८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रियसभाका लागि बोहराको नाम सिफारिस

बाजुरा – नेकपा एमाले प्रदेश कमिटीले राष्ट्रिय सभाका लागि बाजुराबाट राधिका बोहराको नाम सिफारिस गरेको छ। ७ नम्बर प्रदेश कमिटी बैठकले दुई जना महिला कोटातर्फ बोहराको नाम सिफारिस गरेको नेकपा एमाले ७ नम्बर प्रदेश सह संयोजक कर्णबहादुर थापाले बताए।

२ दशक लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय बोहरा महिला तर्फको कोटामा सिफारिस भएकी हुन्। बोहरा पूर्व सेती अञ्चल कमिटी सदस्य र २०६४ सालमा नेकपा एमालेको तर्फबाट संविधान सभा निर्वाचन तर्फ समानुपातिक उम्मेदवार बनेकी हुन्। बोहरासँगै महिला कोटा तर्फ ७ नम्बर प्रदेशबाट डोटीकी गौरी ओली, कैलालीकी सावित्रा ओली, सावित्रा धिमिरे, कञ्चनपुरकी इन्दु कडरिया र दार्चुलाकी हिरादेवी अवस्थी छन्।

६ जना मध्ये २ जनाको नाम एमाले स्थायी कमिटीले टुङ्गो लगाउने छ। केन्द्रीय स्कुल विभाग सदस्य दयालबहादुर शाहीको नाम चर्चामा रहेपनि प्रदेश कमिटीले सिफारिस गरेन।

समानुपातिक तर्फको कोटामा बाजुराबाट कुनै पनि उम्मेदवार सांसद बन्न नसकेको र दुर्गम पिछडिएको क्षेत्रबाट लामो राजनीतिक जीवन बिताएकी बोहरा एकल नाम सिफारिस भएपछि राष्ट्रिय सभा सदस्य बन्ने संभावना बलियो देखिएको छ।

बोहरालाई नेकपा एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य एवं प्रदेश सहसंयोजक कर्णबहादुर थापा, बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सांसद एवं एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, बैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाहको बलियो समर्थन रहेको छ।

एमाले केन्द्रीय उपाध्यक्ष एवं प्रदेश संयोजक भीमबहादुर रावलसँग पनि पुरानै राजनीति सम्बन्धका कारण बोहराको नाम छनोटमा पर्ने बलियो संभावना देखिएको एमाले वृत्तमा चर्चा छ। बोहरा बाजुरामा महिलाको तर्फबाट राजनीतिक आन्दोलन सुरु गर्नेमा पर्छन्।

नेकपा एमालेले प्रदेश नम्बर ७ बाट पाउने चार वटा कोटा मध्ये २ जना महिला र एक जना खुला पुरुष र एक जना दलित समुदायले राष्ट्रिय सभा सांसद बन्ने भएका छन्। बाजुराबाट अरु कुनैको नाम सिफारिस नहुनुले पनि बोहराको संभावना बलियो बन्दै गएको छ।

यस्तै खुला सदस्य एक सिट पाएकोमा एमालेले केन्द्रीय सदस्य महेश्वर पाठक, बिक्रम शाही र अछाम अध्यक्ष शेरबहादुर कुँवरको नाम सिफारिस गरेको छ। दलित कोटामा बैतडीका पुरनसिंह दयाल, बझाङका अफिलाल उखेडा र बैतडीकै चक्र फिनेही छन्।

प्रकाशित: ५ माघ २०७४ १५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App