७ वैशाख २०८१ शुक्रबार
अर्थ

इन्धनमा स्वचालित मूल्य प्रणाली कार्यान्वयन

काठमाडौं – नेपाल आयल निगमले व्यावसायिक योजना अनुसार पूर्ण रुपमा स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट १५–१५ दिनमा आउने मूल्य सूची अनुसार मूल्य समायोजन गर्न लागेको हो ।

सोही योजना अनुसार दुई महिनामा चारपटक मूल्य समायोजन गरेको छ ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि निगमले बुधबार पेट्रोल र डिजेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य बढेर प्रतिलिटर एक सय तीन रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७१ रुपैयाँ पुगेको निगमले जनाएको छ । पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दुई रुपैयाँ मूल्य बढाएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । बढेको मूल्य बुधबार राति १२ बजेटबाट कार्यान्वयनमा आएको छ ।

 मूल्य बढाए पनि निगमलाई मासिक ३८ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । निगमलाई डिजेलमा प्रतिलिटर तीन रुपैयाँ ५३ रुपैयाँ घाटा र पेट्रोलमा दुई रुपैयाँ ६७ पैसा नाफा छ ।अन्य इन्धनको मूल्य भने यथावत छ । ग्यास सिलिन्डर १३ सय ७५ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ र अन्र्तराष्ट्रिय प्रतिकिलोलिटर ९ सय डलर छ । निगमलाई हवाई इन्धनमा नाफा भए पनि ग्यासमा प्रतिसिलिन्डर दुई सय आठ रुपैयाँ ३० पैसा घाटा बेहोरिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य घटबढ अनुसारै मूल्य समायोजन गर्न थालिएको निगमले जनाएको छ । पछिल्लो समय हरेक १५–१५ दिनमा मूल्य समायोजन गरिएको निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले बताए । ‘निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरेको छ,’ भट्टराईले भने, ‘अब मूल्य बढ्दा बढाउने र घट्दा घटाउछौं ।’

विगतमा मूल्य बढाउँदा चौतर्फी आलोचना हुने गरेकाले निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउन सकेको थिएन । २०७१ भदौदेखि स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने प्रयास गरे पनि सफल हुन सकेको थिए । स्वचालित मूल्य प्रणालीमा गएपछि निगम करिब ३६ अर्ब रुपैयाँ ऋण तिरेर नाफामा गएको थियो । नाफा कमाउन थालेपछि निगमले पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ ।
भारतमा पेट्रोलियमको पदार्थको मूल्य बढेकाले नेपालमा पनि बढेको हो । तर, नेपालमा अझै पनि भारतमा भन्दा सस्तो छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलर पुगेको छ । तेल उत्पादक मुलुकहरूको साझा संस्था (ओपेक) ले उत्पादन कटौती गरेकाले पनि मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २१ रुपैयाँ ४६ पैसा, डिजेल २७ रुपैयाँ ३८ पैसा, हवाई इन्धन आन्तरिकतर्फ लिटरमा नौ रुपैयाँ ४३ पैसा सस्तो रहेको निगमले सोमबार सार्वजनिक गरेको मूल्य विश्लेषणमा उल्लेख छ । भारत सरकारले विभिन्न शीर्षकमा आन्तरिक कर लगाएकाले त्यहाँ महँगो भएको हो । नेपालमा भन्दा भारतमा महँगो भएकाले इन्धन चोरी निकासी हुने सम्भावना रहेको निगमका अधिकारी बताउँछन् । केही समयअघि पूर्वमा चल्ने एक ट्यांकरले भारतमै तेल बेचेर आएको थियो ।

खुला सीमाबाट पेट्रोलियम पदार्थ तस्करी भएर जाने गरेको छ ।  हवाई इन्धन भने नेपालमा भन्दा भारतमा सस्तो छ । हवाई इन्धन नेपालमा भन्दा भारतमा प्रतिलिटर २१ रुपैयाँ ७० पैसा सस्तो छ ।मूल्य बढ्दा समायोजन गर्ने निगमले मूल्य घट्दा समायोजन नगरेको भन्दै आलोचना हुने गरेको छ । सरकारी स्वामित्वको निगमले कमाएको नाफालाई सही सदुपयोग हुन नसकेकाले पनि निगम समय–समयमा विवादमा तानिने गरेको छ ।

 

 

प्रकाशित: ४ माघ २०७४ ०१:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App