८ वैशाख २०८१ शनिबार
अर्थ

चीनतर्फको निर्यात ७८ प्रतिशतले वृद्धि


काठमाडौं-चालु आर्थिक वर्षको पहिलो पाँच महिनासम्ममा चीनतर्फका निर्यात उल्लेख्य वृद्धि हुँदा भारततिर भने त्यसअनुसार हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले निकालेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा चीनतर्फको निर्यात ७८.४ प्रतिशतले वृद्धि भएको छ भने भारत तर्फ ५.५ प्रतिशतमात्र वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै चीनतर्फको निर्यातमा उल्लेख्य वृद्धि हुँदै गएको छ । पहिलो र दोस्रो महिनामा भारततर्फको निर्यात घटेकोमा त्यसपछि भने केही मात्रामा वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।  

अघिल्लो महिना चीनतर्फको निर्यात ३३.५ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी, तेस्रो महिनामा २७.७, दोस्रो महिना ४४.७ र पहिलो महिना ११.३ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फको निर्यात भने पहिलो महिनामा १०.१ र दोस्रो महिना ३.३ प्रतिशतले निर्यात घटेको थियो । त्यसपछिका तेस्रो र चौथो महिनामा क्रमशः ३.२ र २ प्रतिशतमात्र निर्यातमा वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

चालु आर्थिक वर्ष ०७४÷७५ को पहिलो पाँच महिनासम्ममा कुल वस्तु निर्यात १० प्रतिशतले वृद्धि हुँदै ३३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा १७.१ प्रतिशतले वृद्धि भएको थियो ।
तथ्यांक अनुसार पशुआहार, वनस्पति घिउ, धागो, जिंक सिट, तयारी पोसाक लगायत वस्तुको निर्यात बढेको छ । जुस, अलैंची, जिआई पाइप, ऊनी गलैंचा, तामाका तार लगायत वस्तुहरूको निर्यात घटेको छ ।

पाँच महिनाको अवधिमा आयात १२.८ प्रतिशतले बढेर चार सय ३१ अर्ब ४९ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आयात ७८.९ प्रतिशतले बढेको थियो । यो अवधिमा भारतबाट भएको आयात १३.२ प्रतिशत र चीनबाट भएको आयात १.४ प्रतिशतले वृद्धि भएको छ  । छिमेकीबाहेक अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधत तथा पार्टपुर्जा, सुन, एमएस बिलेट, पोलिथिन ग्रेनुअल्स लगायत वस्तुको आयात बढेको छ । कृषि औजार तथा पार्टपुर्जा, विद्युतीय सामान, सेनेटरीवेयर्स, खानेतेल, ड्राइसेल ब्याट्री लगायत वस्ुतको आयात घटेको छ ।
भैरहवा, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगन्ज, मेची, कैलानी कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाट हुने निर्यात वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अन्य भन्सार नाकाबाट भएको निर्यातमा भने कमी आएको छ ।

त्यसैगरी, आयातर्फ यस अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कञ्चनपुर र रसुवा भन्सार कार्यालबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयात वृद्धि भएको छ ।
पाँच महिनाको अवधिमा कुल वस्तु व्यापार घाटा १३ प्रतिशतले बढेर तीन सय ९७ अर्ब ७९ करोड पुगेको छ । साथै, यस अवधिमा निर्यात–आयात अनुपात ७.८ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो अनुपात ८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको समग्र शोधनान्तर ९ अर्ब २७ करोडले घाटामा गएको छ । आयातमा उच्च वृद्धि र वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्समा कमी हुँदा चालु खाता घाटा ४१ अर्ब ९५ करोड पुगेकोले समग्र शोधनान्तर घाटामा गएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार देशको वैदेशिक मुद्रा सञ्चिति सुविधाजनक अवस्थामा रहेकाले बाह्य क्षेत्र स्थायित्व सबल अवस्थामा रहेको छ ।चालु आर्थिक वर्षको पाँच महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक वार्षिक बिन्दुगत आधारमा ०.४ प्रतिशतले घटेको र आयात मूल्य सूचकांकका ४.९ प्रतिशतले वृद्धि भएकाले व्यापारको सर्तमा ५.३ प्रतिशलते ह्रास आएको राष्ट्र बैंकले उल्लेख गरेको छ । गत वर्षको सोही महिनामा यस्तो सर्त १२.६ प्रतिशतले बढेको थियो ।

कार्पेट, पस्मिना, अलैंची, घिउ, मुसुरोको दालको निर्यात मूल्यमा ह्रास आएको कारणले निर्यात मूल्य सूचकांकमा कमी आएको  र पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटपको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकांक बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।    

    

प्रकाशित: ५ माघ २०७४ ००:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App