coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर र दक्षिण कोरिया एउटै झण्डामा मार्च गर्न तयार

सोल – उत्तर र दक्षिण कोरिया उनीहरु दुई देशका रुपमा टुक्रिएपछि पहिलो पटक एउटै झण्डामा मार्च गर्न सहमत भएको समाचार छ। आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देशले एउटै झण्डामा मार्च गर्न सहमत भएको बताइएको छ।

उत्तर कोरियाले दक्षिण कोरियामा हुन लागेको उक्त शीतकालीन ओलम्पिकमा आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारीहरु पठाउने जानकारी यसअघि नै दिइसकेको छ। उक्त ओलम्पिक खेलमा सहभागिताका लागि उत्तर कोरियाली केही उच्च अधिकारी र पत्रकारहरु पनि जाने भएका बताइएको छ। यसरी उत्तर कोरियाली प्रतिनिधिमण्डल ठूलो हुने भएको समाचारमा जनाइएको छ।

दक्षिण कोरियाले यस खेलकूदमा उत्तरले बढी भन्दा बढी खेलाडी र अधिकारीहरु पठाओस र जसले गर्दा दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन सकियोस भन्ने आग्रह गरेको थियो। उक्त आग्रहजस्तै उत्तर कोरियाले खेलाडी र अधिकारी पठाउने भएको हो। यतिमात्र नभएर उत्तर र दक्षिण कोरियाले उक्त खेलकूदमा एउटै अथवा संयुक्त झण्डामा सँगसँगै मार्च गर्न सहमति जनाएकोले उक्त खेलकूदलाई एक किसीमले भन्दा सौहार्द वातावरणको रुपमा लिन सकिने पर्यवेक्षकहरुले जनाएका छन्।

यसका साथै युद्धविराम गाउँका रुपमा चिनिने पाममुनजोममा जनवरी ९ मा भएको एक उच्चस्तरीय कोरिया वार्तापछि तिनीहरुले आइस हकी खेलको महिला तर्फको प्रतिस्पर्धामा संयुक्त टोली समेत प्रस्तुत गर्ने सहमति पनि जनाएका छन्।

यी दुई देशबीच यो स्तरको वार्ता करिब २ वर्षयता पहिलो पटक भएको थियो। सो वार्ताले सकारात्मक वातावरण निर्माण गरेपछि यसै हप्ता पनि दुई देशका अधिकारीहरुबीच कार्य समूहको अर्को वार्ता पनि भएको थियो।

यी दुई वार्तापछि उत्तर कोरियाले सो ओलम्पिक खेलमा आफ्ना खेलाडी पठाउन सहमत भएको थियो। यससँगै दुई वर्षयता पहिलो पटक यी दुई देशबीच शान्तिपूर्ण समझदारीको विकास पनि हुन पुगेको बताइएको छ।

यसरी विकसित सम्बन्धलाई जापानले शङ्कास्पद रुपमा हेरेको बताइएको छ। उता दुवै देशका तर्फबाट एक खेलमा संयुक्त खेलाडी प्रस्तुत गरिएको घटनालाई दक्षिण कोरियाका परम्परावादी समाचारमाध्यम र केही उच्च पदस्थ अधिकारीले पनि त्यसो नगर्न भनेका छन्।

उनीहरुले उत्तर कोरियालाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले बढी महत्व दिएको भन्दै त्यसो नगर्न उनको ध्यानाकर्षण गराउन दश हजार जना भन्दा बढी नागरिकले अनलाइन हस्ताक्षर पनि बुझाएको बताइएको छ।

उत्तर कोरियाको सैन्य परेड

यता उत्तर कोरियाले भने सो खेलकूदको अघिल्लो दिन अर्थात फेब्रुअरी ८ मा आफ्नो देशको दक्षिणतर्फको सिमानानजिकै ठूलो सङ्ख्यामा सैनिक परेडको आयोजना गर्ने भएको छ। उत्तर कोरियाले आफ्ना कम्तीमा पनि १२ हजार जना सैनिक सम्मिलत एक परेडको आयोजना गरेको बताइएको छ।

उक्त सैनिक परेडमा उत्तर कोरियाली सेनाको कला कौशलका साथै हातहतियारहरुको पनि प्रदर्शनी गरिने जनाइएको छ। आफ्नो सेनाको बल प्रदर्शनका लागि उक्त खेलकूदको अघिल्लो दिन पारेको र सो दिनलाई उत्तरले आफ्नो सैन्यबल स्थापनाको ७० औँ स्थापना दिवसका रुपमा पनि लिएको छ।

प्रकाशित: ४ माघ २०७४ १५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App