७ वैशाख २०८१ शुक्रबार
समाज

बलात्कारबाट जन्मिएकी छोरीको जन्मदर्ता कसरी ?

रुद्र खड्का /राजु अधिकारी
झापा –कोही नयाँ मान्छे भेट्नेबित्तिकै मेचीनगरकी ३१ वर्षीया गीता चौधरी (नाम परिवर्तन) को प्रश्न हुने गर्छ– पिताले नसकारेका सन्तानको जन्मदर्ता हुन्छ कि हुँदैन ?

जो जसलाई उनले त्यस्तो प्रश्न सोध्ने गर्छिन् उनीहरूले गीताको समस्या समाधान हुने गरी जवाफ भने फर्काउन सक्दैनन् । छोरीको जन्मदर्ता गराउन खोज्दा सरकारी निकायका कर्मचारीले बुबाको नागरिकता खोज्दा गीताले समस्याको निकास पाउन नसकिरहेकी हुन् ।

वैदेशिक रोजगारीबाट कमाइ गरेर आफू र परिवारको जीवन सहज बनाउने उद्देश्यले २०७१ मा कुवेत गएकी गीताका लागि वैदेशिक रोजगारी असफल मात्र भएन, जीवनमा थप संकट हुने गरी अर्को समस्या ल्याइदियो । जुन समस्याले गर्दा पछिल्लो तीन वर्षदेखि दैनिकजसो गीताको आँखामा आँसु निस्कने गरेका छन् ।  आँखाबाट निरन्तर बग्ने आँसु रोक्ने उपाय अहिलेसम्म गीताले भेउ पाउन सकेकी छैनन् ।

गाउँमा रहँदा पतिसँगको सम्बन्ध बिग्रेपछि दुई छोरीको पढाइ र आफ्नो गुजाराका लागि कुवेत गएकी गीतालाई घरमालिकको छोराले जबर्जस्ती यौन सम्पर्क राख्दा डेढ वर्षअघि विदेशमै छोरी जन्मिएकी थिइन् । काम गर्न गएकी गीताले छोरी जन्माउनु परेपछि वैदेशिक रोजगारी त असफल भयो नै, अहिले विदेशी नागरिकबाट जन्मिएकी सन्तानलाई कसरी हुर्काउने भन्ने समस्या आइलागेको हो ।

बाबुको पहिचान गरी जन्मदर्ता गर्न असफल हुने देखिएपछि तनाव भइरहेको उनको भनाइ छ । घरेलु कामदारको रूपमा कुवेत गएकी उनले आफ्नै मनोमानीले भने छोरी जन्माएकी होइनन् । ‘कुवेत गएको केही समयपछि घरमा कोही नभएको मौका छोपी साहुको २० वर्षीय छोराले बलात्कार ग¥यो,’ गीताले भनिन्, ‘बलात्कारबाटै पेटमा गर्भ बसेछ ।’

साहुको छोराले चार पटकसम्म बलात्कार गर्दा सहेकी उनले पटकपटक सोही  क्रियाकलाप भोग्न थालेपछि बाध्य भएर घर छाडेकी थिइन् । ‘त्यो घर छाड्दा पेटमा तीन महिनाको गर्भ भइसकेछ,’ उनले भनिन्, ‘त्यतिबेलासम्म चारपटक बलात्कृत भए पनि गर्भ रहेको भने यकिन भइसकेको थिएन ।’ साहुको छोराको अत्याचारबाट मुक्ति पाउन काम गर्दै आइरहेको घर छाडेर अर्को घरमा काम गर्न पुगेकी गीताले बलात्कृत भएको चार महिनापछि मात्र सबै कुरा थाहा पाएको बताइन् ।

‘चार महिनासम्म महिनावारि रोकियो,’ उनले भनिन्, ‘महिनावारि रोकिएपछि पेटमा गर्भ रहेको पुष्टि भयो । त्यसपछि टाउको दुःखेको बहानामा गर्भ निकाल्ने औषधि खाएँ ।’ करिब दुई महिना गर्भ निकाल्ने औषधि खाएपछि गीताले समस्या समाधान भएको ठानेको बताइन् । ‘भगवानको खेल भनौं कि या परिस्थिति त्यस्तै दोस्रो घरमा काम गरिरहँदा त्यो परिवार कुवेतबाट काम विशेषले साउदी जाने भयो । मलाई चाहिँ साउदी जान इच्छा भएन ।’ साउदी नजाने भएपछि गीताले काम लगाउने नेपाली दलालले खोलेको सम्पर्कमा कार्यालयमा पुगेको बताइन् ।

सोही सम्पर्क कार्यालयबाट तेस्रोपटक काम खोज्दै गर्दा छोरी जन्मिएको गीताको भनाइ छ । ‘पहिलो र दोस्रो मालिककहाँ घरेलु काम गर्दा ९ महिना पुगिसकेको थियो,’ गीताले भनिन्, ‘बलात्कार भएको ९ महिना भए पनि औषधि सेवन गरेकाले गर्भपतन भएको अनुमान गरेकी थिएँ । तर मेरो सबै अनुमान गलत हुँदै ९ महिनामा छोरी जन्मिइन् ।’ नेपालमा त्यसअघि दुई छोरी जन्माउँदा सुत्केरी बेथा लागे पनि कुवेतमा भने सुत्केरी बेथा नलागेको र पेटमा बच्चा रहँदा चहलपहल पनि नभएको बताइन् ।

‘म मात्र नभई पेटमा बच्चा छ भन्नेबारे ९ महिनासम्म कसैलाई थाहा भएन,’ गीताले भनिन्, ‘न पेट फुलेको थियो । न बच्चाले चलखेल नै गथ्र्यो । अकस्मात छोरी जन्मिएपछि के गर्ने, कसो गर्ने केही सोच्नै सकिनँ ।’ दलालको सम्पर्क कार्यालयमा छोरी जन्मिएपछि गीतालाई नर्स र डाक्टरको टोलीले अस्पताल पु¥याएको थियो । उनले केही दिन अस्पताल र केही दिन नेपाली दूतावासको सेल्टरमा बसेपछि साढे एक वर्ष अघि घर फर्केको बताइन् ।

‘जीवनमा कहिलेकाहिँ कल्पना गरेभन्दा निकै फरक अवस्था आउँदो रहेछ,’ नागरिकसँगको कुराकानीमा गीताले भनिन्, ‘न मैले चाहेर गर्भ बोकेकी हुँ, न छोरी जन्माउने र न छोरीलाई नेपाल ल्याउने इच्छा नै थियो । तर, सबै मैले नचाहँदा नचाहँदै पीडा भोग्दैछु ।’ बच्चा जन्मे पनि कुवेतमै छोड्ने योजना बनाएकी गीताले अस्पताल र सेल्टरमा बस्ने कर्मचारीले झुक्याएर छोरीलाई घरसम्म ल्याउनुपरेको बताइन् । ‘विदेशमा मात्र नभई छोरीलाई काठमाडौंमै सन्तान नहुनेलाई दिनुपर्ला भन्ने अन्तिम सोचसमेत थियो,’ उनले भनिन्, ‘छोरीलाई काठमाडौंमै छोडेर घर फर्कने योजना पनि सफल भएन ।’ काठमाडौं पुगिसकेपछि सबै घटना थाहा पाइसकेका भाइले जे भयो भइहाल्यो भन्दै दिदीलाई कुवेती साहुको छोराबाट जन्मिएको सन्तानलाई घर ल्याउन सल्लाह दिएका थिए ।

साहुको छोराको जबर्जस्ती यौन सम्पर्कबाट जन्मिएकी छोरी एक महिना १७ दिनकी हुँदा घर पुर्याएको गीताले बताइन् । यतिखेर गीतालाई विभिन्न  परिस्थिति भोग्दै घरसम्म ल्याइपुर्याएकी छोरीलाई जन्मदर्ता गरी कसरी लालनपालन गर्ने भन्ने चिन्ताले सताइरहेको छ । उनले दुई वर्ष कुवेतमा बस्दा चार–पाँच महिनाको मात्र पारिश्रमिक पाएको बताइन् । ‘न वैदेशिक रोजगारीबाट कमाउन सकेँ । न घरमा छोरी र आफ्नो गुजारा गर्न सक्ने उपाय नै छ,’ उनले भनिन्, ‘पहिलो श्रीमान्सँग राम्रो सम्बन्ध छैन ।’ उनले गाउँमै मजदुरी गरेर पहिलो श्रीमानपट्टिका दुई र कुवेती नागरिकबाट जन्मिएकी छोरीको जबर्जस्ती गुजारा चलाइरहेको बताइन् ।

उनी भन्छिन्, ‘कहिलेकाहिँ किन बाँचे हुला जस्तो पनि लाग्छ ।’ उनलाई आफू नै नरहेपछि अवोध छोरीको लालनपालन कसले गर्ला भन्ने पनि लाग्छ । ‘मैले त जीवनमा नसोचेको पीडा भोगेँ,’ उनले भनिन्, ‘एक मनले अवोध छोरीहरूका लागि बाँच्न आवश्यक छ भन्ने ठान्छ ।’ उनले यतिखेर आफूलाई गुजाराका लागि जो कोहीले गर्ने सानोतिनो सहयोग पनि ठूलो हुने बताइन् । ‘जसले जे सक्छन्, मेरा लागि त्यही सहयोग होस् भन्ने चाहना छ,’ उनले भनिन् ।

प्रकाशित: ४ माघ २०७४ ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App