प्रदेश प्रमुख र राजधानी तोकिए

बिहिबार, ०४ माघ २०७४, ०८ : १७ प्रकाश तिमल्सिना  | @prakashujyalo

काठमाडौं-सरकारले लामो रस्साकस्सी र विवादबीच बुधबार प्रदेश अस्थायी केन्द्र (राजधानी) र प्रदेश प्रमुख तोकेको छ ।मन्त्रिपरिषद्को बुधबार बिहानको बैठकमा सहमति हुन नसकेपछि पुनः अपराह्न बसेको बैठकले प्रदेश अस्थायी केन्द्र र प्रमुख तोकेको हो । नेपालको राजनीतिक इतिहासमा पहिलोपटक संघीय संरचनालाई अंगीकार गर्दै प्रदेश राजधानी र प्रमुख तोकिएको हो

‘संविधानतः पाएको अधिकार प्रयोग गर्दै मन्त्रिपरिषद्ले सहमतिका आधारमा प्रदेशहरूको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने काम गरेको छ’, कानुनमन्त्री यज्ञबहादुर थापाले भने, ‘यसले संघीयता कार्यान्वयनको बाटो खुलाउँदै लगेको छ, अब मुलुक संघीय संरचनामा औपचारिक रुपमा प्रवेश गरेको छ ।’
सरकारले सरकारबहिर रहेका एमाले र माओवादी केन्द्रसँग गरेको सहमति प्रयास सफल हुन नसकेपछि आफ्नो अधिकार प्रयोग गरी प्रदेश राजधानी र प्रदेश प्रमुख तोकेको हो । सरकारले  प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को हेटांैडा, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवल, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीलाई अस्थायी राजधानी तोकेको छ ।

मन्त्रिपरिषद् प्रदेश १ को राजधानी धनकुटा तोक्ने कि विराटनगर भन्ने विषयमा विवाद भएको थियो । उद्योगमन्त्री सुनीलबहादुर थापाले धनकुटालाई प्रदेश राजधानी बनाउन जोड गरेका थिए भने उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले  विराटनगरलाई बनाउनुपर्ने अडान राखेपछि विवाद भएको थियो । विराटनगर राजधानी तोकिएलगत्तै धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको छ ।

त्यस्तै प्रदेश ५ को राजधानी बुटवल तोक्ने कि दाङ भन्ने विषयमा पनि मन्त्रिपरिषद् विवाद भयो । स्रोतका अनुसार एमाले नेता विष्णु पौडेल, बालकृष्ण खाँडलगायतको दबाबमा प्रदेश ५ को राजधानी बुटवल तोकिएको हो । दाङमा राजधानी तोक्नुपर्ने भन्दै आन्दोलन जारी छ । मन्त्रिपरिषद् प्रशासनिक समितिले दाङलाई राजधानी बनाउन सिफारिस गरेको थियो ।प्रदेश २ को राजधानी वीरगन्ज बनाउनुपर्ने माग राखेर अनशन जारी रहेकै बखत जनकपुरलाई तोकिएको हो । कांग्रेस, राजपा र संघीय फोरमबीच भएको सहमतिअनुसार प्रदेश २ को राजधानी जनकपुर तोकिएको मन्त्रिपरिषद् स्रोतले बतायोे।

मन्त्रिपरिषद् प्रशासनिक समितिले प्रदेश ३ को राजधानी सानोठिमी भक्तपुरलाई बनाउन सिफारिस गरेको भए पनि उपप्रधानमन्त्री थापाको जोडबलमा उनकै गृहजिल्ला हेटाैडा तोकिएको छ ।
अन्तिममा सहमतिमै सबै प्रदेशको राजधानी तोकिएको खानेपानी तथा सरसफाइमन्त्री महेन्द्रराय यादवले बताए । ‘आआफ्नो स्थानलाई राजधानी बनाउन लबिङ गर्ने र अडान राख्नु स्वाभाविक हो तर सहमतिमै यो निर्णय लिइएको हो’, मन्त्री यादवले भने ।

देउवा सरकारले अस्थायी राजधानी तोके पनि धनकुटा, दाङ, वीरगन्ज र डोटीमा राजधानी माग्दै आन्दोलन जारी छ । सरकारको निर्णयलगत्तै विभिन्न ठाउँमा प्रदर्शन भएका छन् ।  दाङलाई राजधानी बनाउनुपर्ने माग राख्दै मंगलबार र बुधबार जिल्ला बन्द गरियो । धनकुटा, वीरगन्ज, डोटीमा पनि अनशनलगायत आन्दोलनका कार्यक्रम जारी छन् ।सरकारले प्रदेश अस्थायी केन्द्र तोकेर प्रदेशसभा सदस्यलाई शपथ गराउने बाटो खोलिदिएको छ । सरकारको निर्णयलगत्तै, निर्वाचन आयोगले पनि प्रदेशसभा समानुपातिक सांसदमा विजयी हुनेको नाम सार्वजनिक गर्ने घोषणा गरेको छ ।

मन्त्रिपरिषद्ले सातवटै प्रदेशको प्रमुख पनि तोकेको छ । प्रदेश १ मा डा. गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्र्रदेश ५ उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहन मल्ललाई प्रदेश प्रमुख तोकिएको छ । एमाले र माओवादीको सहमतिमा प्रदेश प्रमुख तोक्ने प्रयास असफल भएपछि सरकारले एकलौटी रुपमा जिम्मेवारी तोकेको हो ।

‘एमाले र माओवादीसँग सहमतिका आधारमा प्रदेश प्रमुख तोक्ने प्रयास गरेका थियौं तर त्यो सम्भवः नभएपछि सरकार आफैंले तोकेको हो’, कानुनमन्त्री थापाले भने । सरकार प्रमुखमा  कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपालबीच भागबन्डा भएको छ । कांग्रेसको कोटाबाट सुब्बा, कोइराला, कुँवर, खनाल र मल्ल परेका हुन । राजपा कोटाबाट प्रमुख तोकिएका झा सो पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन् । कायस्थ संघीय समाजवादी फोरमको सिफारिसमा प्रमुख तोकिएका हुन् । उनलाई फोरमले प्रतिनिधिसभा समानुपातिकतर्फको उम्मेदवार बनाएको छ ।

‘भविष्य अन्योल’
काठमाडौं – सरकारले पाँच वर्षका लागि प्रदेश प्रमख तोके पनि उनीहरूले पूरा अवधि काम गर्न नपाउने देखिएको छ ।आगामी महिना नयाँ सरकार गठन गर्ने तयारीमा रहेका वाम गठबन्धनका नेताले सरकारले बिनासहमति प्रदेश प्रमुख तोकेकाले उनीहरुको भविष्य अन्योल भएको बताएका छन् ।

सरकारले सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त नगरेको भन्दै एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘उनीहरूको भविष्य के हुने भन्ने विषयमा नियुक्ति गर्नेहरुले नै सोच्नुपर्ने हो । प्रदेश प्रमुख सरकार र राष्ट्रपतिको प्रतिनिधि हुने हुनाले नयाँ सरकारले त्यसैअनुसार निर्णय गर्नेछ ।’  ज्ञवालीले अहिले तोकिएका प्रदेश प्रमुखहरुले नयाँ सरकारको प्रतिनिधित्व गर्न नसक्ने बताए ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पनि अहिले तोकिएका प्रदेश प्रमुखहरूको भविष्यबारे नयाँ सरकार गठन भएपछि छलफल हुने बताए । ‘नयाँ सरकारका नबनेको अवस्थामा प्रदेश प्रमुखहरूको बारेमा टिप्पणी गर्नु त्यति राम्रो होइन,’ गजुरेलले भने, ‘तर सरकारले निर्णय गर्दा वाम गठबन्धनसँग सहमति गरेको छैन । नयाँ सरकार बनेपछि यस विषयमा छलफल हुनेछ ।’

संविधानको धारा १६५ मा तीन कारणले प्रदेश प्रमुख पद रिक्त हुने उल्लेख छ । प्रदेश प्रमुखले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा, प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सोअगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा, मृत्यु भएमा पद रिक्त हुने व्यवस्था छ ।

एमाले सचिव योगेश भट्टराईले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिएको विषयमा टिप्पणी गर्न आवश्यक नरहेको बताए । ‘यो सरकारले नभएको अधिकार प्रयोग गर्यो । आउने सरकारले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छ । कुरा त्यतिमात्रै हो,’ भट्टराईले ट्विट गरेका छन् ।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad