coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नागरिकता किर्तेमा सिडिओको बयान लिइयो, वडाध्यक्ष र सचिव पक्राउ

रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापबाट कागजजात किर्ते गरी नागरिकता लिएको घटनाको छानविनका लागि जिल्ला प्रहरी कार्यालय रामेछापले उमाकुण्ड गाउँपालिका ७ भुजीका वडाध्यक्ष र वडा सचिवलाई ३ गतेदेखि हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

काठमाडौंका निशान जोशीलाई भुजीको स्थायी ठेगाना बनाएर निशान सुनुवारका नाममा किर्ते गरी नागरिकता जारी गरेको पाइएपछि नागरिकता लिने व्यक्ति, नागरिकता लिनका लागि योजना बनाएर सहयोग गर्ने भुजीकै हरि सुनुवार र आमा बन्ने दुनीमाया सुनुवारलाई प्रहरीले पुस २१ गते नै नियन्त्रण लिएर अनुसन्धान थालेको थियो।

किर्ते कागजातकै भरमा नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षलाई भने प्रहरीेले बुधबार हिरासतमा लिएको हो। वडाध्यक्षसँगे भुजीका वडासचिव पनि अनुसन्धानका क्रममा पक्राउ परेका छन्।  

प्रहरीले किर्ते गरी नागरिकता लिने प्रकरणमा बयान लिनका लागि नागरिकता जारी गर्ने तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापा र कागजात रुजु गर्ने प्रशासनका नायब सुब्बा विश्वनाथ रायलाई समेत बयानका लागि बोलाएर प्रारम्भिक बयान लिएको छ। थापा हाल काभ्रेपलाञ्चोकको सहायक प्रजिअ बनेर गएका छन भने रायले पनि जिल्ला प्रशासन कार्यालय रामेछाप छोडिसकेका छन्।

ब्रिटिस सेनामा भर्ना हुनका लागि धरान पुगेका निशानलाई भुजीकै हरि सुनुवारले भुजि लगेर दुनिमायालाई आमा बनाएर नागरिकता लिनका लागि भनेको र सोही अनरुप कागजात बनाएर नागरिकता दिलाएका थिए। निशानका बाबु आमाको भने कुनै ठेगान नभएपछि हरिले उनलाई किर्ते गरी नागरिकता लिन सघाएका थिए।  किर्ते गरी उनीहरुले गएको जेठ २१ गते नागरिकता लिएका थिए।

किर्ते गरी नागरिकता प्रकरणका सबै आरोपितलाई थुनामा राखी थप प्रहरीले अनुसन्धान गर्न जिल्ला अदालत रामेछापबाट म्याद थप गराइसकेको छ। थप अनुसन्धान गरी राय सुुझाबसहित जिल्ला प्रहरी कार्यालय रामेछापले अदालतमा पेश गरेपछि अदालतको फैसला के सजाय हुने भन्ने टुंगो लाग्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले बताए।

प्रकाशित: ५ माघ २०७४ १४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App