७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस बैठकमा देउवाले भने– कसैले भन्दैमा नेतृत्व छाड्दिन

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रियसभा निर्वाचनका लागि  उम्मेदवार छनोटको मापदण्ड तय गर्न सकेन। दुई दिनसम्म प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रियसभा निर्वाचनलाई मुख्य एजेन्डा बनाएर छलफल गरेको कांग्रेसले उम्मेदवार छनोटको कुनै आधार तय गर्न नसकेको हो।

पार्टी नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षीय केन्द्रीय सदस्यले बैठकबाटै उम्मेदवार छनोटको मापदन्ड बनाउने पर्ने अडान राखेपनि सभापति शेरबहादुर देउवाले त्यसलाई वेवास्ता गरेपछि बैठक औपचारिकतामा मात्र सिमित बन्न पुगेको छ। राष्ट्रियसभा निर्वाचनका विषयमा कुनै निर्णय नै नगरी बैठक समापन गर्न सभापति देउवा लागेपछि पौडेल र सिटौला पक्षीय केन्द्रीय सदस्यले आक्रोश व्यक्त गरेका थिए। उनीहरुको आक्रोशपछि सभापति देउवाले केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर उम्मेदवार छनोट गर्ने जनाउँदै बैठकबाट बाहिरीएपछि सदस्यहरु नेता रामचन्द्र पौडेल माथि खनिन पुगेका थिए।

बैठकपछि कांग्रेस केन्द्रीय कार्यालयले राष्ट्रियसभा निर्वाचनको तयारीमा जुट्ने जनाउँदै सदस्यहरुको रायका आधारमा उम्मेदवार छनोट गर्ने जनाएके छ। ‘यही माघ २४ गतेका लागि निर्धारित राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी, मनोनयन दर्ता यही माघ १० गते हुन लागेको सन्दर्भमा, हामीले तत्कालै उम्मेदवारी चयन र चुनावको तयारीमा केन्द्रीत हुनुपर्ने छ,’ पार्टी सचिव प्रदिप पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएके छ, ‘अतः साथीहरुबाट यसमा केन्द्रीत रहेर प्राप्त हुने महत्वपूर्ण रायसुझाव अनुरुप हामी अघि बढ्नेछौ। तत्काल केहि दिनमै केन्द्रीय कार्यसमितिको फेरि अर्को वैठक वोलाई पुनःलामो छलफल र वहस गरिने छ।’

‘कसैले भन्दैमा छाड्दिन’

पार्टी सभापति शेरबहादुर देउवाले कसैले पद छाड भनेर दवाव दिंदै पार्टी नेतृत्व नछाड्ने स्पष्ट पारेका छन्। पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति देउवाले जर्वजस्ती पद छाड भन्ने अधिकार कसैलाई नभएको स्पष्ट पारका थिए। विगतमा पार्टीले गरेको निर्णयको असर निर्वाचनमा परेको सदस्यहरुको गुनासोको प्रतिवाद गर्दै तत्काल नेपाल प्रहरी डिआइजी नवराज सिलवाल कस्ता हुन भन्ने आफूलाई पहिला नै जानकारी भएको सुनाएका थिए।

बैठकमा नेता रामचन्द्र पौडेलले पनि राजनीति नसा भएको जिकिर गर्दै बाँचुजेल गर्ने तर्क गरेका थिए। आफ्नो पुस्ता सफल भएको भन्दै आफूहरुलाई पार्टीभित्रबाट बद्नाम गर्न लागि परेको धारणा राखेका थिए। विपी कोइराला देखिका पार्टी नेताहरुले उठाउँदै आएक विषयलाई आफ्नो पुस्तालाई व्यवस्थापन गरेको भन्दै बचाउ गरेका थिए।

बैठकमा केन्द्रीय सदस्य गगन थापाले पहिलो पुस्तालाई विस्राम लिन आग्रह गरेका थिए। पार्टी र मुलुकलाई सभापति देउवा, पौडेलसहितका नेताहरुले ठूलो योगदान परेको जिकिर गर्दै अब पनि नेतृत्वमा राख्नु  उहाँहरु माथिकै अन्याय भएको तर्क गरेका थिए।

पूर्व महामन्त्री प्रकाशमान सिंहले सभापति देउवा पार्टी विधान र विधि विपरित जताभावी हिंडेको आरोप लगाए। सिमित नेताको घेराबाट सभापति देउवा निस्कन नसकेको जनाउँदै सिंहले आफू गल्ती गर्ने अनि अरुलाई अनुशासनको कारबाहीको धम्की नदिन पनि आग्रह गरे। ‘अनुशासनको कारबाहीको डर धम्की दिने काम नगर्नुहोला’ सिंहले बैठकमा भने, ‘हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका हौं। तपाईदेखि डराउने कुनै छैन। अनुशासनको कारबाहीको धम्कीले कसैको आवाज बन्द हुँदैन।’ 

प्रकाशित: ५ माघ २०७४ १६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App