७ वैशाख २०८१ शुक्रबार
कला

भैरहवामा कार्यक्रम गरेसँगै नेपथ्यको कन्सर्ट यात्रा सकियाे

भैरहवा – मुलुकभरिबाट सोनाम ल्होसार मनाउने भक्तजनको भीड, छेवैको लुम्बिनीमा लागेको साँझ भैरहवा पनि लोक भाकामा आधारित रक संगीतमा डुब्यो। 

स्थापनाको पच्चीस वर्ष मनाउँदै यात्रामा निस्केको सांगीतिक टोली नेपथ्यले बिहीबार त्यहाँको पक्लिहवा विद्यालयको प्रांगणमा आफुलाई प्रस्तुत ग¥यो। जतिबेला तामाङ समुदायले आफ्नो मुख्य पर्व ल्होसार मनाइरहेका थिए त्यतिबेलै भैरहवाको मैदानमा हिउँको वर्षासहित तामाङबहुल लाङटाङ भेगबाटै संकलित गीत ‘भेडाको ऊनजस्तो’बजिरहेको थियो।

योसँगै पूर्वी क्षेत्र झापाबाट सुरुभएको यसपटकको नेपथ्यको कन्सर्ट यात्रा पश्चिमको अनुभवका साथ विश्राम लिएको छ। सिंगो पश्चिमी पहाडी भेगको नाका भएकै कारण भैरहवासँग नेपथ्य जोडिएको छ । गोर्खा भर्तीदेखि शिक्षा, स्वास्थ्य, तीर्थ हुँदै जीविकाका अनेक अवसरका निम्ति द्वार रहँदै आएको यो आवत–जावत मार्ग पश्चिमेली लोकभाकासँग पनि जोडिदै आएको छ । त्यसबाहेक स्वयं नेपथ्यकै कतिपय सदस्यहरुको विगत यो सिमावर्ती सहरमा बितेकाले गर्दा भैरहवा कन्सर्ट एक किसिमको आत्मीय पनि बन्न पुग्यो ।

‘पोखरा र पोखरेलीहरु जसरी भैरहवासँग जोडिएका छन् नेपथ्य पनि उसैगरी जोडिएको छ,’ कन्सर्टको अघिल्लो साँझ मात्र त्यहाँका आमा समुहले गरेको स्वागत कार्यक्रमबाट फर्केपछि नेपथ्यका मुख्य गायक अमृत गुरुङ भनिरहेका थिए, ‘मैले बाल्यकालका महत्वपूर्ण क्षण बिताएको यो सहर अहिले पनि ब्याण्डका गितारबादक निरज गुरुङको थलो हो।’

ब्याण्डको संघर्षकालीन क्षणमा समेत यस सहरमा कन्सर्ट गर्दाका टन्नै अनुभवहरु बोकेको नेपथ्यले यसपाली भने पहिलोपटक खुला आकासमुनी विशाल चौरमा आफुलाई प्रस्तुत गरेको थियो। निर्धारित समय अनुसारै बेलुकीको ठीक छ बजे कन्सर्ट सुरुभएको थियो। अन्य स्थानमाझै भैरहवामा पनि प्रारम्भ म्युजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो।

त्यस लगत्तै नेपथ्य टोली मञ्चमा प्रवेश ग¥यो। ब्याण्डले स्टेजमा सबैभन्दा पहिले नयाँ गीत ‘कुरुप अनुहार हो’ प्रस्तुत गरेको थियो। साढे तीन दशकअघि विश्वविद्यालय पढ्न कीर्तिपुर पुगेका दुई पोखरेली तन्नेरीहरु सरुभक्तको रचना र विक्रम गुरुङको संगीतमा यो गीत तयार भएको हो। पछिल्लो समय नेपथ्यले गाउन थालेपछि चर्चित बनेको यो गीत ब्याण्डको १० औं एल्बमा समावेश छ।

त्यसपछि सोनाम ल्होसारको मुडलाई आवाज दिँदै ‘भेडाको ऊनजस्तो’ सुनाउँदा मैदानभरिका तन्नेरीहरु उफ्रिरहेका देखिन्थे। तराइमा यतिखेर जारी शितलहरले गर्दा बेलुकी पक्लिहवा स्कुलको मैदान पनि हुस्सु र कुहिरोले ढपक्कै ढाकेको थियो।  यसरी हुस्सु र कुहिरोले ढाकेको अन्धकारमा बत्तीहरुको प्रभावले गर्दा स्टेजदेखि मैदानसम्म माहोल तातेको थियो। 

‘अरुबेला हामीले स्टेजमा यस्तो प्रभाव ल्याउन खर्चगरेर कृतिम धुवाँ प्रयोग गर्नुपथ्र्यो,’ ब्याण्डका ब्यवस्थापक किरणकृष्ण श्रेष्ठ भने, ‘भैरहवामा भने प्रकृतिले नै त्यस्तो वातावरण बनाइदियो ।’

यसरी सिंगो मैदानलाई हुस्सु र कुहिरोले छेकिरहेको त्यो समयमा नेपथ्यको सर्वकालिन  हिट गीत ‘छेक्यो छेक्यो’ प्रस्तुत गरिएको थियो। ‘आँगनैभरि’ गाउने बेलामा भने गायक अमृत गुरुङ र श्रोतादर्शक दुवै ब्याण्ड स्थापनाको क्षण सम्झेर भावुक भएका थिए।

ब्याण्डको पहिलो गीतका रुपमा औपचारिक घोषणा गरिएको यस गीतलाई प्रस्तुत गर्ने बेलामा पृष्ठभूमिमा स्थापनाकालीन सदस्यहरुका सम्झनारुपी तस्बिर देखाइएको थियो। त्यसपछि अमृतले एकपछि अर्कोगर्दै झण्डै बराबर मात्रामा नयाँ र पुराना गीतहरु सुनाए।

कार्यक्रमले उत्तरार्धमा पुग्दा एउटा महत्वपूर्ण मोड लियो। अघिल्लो दिन मात्रै भैरहवाको डण्डापारि क्षेत्रमा पैदल हिँड्दा भेटिएका स्थानीय मधेसी सुमुदायका तन्नेरीबारे अमृतले चर्चा गर्न थाले। आफ्ना प्रशंसकका रुपमा फेलापरेका ती तन्नेरीले उनलाई मनपर्ने गीतहरु दिएकामा अमृतप्रति आभार प्रकट गरेका रहेछन्। अमृतले तिनै युवकलाई सम्झँदै मुलुकभरका समस्त फरक फरक पहिचानका तन्नेरीहरुमा समर्पण गरेर त्यसपछि गाएको गीत थियो–‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’।

कार्यक्रममा उल्लेखनिय संख्यामा मधेसी समुदायका तन्नेरीहरुको उपस्थिती देखिन्थ्यो। तिनैमध्येका एक थिए भोजपुरीभाषी पवन गुप्ता साह। साथीहरुसँग आएका उनी घरि गीतको तालमा झुम्ने त घरि मोबाइलले अगाडिको दृश्य रेकर्ड गर्ने गरिरहेका थिए। भैरहवाकै जोगीबुटीस्थित स्काइ इन्टरनेशनलमा एमबिए अध्ययनरत साहलाई नेपथ्य मनपर्नुको कारण सोध्दा यसका गीतले नेपाली स्वाद समेटेको जवाफ दिए। मातृभाषा बेग्लै हुने समुदायले नेपाली गीतका भाव कसरी टिप्छन भनेर जिज्ञासा राख्दा उनले उल्टो अचम्म मानेर हेरे।

‘एक त संगीतसँग भाषाको खासै सम्बन्ध हुँदैन,’ नेपथ्यबाहेक अरु पनि केहि नेपाली गायक तथा ब्याण्डका प्रशंसक रहेका पवनले भने, ‘घरभित्र भोजपुरी भाषा प्रयोग गरेपनि म नेपाली हुँ र सानैदेखि नेपथ्यका गीत सुनेरै हुर्केको हुँ ।’ पवन यसरी निकै पहिलेदेखि नेपथ्यको ‘फ्यान’ भएता पनि २७ वर्षे सिकन्दर अली भने यो ब्याण्डको पहिलो अनुभव लिँदै थिए ।

‘सबैले जताततै नेपथ्य नेपथ्य भनेको सुनेपछि के रहेछ भनेर हेर्न म पनि आएको हुँ,’ ओमसथिया गाउँपालिका–४का सिकन्दरले भने, ‘बच्चा, बुढोलाई मनपर्नेदेखि सामाजिक गीतहरु समेत गाउनु हुँदो रहेछ ।’

 

...

प्रकाशित: ५ माघ २०७४ ०९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App