७ वैशाख २०८१ शुक्रबार
समाज

फेसबुकबाट संकलित रकम अग्नी पीडितलाई प्रदान

खोटाङ – खोटाङको हलेसीका आगलागी पिडितलाई फेसबुक ग्रुप च्याटका माध्यमबाट संकलन गरिएको राहत रकम प्रदान गरिएको छ। पुस १८ गते भएको आगलागीमा घरसहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन विताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदिश दासलाई राहत प्रदान गरिएको हो।

घट्नालगत्तै स्थानीय जनज्योती क्लब र जनकल्याणकारी सेवा समाजले सञ्चालन गरेको ‘घर सल्लाह फेसबुक ग्रुप च्याट’मार्फत देशबिदेशबाट संकलन भएको २ लाख ६७ हजार ४१३ रुपैयाँ शुक्रबार पीडितलाई प्रदान गरिएको बताइएको छ।

संकलित रकममध्ये मगम, उचितबहादुर, अम्बराज र तम्बराजलाई जनही ६० हजार र मगमको एक घर भाडामा लिएर व्यवसाय गर्दैआएका जगदीसलाई २७ हजार ४१३ रुपैयाँका दरले वितरण गरिएको शिक्षक नबिन चामलीङले जानकारी दिए। नेपालकै विभिन्न स्थानमा बसोबास गरिरहेका एबं रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेका हलेसीबासीबाट स्वेच्छिक सहयोग उठाएर अग्नी पिडितलाई प्रदान गरिएको हो। पीडितलाई हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका वडाध्यक्ष चइन्द्र राईले नगद हस्तान्तरण गरेका छन्।

आगलागी पीडितलाई विभिन्न कार्यालय तथा संघसंस्थाबाट राहत तथा सहयोग जुट्नेक्रम जारी छ। बिस्थापित भएपछि नेपाली सेना र शसस्त्र प्रहरीले बनाइदिएको अस्थायी टहरामा कष्टकर दिन बिताइरहेका अग्नी पीडितलाई यसअघि, दैबीप्रकोप उद्धार समिति, हलेसी तुवाचुङ नगरपालिका, रेडक्रस, उद्योग बाणिज्य संघ, नगरपालिका, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, लोक नेपाल, मारातिका छिमेद ताग्तेन छोलिङ गुम्बा, सुम्नीमा पारुहाङ साँस्कृतिक समुह महादेवस्थान, धर्मशाला वासुमाला बेलबोटे सामुदायीक बन लगायतले राहत प्रदान गरिसकेको छ।

आगलागीबाट बिस्थापित भएका परिवारको सहयोगका लागि घटनाको दोश्रो दिनदेखि नै हलेसी तुवाचुङ नगरपालिकाको अगुवाईमा नगरभित्र तथा काठ्माण्डौंमा दिनेश राईको संयोजकत्वमा बनेको ‘अग्नि पीडित राहत संकलन समिति’ले राहत संकलन गरिरहेको छ। संकलित रकम केही दिनपछि पिडितलाई प्रदान गरिने मेयर इवन राईले बताए।

धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारका व्यवसायी मगमको घरबाट सुरु भएको आगोले चार व्यवसायीका पाँच घर लगायत जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो। आगलागीमा प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोबिन राई, महानन्द राई, सरणसरी राई लगायतको घर, पसल तथा होटलमा पनि आंशिक क्षति पुगेको छ। आगलागीमा वर्षौँदेखि किराना पशल, होटल तथा लज व्यवसाय सञ्चालन गर्दैआएका मगम, उचित, तम्बराज, अम्बराज तथा मगमको दुई वटा घरमध्ये एउटा घरमा व्यवसाय गर्दै आएका जगदीसको शरीरमा लगाएका लुगा बाहेकका सामान नजोगिएको प्रहरीले जनाएको छ।

हङकङमा पनि राहत संकलन जारी

खोटाङको हलेसीका आगलागी पीडितका लागि हङकङमा पनि राहत संकलन अभियान जारी छ। आगलागीबाट बिस्थापित परिवारको सहयोगार्थ खोटाङ समाज हङकङको पहलमा राहत संकलन अभियान चलाइएको हो। खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषमार्फत पीडितलाई राहत प्रदान गरिसकेको समाजले हङकङमा संकलित रकम केही समयपछि पीडितका नाममा पठाउने जनाएको छ। बिस्थापित परिवारको सहज जीवनयापनका लागि समाजले हङकङकै एक बैंकमा खाता खोलेको खोटाङ समाज हङकङका पूर्वअध्यक्ष तेजप्रकाश राईले बताए।

प्रकाशित: ५ माघ २०७४ १६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App