७ वैशाख २०८१ शुक्रबार
समाज

विस्थापित बालबालिका पढाइबाट वञ्चित

रसुवा– भूकम्पका कारण विस्थापित भएको विद्यालय सञ्चालनमा नआउँदा बालबालिका पढाइबाट वञ्चित भएका छन् । जिल्लाका तीनवटा स्थानीय तहका विस्थापित सातवटा विद्यालय सञ्चालनमा नआउँदा गाउँमा रहेका करिब डेढ सय बालबालिका पढाइबाट वञ्चित भएका हुन्। 

ती विद्यालयमध्ये डाँडागाउँको करुमर्याङ निमावि, लाङटाङको नेपाल राष्ट्रिय प्रावि, राम्चेको अनन्त स्मृति प्रावि, उत्तरगयाको भूमेदेवी प्रावि, हाकुको कालिका प्रावि, तिरु प्रावि र बालउदय प्रावि सञ्चालनमा नआएका हुन् । २०७२ वैशाख १२ गते र २९ गतेको भूकम्पले गाउँ नै विस्थापित भएपछि एक दर्जनभन्दा बढी विद्यालय विस्थापित हुन पुगेका थिए । भूकम्पको त्रास कम हुँदै गएपछि गाउँले केही महिनापछि नै गाउँ फर्किएका थिए। 

तत्कालीन समयमा गाउँले गाउँ फर्किएसँगै गाउँमा आधा दर्जन विद्यालय स्थापना भएका थिए । विद्यालय स्थापना भएका ठाउँमा गत वर्षदेखि नै पठनपाठन सुरु भएको भए पनि विद्यालय स्थापना हुन नसकेका गाउँमा भने विद्यार्थी पढाइ छाडेर बस्न बाध्य छन् । पढाइ छाड्नेमा हाकु, डाँडागाउँ र लाङटाङका बालबालिका बढी छन् । गाउँमा विद्यालय स्थापना गर्नका लागि सरोकारवाला निकायले चासो नदिँदा बालबालिकाको भविष्य अन्योलमा परेको छ। 

लाङटाङवासी सुप्पा लामाका अनुसार गाउँमा विद्यालय नभएका कारण १२ जना बालबालिकाले पढ्न पाएका छैनन् । उनले भने, ‘गाउँमा नजिकै विद्यालय छैन, भूकम्पपछि गाउँमा रहेको विद्यालय सञ्चालनमा आउन सकेको छैन, विद्यालय स्थापनाका लागि जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरिरहेका छौं ।’

विस्थापित क्याम्पमा विद्यालय स्थापनाको माग 
जिल्लाका हाकु, डाडाँगाउँ, ठूलोगाउँलगायत स्थानबाट विस्थापित भएर बोगटीटार तथा खाल्डेमा बसिरहेका विस्थापितले क्याम्पमा नै विद्यालय स्थापनाको माग गरेका छन् । तिरुबाट विस्थापित भएको कालिका प्रावि गाउँमा स्थापना गर्न लागिएको भन्दै उनीहरूले खाल्डेमा विद्यालय सञ्चालन गर्न माग गरेका हुन् । गाउँमा विद्यालय स्थापना गरेर क्याम्पमा बस्नेको भविष्य अन्धकार बनाउन नहुने उनीहरुको भनाइ छ। 

हाकुबाट विस्थापित भएर बोगटीटारमा बसिरहेका छेकु लामाले भने, ‘तिरुमा अहिले बालबालिका फर्किएका छैनन् । बालबालिका क्याम्पमा नै छाडेर अभिभावकमात्र गाउँ फर्किएका छन् । जोखिमयुक्त बस्तीमा विद्यालय स्थापना किन गर्नुप¥यो र !’ गाउँ नफर्किएका विद्यार्थी भने क्याम्पबाट नजिक पर्ने विद्यालयमा अध्ययन गरिहेका छन् भने शिक्षकलाई पनि नजिकैको विद्यालयमा राखिएको छ । धुन्चेमा रहेका तीन क्याम्पका बालबालिका रसुवा मावि तथा बोगटीटार र खाल्डेलगायत क्षेत्रमा बसिरहेकाहरू नीलकण्ठ माविमा अध्ययन गरिरहेका छन्। 

शिक्षा कार्यालय गाउँपालिकासँग छलफल गर्दै 
जिल्लामा रहेका अधिकांश कार्यालय चैत २८ गतेभित्रै खारेज हुने भएपछि जिल्ला शिक्षा कार्यालयले स्थानीय तहका पदाधिकारीसँग छलफल अघि बढाएको छ । यसअघि कार्यालयले प्रयोग गर्दै आएको अधिकार स्थानीय तहमा गएपछि कार्यालयले विद्यालय स्थापनाका लागि पहल गरेको हो । ‘गाउँपालिकामा आवश्यकताअनुसार विद्यालय पुनसर््थापित हुन्छ,’ जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले भने, ‘यसका लागि हामी छलफल गरिरहेका छौं ।’ जिल्लाको विकट क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई पढ्नका लागि अन्य विद्यालय जान सहज नहुने भएपछि विस्थापित विद्यालय पुनःस्थापना गर्नैपर्ने उनको भनाइ छ। 

जिल्लामा ७ वटा विद्यालय विस्थापित भएको र दुईवटा विद्यालय मर्ज भएपछि जिल्लामा अहिले ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। 

प्रकाशित: ५ माघ २०७४ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App