६ वैशाख २०८१ बिहीबार
समाज

हात्तीले चुलाचुलीमा १० घर भत्कायो

इलाम – जंगली हात्तीको समूहले जिल्लाको चुलाचुली गाउँपालिकामा १० वटा घर भत्काएको छ । ३ बिघामा लगाएको बाली पूर्णक्षति गरेको छ भने ४० भन्दा बढी परिवार हात्ती आक्रमणको जोखिममा परेका छन्। 

नजिकैको जंगलबाट आएको हात्तीको बथानले घर भत्काउँदा बुधबार रातिसम्ममा चुलाचुली गाउँपालिका ४ र ५ का ५ परिवार विस्थापित भएका छन् । घर भत्काएका बाँकी परिवार र जोखिममा रहेका थप परिवारलाई गाउँपालिकाले घरमा नबस्न उर्दी गरेको छ । 

हात्तीले चुलाचुली–५ का ललितकेन्द्र राई, मनु राई, सञ्जय बस्नेत, होमनाथ अधिकारी, नेत्रप्रसाद बाँस्कोटा, वडा ४ का पदमकुमार एवा, मानबहादुर लिम्बू, सुमन लिम्बू, चन्द्रकुमार लिम्बू र नरबहादुर भुजेलको घर भत्काएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल खतिवडाले बताए । ‘ललितकेन्द्र, मनु, सञ्जय, मानबहादुर र सुमनको घर पूर्ण रूपमा ध्वस्त भएको पाइयो,’ घटनास्थल निरीक्षण गरेर फर्केका खतिवडाले भने, ‘पूर्ण रूपमा घर क्षति भएका परिवार छिमेकीकहाँ शरण लिएर बसेका छन् । चन्द्रकुमारको घरको किचन भत्काएको र टेकबहादुर दाहालको घरमा पनि क्षति गरेको रहेछ ।’ 

हात्तीले गाउँका ४० भन्दा बढी परिवार जोखिममा रहेपनि केही परिवारलाई घरमा नबस्न आग्रह गरेको उनले बताए । ‘पुस २६ गतेभन्दा पछि दिनहुँ हात्ती गाउँमा आएर क्षति गरिरहेकाले केही परिवारलाई घरमा नबस्न भनेका छौं,’ उनले भने, ‘यहाँको २० बिघाभन्दा बढी जमिनमा घर बनाएका बासिन्दाले हात्तीका कारण गाउँ छाड्नुपर्ने अवस्था देखिन्छ ।’ विस्थापितलाई स्थानीय क्लबले बिहीबार चामल र भाँडाकुँडासमेत राहतका रूपमा दिएका छन् । चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले पीडितकहाँ पुगेर उनीहरूलाई राहत वितरण गरे ।

झापाको बेलडाँगीछेउ हम्सेदुम्से वनबाट आएका ७ जंगली हात्तीले गाउँमा आतंक मच्चाएको खतिवडाले बताए । ‘त्यो जंगलमा ७ वटा हात्तीको बासस्थान रहेको र हरेक वर्ष गाउँ पसेर कुनै न कुनै क्षति गरेको स्थानीयले गुनासो गरे,’ उनले सुनाए, ‘वडा ५ का टेकबहादुर बस्नेतको २ कठ्ठामा लगाएको बाली पूर्ण क्षति गरेको र यही वडाका होमनाथ अधिकारीको घरभित्रै हात्ती पसेको पनि थाहा पाइयो ।’ अघिल्ला वर्षहरूमा पनि जंगली हात्तीको आक्रमणमा परी चुलाचुलीका बासिन्दाले ज्यानसमेत गुमाएका थिए । पुनः हात्ती आउन थालेकाले सर्वसाधारण आतंकित भएको निरीक्षण टोलीमा गएका मनकुमार गदालले जानकारी दिए । 

प्रकाशित: ४ माघ २०७४ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App