७ वैशाख २०८१ शुक्रबार
राजनीति

रुकुममा एमालेले १८ वर्षपछि सांसद् पायो

रुकुम – २०४८ सालको चुनावमा नेकपा एमालेले संयुक्त जनमोर्चालाई सघायो। २०५६ सालको चुनावमा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी नेत्री तिर्था गौतम बिजयी भइन्। त्यसयता भएका चुनाव २०६४, २०७० सालमा एमालेले कुनैपछि सिट जित्न सकेन्। रुकुमको मत कमजोर भएको भन्दै समानुपातिकमा समेत समावेश हुन सकेन्। तर, हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभाको चुनावपछि नेकपा एमालेले प्रदेश सांसद् १८ वर्षपछि दोहो-याउने मौका पाएको छ। पश्चिम रुकुमबाट देबी ओली र पूर्वी रुकुमबाट प्रदेश सभामा समानुपातिक तर्फबाट आशा स्वर्णकारले १८ वर्षपछिको खुशी फर्काएका हुन्।

नेकपा एमाले र नेकपा माओवादीको गठबन्धन निर्माण भएपछि यहाँ प्रत्यक्षतर्फ नेकपा एमालेले सबै सिटमा नेकपा माओवादी केन्द्रलाई सघाएको थियो। निर्वाचन आयोगले विहीबार सार्वजनिक गरेको समानुपातिक सूचीअनुसार पूर्वी र पश्चिम रुकुममा एमालेले एक/एक प्रदेश सांसद पाएको छ। देशभरि अपेक्षाकृत नतिजा आएपछि नेकपा एमाले रुकुमले प्रदेश सासंद् पाएको हो। ‘यति लामो अन्तराल पछि हामीले सांसद् पाएका छौं’, नेकपा एमाले जिल्ला अध्यक्ष बिमल पुनले भने, ‘यो ऐतिहासिक क्षणमा हामीहरु निकै खुशी भएका छौं।’

माओवादीको युद्धका कारण पहिले गाउँ गाउँ गएर संगठन निर्माण गर्न नसकेको भन्दै उनले थपे, ‘त्यसको घाटा २०६४ र ०७० सालको चुनावमा व्यहोर्नु प-यो। चुनावबाट पटक पटक हार व्यहोर्न थालेपछि हामी संगठन विस्तारमा केन्द्रित भयौ फलस्वरुप आज एउटा सफलता मिल्यो।’

समानुपातिकतर्फ जिल्लामा नेकपा माओवादी केन्द्र पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो भएका छन्। २०६४ देखिका चुनाव नेकपा माओवादीले एकलौटी जित्दै आएको छ। २०७० सालको चुनावमा भने नेपाली कांग्रेसले एउटा समानुपातिक सांसद् पाएको थियो। अहिले पूर्वी र पश्चिम रुकुमबाट समानुपातिक तर्फबाट एक/एक सांसद् पाएपछि कार्यकर्ताहरु हर्षित भएका छन्। नेकपा एमालेले २०४८ सालमा पनि जनमोर्चालाई सघाएको थियो। जनमोर्चाका खड्कबहादुर शर्माले जितका थिए भने क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका गोपालजी जंग शाहले जितेका थिए। यति लामो रिक्तताको अन्त्य गर्दै नेकपा एमाले रुकुमले अहिले भने सांसद् पाउन सफल भयो।

अब राजनीतिक तथा सांगठनिक क्षेत्रमा अझ एमालेलाई टेवा पुग्ने यहाँका नेता तथा कार्यकर्ताहरुको विश्वास छ। हाल यहाँ पार्टीका २६ सय सांगठनिक कार्यकर्ता छन्। नेकपा एमाले रुकुमले महिला उम्मेदवार बनाएपछि अझ समानुपातिकमा सहयोग पुगेको हो। पुरुष सिफारिसमा परेको भए एमालेलाई सांसद् पाउन निकै कठिन देखिएको थियो।

प्रतिनिधि सभामा भने पुनः तिर्था गौतमको नाम चर्चामा छ। महिलाको संख्या पु-याउनुपर्ने बाध्यकारि भएपछि उनको नाममा चर्चा भएको हो। उनी सहिद परिवारको श्रीमती र पार्टी भित्र जुझारु र कर्तव्यनिष्ट भएकाले उनलाई एमालेले समानुपातिक सूचीमा राखेको बताइन्छ।

प्रकाशित: ४ माघ २०७४ १४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App