coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'आत्मघातीको छातीमै बम थियो'

जुबेर बाबाकार्खेइल/पत्रकार

काबुल (अफगानिस्तान)- जलालाबाद मूलसडकबाट काबुलको पुल–ई–पाचा जाने सानो सडक छ, अलि पर गएपछि पेट्रोलपम्प आउँछ। त्यसको पूर्वपट्टि नेपाली सुरक्षागार्डहरूको आवासगृह छ। आवासगृह गेटको दायाँपट्टि केही पसल छन्।

सोमबार बिहान स्थानीय समयअनुसार ५:४० बजे क्यानेडियन दूतावास तथा विभिन्न संघसंस्थामा काम गर्ने नेपाली सुरक्षागार्डलाई लिएर मिनिबस गेटबाट निस्केको मात्र के थियो, केहीबेरमै तालिबान आत्मघातीले बसमाथि बम प्रहार गर्‍यो। 'त्यहाँ ठूलो संख्यामा हताहती भयो रे, सुरक्षा गार्डका रूपमा काबुलमा कार्यरत नेपाली तथा अफगानी नागरिक मारिए रे,' केही मिनटपछि नै यो समाचार सन्सनी फैलियो।

बिहान सबेरै भएकाले सहर पूरै उठिसकेको थिएन। यो दुःखद खबरसँगै सबैमा त्रास फैलियो। के भयो, कसो भयो भन्दै मैले बुझ्न थालेँ। केहीबेरमै प्रहरीले पुष्टि गर्‍यो– आतंककारी बम आक्रमणमा दर्जनभन्दा बढी नेपाली सुरक्षागार्ड घटनास्थलमै मारिए। आधा दर्जनभन्दा बढी नेपाली तथा अफगानी नागरिक गम्भीर घाइते भए। मैले आफू कार्यरत अमेरिकी तथा जापानी अखबारका लागि स्थलगत रिपोर्ट बनाउने निधो गरेँ। केही समययता काबुल तथा आसपास क्षेत्रमा शृंखलाबद्ध बम विष्फोटका घटना भइरहेकाले झट्टपट्ट बाहिर हिँड्ने हिम्मत गरिनँ।

त्यो क्रुर घटना भएको करिब २ घन्टामा म त्यस क्षेत्रमा पुगेँ। घटनालगत्तै डिस्ट्रिक–९ का प्रहरीले त्यस क्षेत्रलाई 'सिल' गरिसकेका रहेछन्। घटनास्थलबाट डिस्ट्रिक–९ को मुख्यालय सय मिटर मात्र टाढा छ।

हामीलाई  सडक पार गरेर घटना भएको मुख्य स्थान जान सुरक्षाकर्मीले रोके। त्यतिखेरसम्म त्यहाँ बारुदको गन्ध ह्वास्सै फैलिइरहेको थियो। पहेलो रंगको मिनिबसलाई आतंककारीले तारो बनाएको थियो। बसको झ्यालका सिसा पूरै फुटेका थिए। बस रगताम्मे भएजस्तो देखिन्थ्यो। सडकमा पनि प्रस्ट रूपमा रगतका टाटा देख्न सकिन्थ्यो।  अलि वरैबाट देखेँ, प्रहरी बसबाट शव निकालिरहेका थिए। मैले अन्तिमका तीनवटा शव निकालिरहेको देखेँ। यसअघि नै प्रहरीले घाइतेलाई अस्पताल पुर्‍याइसकेको रहेछ।

घटनास्थलनजिकैका घर तथा पसलका झ्यालका सिसासमेत फुटेका थिए, ढोका भत्किएका थिए। केही बेरपछि काबुल वारुणयन्त्रको ट्यांकर आइपुग्यो, सडकमा लतपतिएको रगत पखाल्न पानी खन्यायो। रगतमिश्रित रातो पानी ढलमा गएर मिसियो। मैले नजिकैका एक पसलेसँग कुरा गरेँ। 'घटना भएको बेला म पनि नजिकै थिएँ, धन्य मेरो दिन आएको रहेनछ, ज्यान बच्यो,' ती पसलेले हतास भावमा मलाई सुनाए। उनका अनुसार केहीबेर पहिलेदेखि नै आक्रमणकारी अनुहार ढाकेर त्यहीँ उभिइरहेका थिए। आवासगृहको ढोका खुलेर मिनिबस बाहिर आउनासाथ त्यो व्यक्तिले दौडँदै बसतिर गएर 'सुसाइड भेस्ट' मा राखिएको बम प्रहार गर्‍यो। यसरी अमानवीय  हमलामा परी ठाउँको ठाउँ नेपालीको चोला उठ्यो, अफगानी तथा नेपाली नागरिक गम्भीर घाइते भए।

अधिकांश नेपाली अन्तर्राष्ट्रिय सेक्युरिटी कम्पनीमार्फत् काबुलमा कामको लागि आउने गर्छन्। उनीहरूले अन्तर्राष्ट्रिय सहयोग नियोग, विभिन्न देशका दूतावास, गैरसरकारी संस्थामा काम गर्छन्। मारिएका नेपाली 'द साब्रे इन्टरनेसनल सेक्युरिटी कम्पनी' मार्फत् सुरक्षा गार्डका रूपमा काम गर्न यहाँ आएका हुन्। मृतक क्यानेडियन दूतावास सुरक्षामा रहेको भनिए पनि अफगानी अधिकारीले यसको पुष्टि गरेका छैनन्।

सोमबार केही समयपछि नै काबुलको अवस्था सामान्य भयो। काबुल–जलालाबाद मुख्य सडक तथा सानो पुल–ई–पाचा सडकमा पनि केही घन्टाभित्रै ट्राफिक व्यवस्था सामान्य भयो। काबुलमा यस्ता आक्रमण तथा घटना भइरहन्छन्। एउटा सडकमा बम विष्फोट भइरहेको हुन्छ, अर्को सडकमा मज्जाले व्यापार चलिरहेको हुन्छ। बम विष्फोटजस्ता आतंकवादी घटनाप्रति सर्वसाधारण अभ्यस्त भएको जस्तो लाग्छ।

यो घटना अत्यन्त दुःखदायी छ। यो रमादानको महिना हो। मुस्लिम धर्मावलम्बी यस समयमा व्रत बस्ने गर्छन्। व्रतका बेला मान्छे मारिएको खबर सुन्दा मानिसलाई नरमाइलो लाग्छ। यस्तै अनुभव गरे यहाँका सर्वसाधारणले। अफगानिस्तानको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै आत्मघाती आक्रमणकारीले गराएको बम विष्फोटमा १४ जना नेपाली नागरिक मारिएको, ५ नेपाली तथा ४ अफगानी नागरिक गम्भीर घाइते भएको पुष्टि गरेको छ।

घटनास्थलबाट फर्केपछि मैले विभिन्न देशका पत्रकार साथीहरूलाई घटनाबारे जानकारी दिएँ। मैले आफू कार्यरत अमेरिकी अखबार 'स्टार्स एन्ड स्ट्रिप्स' का लागि समाचार बनाउनतिर लागेँ। 'अत्यन्त दुःखद घटना, घरपरिवार तथा साथीभाइ छाडेर रोजीरोटी जुटाउन विदेश आएका नेपालीहरूको के दोष थियो, आखिर उनीहरू आतंकवादीको निसानामा परे,' समाचार टाइप गर्दागर्दै एकछिन रोकिएँ। र, नेपालमा रहेका उनीहरूका परिवार सम्भि्कएँ।

(नागरिकका  छत्र कार्कीले अफगानिस्तानको राजधानी काबुलस्थित पत्रकार जुबेर बाबाकार्खेइलसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: ७ असार २०७३ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App