साहित्यको मौद्रिक समीक्षा

बसाइँ उपन्यास कसरी शोषण–दमनको कथा ?

शनिबार, ०६ माघ २०७४, ०७ : ५२ नागरिक

डा. टीकाराम पन्थी
‘लीलबहादुर क्षत्रीको पहिलो उपन्यास बसाइँ   (सन् १९५७) ले सामाजिक यथार्थवादी प्रवृृत्तिलाई अँगालेको छ । पूर्वी नेपालका पहाडी किसानको जीवनलाई लिएर लेखिएको यस उपन्यासमा किसानवर्गले बसाइँ सर्नुपर्ने बाध्यता र परिस्थितिको मार्मिक र याथार्थिक चित्रण पाइन्छ । पहाडी जीवनको यथार्थ उद्घाटित गर्नाका साथै निम्न पात्रका विविध समस्या, विवशता, दुर्बलता र विपन्नताको चित्रण गर्दै मूलतः सामन्ती शोषण, भाग्यवाद र सामाजिक संकीर्णतामाझ अँठ्याइएका दलित र शोषित मानिसको सामाजिक बहिष्कार तथा निष्कासनको याथार्थिक कथा नै बसाइँ उपन्यास हो ।’
(नेपाली साहित्यकोश, ने.रा.प्र.प्र. वि.सं. २०५५ पृ. १५१)

बसाइँ प्रकाशित भएदेखि अहिलेसम्म सयौँ समीक्षा लेखिए, प्रकाशित भए । यसै शैलीमा, शोषक–शोषित व्याख्यामा, प्राध्यापकहरूले लाखौँलाखौँ विद्यार्थीलाई पढाए, सामन्ती शोषकको कथामै एकोहोरिएर विद्यार्थीहरूले जाँच दिए, उत्तीर्ण भए । बसाइँ उपन्यासका अगणित संस्कारहरू नेपाली र भारतीय व्यापारीहरूले छपाए, बिक्री गरे । नेपालमा मात्र होइन, भारतमा पनि युपी बोर्ड र विश्वविद्यालयमा निर्धारित पाठ्यपुस्तक हुनाले मुनामदनजस्ता औँलामा गनिने कतिपय पुस्तककै हाराहारीमा यसको मुद्रण, प्रकाशन र बिक्री भयो ।

बसाइँमा समीक्षा लेख्ने र पढाउने शैली यही हो, ‘बसाइँको मुख्य पात्र धने बस्नेत शोषित, निमुखा गरिब पात्र हो, बैदार बूढा र नन्दे ढकाल, शोषक फटाहा सामन्त हुन्, खलपात्र हुन् ।’ इन्द्रबहादुर राई यस परम्परागत मान्यतालाई स्वीकार गर्न हिच्किचाउँछन् । राईको एउटा वाक्य यही हो, ‘लेखक उठिबास लाइएकाहरुसँग केही पोखिनुभएको छ, तर उठिबास लाउनेहरुमाथि खनिनुभएको छैन ।’
(हीरामणि शर्मा, समालोचनाको बाटोमा (२०४१), पृ. २५ मा उद्धृत )इन्द्रबहादुर राईको यस भनाइमा सुस्पष्ट रूपमा दुई कुरा पाइन्छन् एक) उपन्यासकार बसाइँ सार्ने धनेमाथि केही मात्रामा पोखिएका छन् अर्थात् शोषित मानिसको धने बस्नेतमाथि कठोर शोषण, पीडन, दमन भएको छैन, ऊ थिचोमिचोमा परेको छैन, उसले सामान्य परिस्थितिमा बिचरा निमुखा जस्तो अवस्था देखाउँदै बसाइँ सारेको छ ।

दुई) उपन्यासकार शोषक सामन्त मानिने पात्रहरू  नन्दे ढकाल, बैदार बूढामाथि खनिएनन्, किनभने खनिनुपर्ने केही कुरा छैन, शोषणै कति छ र खनिने हो । उनीहरूप्रति कुनै घृणा अभिव्यक्त छैन ।
गौहाटीमा बस्ने लेखकले नेपालका पहाडी भागबाट त्यहाँ पुग्ने नेपालीबाट विवरण लिएर उपन्यास खडा गरेका छन् । त्यसरी लिइएका सूचनाहरू साकल्येन यथार्थ छन् ।

सन् १९५४–५७ मा (वि.सं. २०१०–२०१३ मा) लेखिएका यस उपन्यासमा अभिव्यक्त, चित्रित ग्रामीण जीवनशैली, वस्तुभाउका मोल आदि कुरा यथार्थ छन्, सत्यात्मक छन्, कल्पित वा अतिशयोक्तिपूर्ण वा असत्य छैनन् । त्यस समय पूर्वी वा पश्चिमी पहाडमा लैनो भैँसीको मूल्य एक सय २० देखि दुई सय रुपैयाँसम्म थियो । २०२०–०२१ तिर बल्ल लैनो भैँसीको मूल्य चार सयदेखि पाँच सय रुपैयाँसम्म भएको थियो । हिजोआज १० हजारदेखि१५ हजारसम्म छ । तात्पर्य के भने पूर्वी र पश्चिमी पहाडमा वस्तुभाउको मूल्यमा त्यति अन्तर हुँदैनथ्यो र छैन ।
बैदार बूढाकहाँबाट धने बस्नेतले एक सय २० रुपैयाँमा लैनो भैँसी किनेर ल्याएको छ र नन्दे ढकालको लैनो भैँसी मारेबापत त्यसको मोल एक सय ५० रुपैयाँ मात्र उसले तिरेको छ । यो अतियथार्थ समसामयिक मूल्य हो, अर्थात् ती दुवै अवस्थामा मूल्यको सम्बन्धमा धनेमाथि सही न्याय भएको छ । धने मूल्यमा मारिएको छैन, ऊमाथि एक रुपैयाँँ पनि शोषण भएको छैन ।

बैदार बूढाले आफूले उधारो भैँसी दिएको एक वर्षपछि सम्पूर्ण साँवा–ब्याजबापत धनेकहाँबाट एक हल गोरु र थारो भैँसी लगेका छन् । लैनो भैँसी र एक हल गोरुको बराबर मूल्य पर्ने तत्कालीन चलनअनुसार साँवाधनबापत एक सय २० रुपैयाँमा गोरु लगे भन्न उपयुक्त हुन्छ । लैनो छँदा उसैकहाँ धनेले किनी ल्याएको हाल दूध पनि नभएको, पेटमा गर्भ पनि नभएको थारो भैँसीको मूल्य तत्कालीन चलनअनुसार लैनोका मूल्यको तृतीयांश (एक तिहाइ) हुने भएकाले ४० रुपैयाँ लियो । २० प्रतिशत ब्याज घनिष्ठ मित्रले लिने चलन भएको समयमा एक सय २० रुपैयाँको २४ रुपैयाँ मात्र ब्याज लिनुपर्नेमा बैदार बूढाले १६ रुपैयाँ बढी लियो । त्यसकारण धनेमाथि १६ रुपैयाँ शोषण भयो ।

लेउते दमाईका बारीमा पसेर धनेको भैँसीले फापर मारेकोमा पञ्चभलादमीको निर्णयअनुसार अर्मल मात्र भराइदिनुपर्नेमा धनेलाई एक रुपैयाँ ५० पैसा दण्ड लगाइयो र यो पनि शोषण भयो । उपरोक्त १६ रुपैयाँमा यसलाई जोड्दा जम्मा रकम १७ रुपैयाँ ५० पैसा मात्र छ ।

बैदार बूढाकहाँबाट ल्याएको भैँसी पाडो मरेर थारो हुनु, लेउतेका फापरमा पस्नु, अरु कसैका बारीमा पसेर कुटिँदा तुहुनुजस्ता कुरा धनेको नियतिका खेल तथा धनेको असावधानीबाट घटित कुरा हुन् । ती कुनै व्यक्तिविशेषको शोषणबाट भएका थिएनन् । धनेले बैदारकहाँबाट ल्याउँदा बैदारले मोल र सर्त बताएपछि लाभ हुने ठहर्याएर खुसीराजीले तमसुकमा सहीछाप लाएको छ, करले र हतपतीमा लाएको थिएन । तसर्थ,बैदार शोषक सामन्त हो, धने शोषित निमुखा हो भन्दै उग्रतम व्याख्या गर्नु, आन्द्रा छिनुन्जेल चिच्याउनु अत्यन्तै हास्यास्पद कुरा हो ।

बाँकी रह्यो नन्दे ढकालबाट धने बस्नेतमाथि भएको शोषणको कुरा । नन्दे ढकालले धनेलाई ऋण दिन र कुतमा खेत दिन बोलाएको होइन । त्यसनिम्ति उसलाई नन्देले कुनै कर लाएन, हात जोडेन । धनेलाई उठिबास लाउने उसको कुनै पूर्वयोजना छैन । परन्तु धनेले सोर्स लगाउनका निम्ति सहयोगीका रूपमा भोटे कार्कीलाई लिएर नन्देकहाँ गएर गोरु किन्न र घरखर्च गर्न ऋणसमेत नन्देको खेत कुतमा लिन्छ । ऋणबापत धनेको खेतबारी बन्धक राखिन्छ । यो सब काम करले होइन,खुसीराजीले भएको छ । ऋणको रकम बताइएको छैन, तैपनि लगभग तीन सय रुपैयाँ देखिन्छ, गोरु किन्नएक सय ५० रुपैयाँ तथा घरखर्च गर्न एक सय ५० रुपैयाँ । किनभने पछि ब्याजसमेत गाभ्दा तिर्नुपर्ने जम्मा तीन सय ५० रुपैयाँ पुगेको छ ।

धनेले क्रोधवश विक्षिप्त भएर सातचोटि कोदालोको पासोले हानेर नन्देको लैनो भैँसी मारेको छ । पञ्चभलादमीको निर्णयअनुसार त्यसको मोल एक सय ५० रुपैयाँ धनेले तिर्नुपर्यो । त्यस सन्दर्भमा भलादमीको निर्णय साह्रै न्यायपूर्ण र प्रशंसनीय छ । त्यहाँ अन्याय वा शोषणको नामोनिसान छैन, किनभने २०१०–२०१३ ताका पहाडमा लैनो भैँसीको मूल्य एक सय ५० रुपैयाँ वास्तविक छ, यथार्थ छ । पञ्चभलादमीको निर्णयमा नन्देका भैँसीले धनेका ब्याडको बीउ मासेमा त्यसको मूल्यबापत नन्देले धनेलाई १५ पाथी धान तिर्नुपर्यो ।

नन्देको लैनो भैँसी मारेकोमा धनेले भैँसीको पूरा मोल एक सय ५० रुपैयाँ तिरेपछि दण्ड ७५ रुपैयाँ तिर्नुप¥यो । यस प्रकार बिगो एक सय ५० को आधा ७५ रुपैयाँ दण्ड तिराउने पञ्चभलादमीको निर्णय निन्दनीय छ, अवश्य । यसमा धने अन्यायमा पर्यो,७५ रुपैयाँँ शोषणमा पर्यो ।यस प्रकार माथि उल्लिखित बैदार बूढाको भैँसीकाण्डमा भएको शोषणमा यो दोस्रो शोषण ७५ रुपैयाँ जोड्दा शोषणको जम्मा रकम १७रुपैयाँ ५० पैसा र ७५ रुपैयाँ बराबर ९२ रुपैयाँँ ५० पैसा मात्र देखिन्छ । बसाइँ उपन्यासको खास शोषण यही हो सय रुपैयाँभन्दा केही कम ।

भैँसीकाण्डपछि नन्देलाई धनेले तिर्नुपर्ने रकम पाँच सय ७५ रुपैयाँ छ । तमसुक लेखेपछि दुई महिना सात दिनमा धनेको खायल खेतबारी नन्देले स्याहारेको छ । उसले दुई महिनाको ब्याज १० रुपैयाँ छाडेको छ । पाँच सय ७५ रुपैयाँको वार्षिक ब्याज ६० रुपैयाँ रहेछ, यो दर दशप्रतिशत भयो । तसर्थ,१० प्रतिशत मात्र ब्याज लिने नन्दे साहुलाई सत्ययुगको उदार साहु भन्न सकिन्छ । उसले धनेबाट पाँच सय ७५ रुपैयाँको सात दिनको ब्याज एक रुपैयाँ २५ पैसा मात्र लिएको देखिन्छ । धने बसाइँ सर्ने बेला नन्दे ढकालको साँवा पाँच सय ७५ रुपैयाँ तथा ब्याज एक रुपैयाँ २५ पैसा बाहेक अन्य ऋण भए÷नभएको कुरा उपन्यासमा स्पष्ट छैन । धनेले साहु तिरी बाँकी रहेको ८५ रुपैयाँनन्दे ढकालबाट लिएको छ र बसाइँ सरेको छ । धनेलाई खायल–खेतबारीको मोलमा मारे÷नमारेकोबारे उपन्यासमा कतै पनि चर्चा र गुनासो छैन ।

त्यसकारण ठूलाठालु सामन्त शोषकले गरिब निमुखा धनेमाथि गरेको शोषणको राशिमाथि बताइएअनुसार  ९२ रुपैयाँँ ५० पैसा मात्र हो । यस प्रकार ‘उठिबास लगाउनेहरू (बैदार र नन्दे ढकाल) माथि लेखक खनिनुभएको छैन’ भन्ने इन्द्रबहादुर राईको अभिव्यक्ति यथार्थ छ । राईको अभिव्यक्तिअनुसार ती दुवैजना नन्दे ढकाल र बैदार बूढा शोषक थिएनन्, निन्दनीय थिएनन् । धनेको रोप्ने बेलाको ब्याडमा जानाजान नन्दे ढकालको भैँसी किन हुलियो ? त्यसरी ब्याडमा नपसेको भए त्यो भैँसी मारिने थिएन । यसो भन्ने हो भने साने घर्ती र नन्देका छोराको अपराधमा धनेले क्रोधवश विक्षिप्त भएर अज्ञानी पशुलाई निर्दयतापूर्वक पिट्न र मार्न हुँदैनथ्यो । तसर्थ, यी दुवैथरी समान छन्, सहानुभूति गर्न लायक कोही छैन, न त साने घर्ती र नन्देको छोरा ।

उपन्यासको पृष्ठभूमि पूर्वी नेपालको पहाडी भागसँग सम्बद्ध छ, ग्रामीण, सामाजिक जीवनमा आधारित कथा छ, परिश्रमी किसान प्रमुख पात्र छ । त्यस किसिमको बसोबास ब्यासी भागको उर्वराभूमि भएको गाउँ छ । पर्याप्त मात्रामा मकै र कोदो उब्जने गाउँमा बस्ने जुनसुकै नेपालीले पनि यस उपन्यासको कथालाई आफ्नै गाउँको परिवेश भएको सम्झन्छ । तसर्थ यो उपन्यास प्रतिनिधिस्वरूप बनेको छ । पूर्वमध्य, पश्चिम, जहाँतहीँको कोदो र मकै पर्याप्त मात्रामा उब्जने पहाडी ग्रामक्षेत्रको । उपन्यासकार के लेख्छन् भने, ‘धनेले राम्ररी उब्जाउ भएमा कोदोले वर्ष दिन खान पुर्याउने मकैजति सप्पै बेच्ने आकांक्षा राख्छ ।’ यस भनाइमा एउटा विसंगत कुरा के भयो भने कोदो र मकै उब्जाउने किसानको परिवारले वर्ष दिनसम्म कोदो मात्रै खान्छ, मकै जति सप्पै बेच्छ । यस्तो चलन कहीँ हुँदैन ।

प्रायः एक छाक कोदो र एक छाक मकैको खाद्यले निर्वाह चलाउने चलन देखिन्छ । धनेको खेत पनि छ, धान कति हुन्छ भन्ने कुरा देखाइएको छैन । धान थोरै भए कहिलेकाहीँ र धेरै हुने भए प्रतिदिन एक छाक भात खाने चलन पनि त्यस समयमा थियो । धनेको परिवार संख्या हेर्दा वर्ष दिन खान २० मुरी अन्न चाहिन्छ । प्रतिव्यक्ति पाँच मुरी अन्नको हिसाब गर्ने चलन छ, गरिन्छ । थोरै खाने भएपनि चार जनालाई चार–चार मुरीका हिसाबले १६ मुरी चाहिन्छ । १६ मुरी कोदो हुने बारीमा कम्तीमा २० मुरी मकै उब्जन्छ । उसको खेत छुट्टै छ, हिउँदे बाली पनि (दुई–चार मुरी गहुँ, केराउ आदि) हुँदो हो ।

उपन्यासकारको भनाइअनुसार नै धनेको २० मुरी अन्न (कोदो वा मकै) बेच्ने हैसियत छ । २०१० ताका २० मुरी अन्न बेच्ने कृषक उच्च मध्यमवर्ग वा सम्पन्न धनी, भाग्यमानी भनिन्थ्यो (त्यो कुरा प्रत्यक्षतः आफ्नै अनुभूतिअन्तर्गत छ) । त्यस समय गुल्मी अर्घाखाँचीतर्फ पर्याप्त मात्रामा मकै कोदो उब्जाउने गाउँहरूमा, २० मुरी कोदो वा मकै बेच्ने किसान, सय घर भएको गाउँमा ५–६ जना मात्र हुन्थे । पहाडी गाउँमा खेतको धान बाली छाडेर ४० मुरी अन्न उब्जाउने हैसियत भएको कृषक धने बस्नेत गरिब, निमुखा हुन सक्तैन । ऊ त धनीमानी, ठूलो, बडो, सम्पन्न, समृद्धिशाली हुन्छ, रोबरवाफ भएको हैकमवादी हुन्छ । ४०–५० मुरी अन्न स्याहार्ने हैकम भएको परिश्रमी, होसियार, युवक किसान दुईवटा भैँसी मार्दैमा वि.सं. २०१० को आसपासमा सधैँका निम्ति घरबार छाडेर बसाइँ सर्न विदेश जान बाध्य हुन्छ भन्ने कुरा अत्यन्त विसंगत छ, अपत्यारिलो छ ।

२०१० मा कोदो–मकैको दरभाउ रुपैयाँँ पाटी (एकरुपैयाँँको एक पाथी) थियो, २०२० मा दुई रुपैयाँँ पाथी भएको हो । उपन्यासकारकै भनाइमा २० मुरी मकै बेच्ने हैसियतको धनेले वर्षको चार सय कमाउँछ । २०१० ताका वार्षिक चार सय रुपैयाँ कमाउने किसान सम्पन्न धनी हुन्थ्यो । गरिब निमुखा हुँदैनथ्यो । ४०÷५० मुरी अन्न उब्जाउने खेतबारी भएको किसान ९२ रुपैयाँ ५० पैसा शोषण हुँदा, एउटा लैनो भैँसी एक साल थारो रहेमा र एउटा लैनो भैँसी मरेमा (दुईवटा लैना भैँसीको मारमा परेमा) टाट पल्टेर बसाइँ सर्न बाध्य हुँदैन । यस प्रकार बसाइँ उपन्यासमा धनेको बसाइँसराइ अतीव हास्यास्पद बनेको छ ।

हाम्रो प्रत्यक्ष अनुभूति वा यथार्थ जानकारीमा यो उपन्यास लेख्नेताका (वि.सं. २०१०–२०१३ मा) अगम्यागमन, दुव्र्यभिचार जस्ता महापातकबाट समाजमा मुख देखाउन लाज मान्नेहरू जुवा–तासमा सम्पत्ति स्वाहा पारेर अरिबुंगा बनेका व्यक्तिहरू, साइँधुवाहरू, आफ्नो खेतीपातीबाट वर्ष दिन खान नपुग्ने किसानका छोराहरू गौहाटीतर्फ जाने गर्दथे । उपन्यासकारले देखाएका कोदोले वर्ष दिन (चारजना परिवार सदस्यलाई) खान पु¥याउने मकैजति सप्पै (२० मुरी) बेच्ने आकांक्षा राख्ने, खेत पनि भएका धने जस्ता सचेत परिश्रमी सम्पन्न, धनी किसानहरू बिदेसिँदैनथे, बसाइँ सर्दैनथे । यो कुरा टड्कारो यथार्थ हो ।
उपन्यासमा कतिपय त्यस्ता कुरा छन्, जुनबारे उपन्यास तथा समालोचना क्षेत्र चुपचाप देखिन्छ । नन्दे ढकालका भैँसीले धनेको ब्याडको बीउ मारेबापत १५ पाथी धान धनेलाई तिर्नुपरेको देखाइए तापनि धनेका खेतमा कति मुरी धान हुन्थ्यो ? यसबारे उपन्यास चुप छ । कोदोले मात्रै जहान पालिने र मकै सप्पै बेच्ने हैसियत धनेको देखाइएकाले अनुमानतः पाठकले कोदो मकैको उब्जाउ सहकाल परेको वर्षमा ४० मुरी हुने रहेछ भन्ने ठान्न सकिन्छ, तर यसबारे उपन्यासकार मौनव्रती छन् ।

समालोचकहरू पनि मौनव्रती छन् । समालोचकहरू मर्मस्पर्शी शब्दावली प्रयोग गरेको सशक्त भाषामा सामन्ती शोषकद्वारा गरिब निमुखाको शोषण भएको व्याख्या गर्छन्, तर कुन प्रकरणमा कति शोषण भयो ? भन्नेबारे मौनव्रती हुन्छन् । धनेका खेतबारीको मूल्य तत्कालीन चलनअनुसार कति हुनुपर्ने ? नन्देले मूल्य कति दियो ? धनेमाथि कति रुपैयाँँ शोषण भयो ? यसबारे उपन्यासकार र समालोचक चुपचाप छन् । नन्दे ढकाललाई तिर्नुपर्ने र पाँच सय ७५ रुपैयाँ हिँड्ने बेला उसबाट धनेले लिएको ८५ रुपैयाँ जम्मा ६ सय ६० रुपैयाँ हुन्छ । के खेतबारीको मूल्य यति हो ? उपन्यासले हिसाब दिएको छैन । शोषणको कथा भनिने उपन्यासमा शोषणको केन्द्रबिन्दु नै छैन । उपन्यासकारले धनेलाई होसियार र विवेकशील पात्रका रूपमा प्रस्तुत गरेका छन् न कि अज्ञानी निमुखा । यसबारे पनि समालोचक मौनव्रती देखिन्छन् ।

परन्तु यो उपन्यास प्रकाशित भएदेखि यता समालोचनाको क्षेत्रमा यसलाई सामाजिक यथार्थवादी उपन्यास, शोषक, सामान्त र शोषित गरिब निमुखाको कथा भन्ने निरन्तर रूपमा प्रचलित स्थापित मान्यता उल्लेखनीय रहेको छ । परवर्ती समालोचकले पूर्ववर्ती समालोचकका शोषक–शोषित प्रवाद उद्धृत गर्ने शैली पनि यथेष्ट पाइन्छ । यसबारे एउटा निदर्सन प्रस्तुत छ ।

हीरामणि शर्माको समालोचनाको बाटोमा (२०४१) भन्ने पुस्तकमा सामाजिक यथार्थवादका पृष्ठभूमिमा बसाइँ उपन्यास भन्ने लेख (पृ. १८–३४) छ । त्यसमा बसाइँ उपन्याससम्बद्ध केही समालोचनाका वाक्य उद्धृत छन् । ती निम्नानुसार छन् -
१. कृष्णचन्द्रसिंह प्रधानको त्यहाँ उद्धृत भनाइ यस्तो छ– ‘नेपाली निम्नवर्गीय ग्रामीण जनजीवनका कठोर वास्तविकता र कटु यथार्थलाई नंग्याउँदै शोषणव्यवस्थाको प्रभावकारी स्वरूप चिनाउने सफल सामाजिक यथार्थवादी उपन्यास हो बसाइँ ।’

२. तानासर्माको घोत्ल्याइँहरूबाट, त्यहाँ उद्धृत वाक्य यो हो, ‘आफ्नो मातृभूमिप्रति अगाध स्नेह या अपार माया–ममता हुँदाहुँदै पनि नेपालका श्रमजीवी गरिब गाउँले कृषकहरू नन्दे ढकाल र बैदार बाजेजस्ता शोषक प्रवृत्ति अपनाउने जाली–फटाहाको शोषण, उत्पीडन र अन्याय–अत्याचार सहन गर्दै कसरी टाट उल्टेर मुग्लान पस्न या बसाइँ सर्न बाध्य भएका छन् भन्ने यथार्थ प्रकट गर्नु बसाइँको मूल अभीष्ट हो ।’
३. भानुभक्त पोखरेलको साहित्यिक अनुशीलनबाट, त्यहाँ उद्धृत वाक्य यस्तो छ, ‘दीनदुःखीहरूको विवशताबाट फाइदा उठाई आफ्नो स्वार्थपूर्ति गर्ने र रवाफी जीवन बिताउने शोषक सामन्ती नेपाली समाजको मुटु खाने गभारा हुन् र यस्ता दुष्ट ब्वाँसाहरू निर्मूल नभएसम्म बसाइँ सर्नुपर्ने समस्याको समाधान छैन भन्नु बसाइँको खास अभिप्राय हो ।’

४. अभि सुवेदीको लेखबाट उद्धृत वाक्य यो हो, ‘गाउँका तथाकथित धनी मानिसले के–कस्तो षड्यन्त्र रचेर गरिब किसानको गरो–फोगटो आफ्नो हातमा पार्छन्, त्यसप्रति बसाइँले व्यंग्य गरेको छ ।’
५. हीरामणि शर्माले त्यहाँ आफ्नो भनाइ यसरी प्रस्तुत गरेका छन्, ‘सामाजिक अन्याय र आर्थिक शोषणको जाँतोमा युगौँदेखि पिसिँदै र शोषक सामन्तीका पाइतलामुनि कुल्चिँदै आएका निम्नवर्गीय जनजीवनका टड्कारा आर्थिक प्रश्न र समस्यालाई लिएर लेखिएको उपन्यास हो बसाइँ ।’ अस्तु, सयौँ समालोचकले बसाइँप्रति समीक्षा–समालोचना–चिन्तन–विवेचना प्रस्तुत गरे, ती सबको मान्यता यही हो, स्थापित मान्यता यही हो ।

जेहोस्, लीलबहादुर क्षत्री भारतको आसाम गौहाटीमा जन्मे, त्यहीँ हुर्के, त्यहीँ पढे, अर्थशास्त्रमा एमए गरेर त्यहीँ प्राध्यापनरत भए । उनी हिन्दी, नेपाली, अंग्रेजी र असमी भाषाका ज्ञाता थिए । भारतको आसाममा जन्मेका अर्थशास्त्री मनीषीले नेपालीमा उपन्यास, कथा, निबन्ध, नाटक, समीक्षा लेखेर जेजति नेपाली साहित्यको श्रीवृद्धि गरे, त्यही नै श्लाघनीय कृत्य हो । बसाइँ उनको प्रथम कृति हो । नेपालदेखि धेरै टाढा बसेर, नेपालको पहाडी क्षेत्रबाट गौहाटी आउने मानिसको मुखबाट सुनेका कुराको मात्र भरमा नेपाली ग्रामीण समाजको परिपाटी, कृषकको चालचलन र आपसी व्यवहारको तथ्यपूर्ण चित्र यसमा उतार्न सकेको सन्दर्भमा उपन्यास लेखनकार्य स्तुत्य छ ।

त्यस बेला नेपाली उपन्यासको नगण्य संख्यालाई हेर्दा, ऐतिहासिक सन्दर्भमा, यसलाई राम्रो कृति मान्न नेपाली बौद्धिक समाज, समीक्षक–वर्ग बाध्य थियो । त्यसबेला यति मात्र कृति नेपाली आख्यानविधामा थप्नु पनि प्रशंसनीय कार्य मान्नुपर्ने अवस्था थियो ।

(पाठ्यपुस्तकमा समेत समावेश भएकाले हुनुपर्छ वा अन्य कारण पनि हुन सक्छन्, नेपाली साहित्यमा अत्यन्त चर्चित उपन्यासमध्ये पर्छ, बसाइँ । बसाइँलाई जसरी अथ्र्याइयो, समीक्षा–समालोचना गरियो, त्यसभन्दा फरक ढंगमा लेखिएको यो लेख हामीले नेपाल प्रज्ञा–प्रतिष्ठानले २०६० सालमा छापेको नेपाली उपन्यास शतवार्षिकी स्मारिकाबाट सम्पादनसहित प्रकाशन गरेका हौँ ।  हामीलाई आशा छ, यो मौद्रिक समीक्षाबारे थप तर्क–वितर्क हुनेछ - सम्पादक । )





यसमा तपाईको मत

अन्य समाचार

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ। इक्यान शैक्षिक मेलाको १३ औ संस्करणलाई साठी...

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

Ncell Footer Ad