थापना गरेका रहेछन्, यो मेमोरियल ।

निकै प्रशन्न मुद्रामा शिर झुकाएर स्वागत गरे, तिनले । हामी सबै चौकीभित्र पस्यौँ । चौकीमा उनी एक प्रहरी मात्र कार्यरत रहेछ । उनको साथमा उभिएकी थिइन्, उनकी श्रीमती । चौकीभित्रको एउटा कोठामा थियो, कार्यालय र सोही कोठाबाट भित्रपट्टि थियो, एउटा बेडरुम र किचन । प्रहरी चौकीमा एक मात्र प्रहरी देख्दा सुरुमा आश्चर्य नै लाग्यो । मनभित्र अनेकौँ प्रश्न जन्मिए । हामी बाह्रै जनाका लागि नितान्त नौलो थियो, त्यो प्रहरी चौकीको प्रहरी व्यवस्थापन । हामी कसैको देशमा पनि त्यति दुर्गम गाउँमा एकजना मात्र प्रहरीबाट कार्यालय सञ्चालन गर्न असम्भव प्रायः थियो ।

सुरुको परिचयपछि हामीले आ–आफ्नो जिज्ञासा राख्यौँ । पछि थाहा भयो, जापानी प्रहरीहरूको जनशक्ति व्यवस्थापन । जापानका यस्ता सबै गाउँमा चौकीमा एकैजना आवासीय प्रहरी हुँदोरहेछ । एक्लैले हेर्नुपर्ने रहेछ, गाउँको आठ सय घर । हरेक दिन उनी साइकलमा गस्ती निस्कँदा अफिसको कामकाज उनकी श्रीमतीले हेर्नुपर्नेरहेछ । त्यसबापत उनलाई पनि सरकारबाट आधा तलब मिल्दो रहेछ ।

कार्यालय सरसफाइदेखि जनताका सम्पूर्ण काम दुवैजना मिलेर गर्दा रहेछन् । अचम्मको कुरो त यो छ कि कहिलेकाहीँ दुवैजना काममा जानुपर्दा चौकीको तालाचाबी गाउँका मानिसलाई दिएर जाँदा रहेछन् ।
 गाउँलेले नै गस्ती गर्ने प्रचलन रहेछ । हरेक गाउँमा प्रहरीलाई सहयोग गर्न र शान्ति सुरक्षामा सघाउन गाउँ स्तरीय सुरक्षा समिति हुँदोरहेछ । तिनैले गर्दारहेछन्, गाउँको सुरक्षाका लागि प्रहरीलाई सहयोग । हाम्रो देशमा जस्तो विरोधको परम्परा ठ्याम्मै रहेनछ जापानमा । जनताले प्रहरीलाई औधि माया गर्ने र प्रहरी जनताकै राय–सल्लाहमा चल्ने ।

प्रहरीबारे धेरै जानकारी लिइरहँदा मेरो मन भने ती अधबैंसे प्रहरीसँग धेरै कुरा सोध्न हतारिएको थियो । उनको सुरक्षाबारे मनमा धेरै कुरा खेलिरहेको थियो । मैले दोभासेलाई इसारा गर्दै जंगल नजिकको यस्तो बस्तीमा एक्लै बसेको प्रहरीमाथि अपराधीहरूले आक्रमण गर्न सक्ने सम्भावनाका कुरा कोट्याएँ । ऊ मेरो प्रश्न सुनेर मस्त हाँस्यो ।

प्रत्युत्तरमा प्रहरीलाई यसरी आक्रमण गर्न नसक्ने कुरामा उनी ढुक्क देखिए । गाउँमा कोही नराम्रा मान्छे प्रवेश गर्नेबित्तिकै गाउँले र प्रहरी मिली समातेर नजिकको प्रहरी बोलाई पठाउने गर्दा रहेछन् । प्रहरी जनताकै सुरक्षामा ढुक्क निदाउँदा रहेछन् । पत्याउनै गाह्रो । प्रहरीप्रति यति जनविश्वास रहेछ कि गाउँका जस्तोसुकै कामकाज भए पनि प्रहरीको सहभागिता अनिवार्य रहँदो रहेछ ।

एउटा गजब प्रहरीको संरचना रहेछ । जापानका गाउँमा रहेका सबै संघ–संस्थामा बारम्बार पुग्दारहेछन् प्रहरी । हुन सक्ने अपराधबारे जानकारी दिने र सुरक्षाका लागि चाहिने सूचना लिँदा रहेछन् । केहीबेरको कुराकानीपछि उनले हामी सबैलाई बजार डुलाउन लगे । सबैजना बजारको बीच भागमा रहेको ठूलो पसलमा पस्यौँ । एक हुल महिला आ–आफ्ना काममा व्यस्त थिए । उनले सबैलाई अभिवादन गरे । सबैको हाउभाउबाट सम्बन्ध निकै हार्दिक भएको प्रस्ट झल्किन्थ्यो । पसलको काम गर्ने महिलाबाट दोभासेमार्फत जानकारी लियौँ । गाउँले सबैले प्रहरीलाई माया गर्छन् भनेको सुन्दा मभित्र कताकता इष्र्याको बादल मडारिएर आयो । त्यो इष्र्यामा खुसी भने मिसिएको थियो ।

बजारमा डुल्ने क्रममा उनले ताकाकुसी गाउँको डाँडोमा रहेको मसुदा स्राइन लैजाने कुरा गरे । हामी सबै सहमत भई पैदलै उनको पछिपछि उकालो लाग्यौँ । करिब १५–२० मिनेटको उकालो चढेपछि बल्ल पुगियो, मसुदा स्राइन । पहाडको थुम्कोमा जापानी शैलीमा बनेको निकै कलात्मक पाराको मेमोरियलले हामी सबैलाई लोभ्यायो । ५० मिटर अगाडिदेखि ढुंगाको विभिन्न किसिमका आकृति दायाँबायाँ राखी बनाइएको सिँढी चढ्दै पुगियो डाँडामा । त्यहाँबाट ताकाकुसी गाउँको वल्लो छेउदेखि पल्लो छेउसम्मका सबै घर प्रस्ट देखिन्थ्यो । साँच्चै कतै स्वर्गकै एक टुक्रा त होइन ताकाकुसी गाउँ भन्ने आभास भइरहेथ्यो ।

मसुदा कुनै ठूलो मान्छे हुनुपर्छ भन्ने सोच पालेर चढेका थियौँ पहाड । जब डाँडोमा पुगेपछि मसुदा कुनै ठूलो मान्छे नभएर एउटा प्रहरी भएको खुलासा भयो । मेरो मन आश्चर्य र गर्वले ढुस्स फुल्यो । प्रहरी जवानको सम्मान र अमरत्वका लागि ताकाकुसीका जनताले स्थापना गरेका रहेछन्, यो मेमोरियल । म मसुदाको जीवन कहानी बुझ्न प्रश्नमाथि प्रश्न गर्न थालेँ । एउटा प्रहरी हुनुको नाताले पनि मसुदाको बारेमा जान्नु मेरो रुचि र आवश्यकता बन्यो ।

बुझ्दै जाँदा थाहा भयो, मसुदाको कहानी । खासमा एक सय २० वर्षअघि ताकाकुसी गाउँमा कलेरा रोगको महामारी फैलिएको रहेछ । त्यतिखेर सो रोग नियन्त्रणका लागि सरकारले प्रहरी संगठनको पनि सहयोग लिएको रहेछ । त्यसबखत मसुदा नाम गरेको प्रहरीले गाउँका धेरै जनताको उपचार र उद्धार गरी ज्यान बचाउन सफल भएका रहेछन् । तर, दुर्भाग्य जनतालाई बचाउँदाबचाउँदै उनी आफैँ भने बच्न सकेनछन् ।

आफ्नो ज्यान दिएर जनताको ज्यान बचाएको हुनाले ताकाकुसीका जनताले धैरै दिन उनको नाममा शोक मनाए । त्यतिले मात्र जनताको चित्त नबुझेर उनको नाममा मसुदा स्राइन स्थापना गरी उनलाई भगवान्को दर्जा दिएर उनको काठको मूर्ति बनाई सो स्राइनभित्र स्थापना गरे । तत्पश्चात् हरेक वर्ष जुलाईको अन्त्यमा ताकाकुसी गाउँमा मसुदाको नाममा ठूलो मेला लगाउने चलन चलाए । जुन आजसम्म कायम छ । सो दिन ताकाकुसीका सबै मान्छे मसुदा स्राइनमा भेला भई फूल चढाउने र त्यस एरियाको सुरक्षा आयोगका प्रमुखको उपस्थितिमा मसुदाप्रति श्रद्धाञ्जली अर्पण गरी गाउँभरि पर्वको रूपमा मनाउने चलन अझैसम्म रहेछ ।

मसुदाको कहानीले म निकै भावुक बनेँ । मसुदाको मूर्तिको पाउ छोई कोटिकोटि प्रणाम गरे । एउटा प्रहरीप्रति जापानी जनताले गरेको सम्मान र मायाले म नतमस्तक बनेँ । त्यस्तै, प्रहरीका कारण संसारभरका प्रहरीलाई शिर उँचो गर्ने प्रेरणा मिल्ने रहेछ । प्रहरी हुनुको नाताले चार धाम गएजतिकै भयो मलाई । मैले युद्धभूमिमा वीरगति प्राप्त गर्ने प्रहरी र सेनाको नाममा स्मारक बनेको त देखेको थिएँ तर प्रहरीको नाममा जनताले मन्दिर नै बनाएर मूर्ति राखी पर्वको रूपमा मनाउने गरेको जीवनमै पहिलोपटक सुनेको र देखेको हुँ । सायद संसारमा अर्को कुनै यस्तो प्रहरी छैन होला, जसले मसुदाले जति सम्मान पाएको होस् ।

मसुदाको कहानी ताकाकुसी गाउँमा मात्र सीमित रहेनछ । जापान प्रहरीको इतिहासमै मसुदाको बलिदानीलाई आदरपूर्वक हेरिँदो रहेछ । जुन समर्पण र त्यागले जापानी जनता र प्रहरीबीचको सम्बन्धलाई उचाइमा पुर्यायो र अनुपम उदाहरण बन्यो । जन–जनको मनमा राज गर्न सफल मसुदाको त्याग र जनताप्रतिको समर्पणले हामीलाई पनि ठूलो शिक्षा दिइरहेको थियो । आखिर जनताका लागि काम गर्ने प्रहरीले जनताबाट सम्मान पाउँदो रहेछ नै । जापानका प्रहरी एकाइहरू घुम्ने क्रममा उनीहरूको जनतासँगको घुलमिल र जनताले प्रहरीलाई गरेको माया देख्दा निकै मीठो अनुभूति भइरह्यो ।

धेरैबेरको घुमाइपछि हामी मसुदा स्राइनबाट ओरालो झर्ने तर्खरमा लाग्यौँ । फर्कने बेला स्राइनको वरपर ठाडो–ठाडो पारेर राखेका विभिन्न आकृतिका ढुंगामा पुग्यो मेरो आँखा । कति ढुंगामा जापानी अक्षर खोपिएका थिए । मलाई बुझ्ने कुतूहलता जाग्यो र सोधेँ जाइकाका मित्र सातोलाई । ती ढुंगाहरू मसुदाको आत्माको शान्तिका लागि त्यहाँका जनताले ठड्याएका रहेछन् । सबैमा मसुदाबारे शान्तिको कामना गरिएका रहेछन् । ती ढुंगाको लहर सकिएपछि एउटा ठूलो ढुंगामा राम्रो अक्षरमा मसुदाको बारेमा कुनै जापानी लेखकले दुई लाइन लेखेका रहेछन्, ‘भगवान् र मान्छे दुवै मिलाएपछि मात्र तिमी बन्नेछ मसुदा ।’
वाह ! कति ठूलो आदर्श । सम्मानको पराकाष्ठा । यो एकै वाक्यले मसुदाको बारेमा बुझ्नुपर्ने, जान्नुपर्ने कुनै कुरा बाँकी रहेन ।

मसुदाको काल्पनिक तस्बिर मनमा खेलिरह्यो । मैले मसुदाको मेमोरियलतर्फ फर्केर पुनः एकपटक श्रद्धाले शिर झुकाएँ । सम्मानका साथ सलाम ठोकेँ र मनमनै पुकार गरेँ, ‘मसुदा ! तिमी फेरि पुनर्जन्म लिएर आउ मेरो देशमा । हामीलाई पनि तिमीजस्तै प्रहरीको खाँचो छ । मभित्र तिमीसँगै काम गर्ने सपना पलाएको छ।’
मसुदा स्राइनबाट तल झरेर ताकाकुसी गाउँसम्म आइपुग्दा समेत मलाई मसुदाकै सम्झनाले सताइरह्यो ।

प्रकाशित: ६ माघ २०७४ ०२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App