८ वैशाख २०८१ शनिबार
अर्थ

कृषि वस्तुमा परनिर्भरता बढ्दो

झापा–नेपालमै उत्पादनको पर्याप्त सम्भावना भएका कृषि वस्तुको आयात हरेक वर्ष बढ्दै भएको छ ।
पूर्वको काँकडभिट्टा नाकाबाट मात्रै चार महिनामा एक अर्बभन्दा बढीको कृषि वस्तु आयात भएको छ । योभन्दा बढी अनुपातमा मुलुकका अन्य नाकाबाट पनि कृषिवस्तु भित्रिरहेका छन् । यसले मुलुक कृषि वस्तुमा परनिर्भरतामा डुबेको देखिन्छ ।

सरकारी तथा निजी क्षेत्रका अगुवाले नेपालबाट कृषि वस्तुको निर्यात सम्भावना ज्यादै राम्रो रहेको बताइरहँदा पूर्वी नाकाको तथ्यांकले भने त्यस्तो देखाउँदैन । नेपालबाट करोडको आकारमा निर्यात हुँदा विदेशबाट भने अर्बको आकारमा आयात भइरहेको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा काँकडभिट्टाबाट ८३ करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको कृषिजन्य  वस्तु निर्यात भएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।  त्यही  अवधिमा एक अर्ब १५ करोड ५१ लाख ४५ हजार रुपैयाँ बराबरका कृषिजन्य वस्तु आयात भएको छ । कार्यालयका अनुसार गत वर्षको यही अवधिको तुलनामा आयातको आकार बढेको हो ।  

कृषि क्षेत्रका अगुवा र जानकारहरु यो क्षेत्रमा अहिलेकै अवस्था जारी रहे परनिर्भरता अझै बढ्ने बताउँछन् । ‘हल्ला गर्न र नामका लागि कृषिमा अनेक कार्यक्रम घोषणा भएका छन्,’ झापास्थित निन्दा कृषि सहकारी संस्थाका अध्यक्ष प्रकाश खड्का भन्छन्, ‘तर, अधिकांश कार्यक्रम देखाउनका लागि मात्रै छन् । कृषकलाई प्रोत्साहित गर्ने, उत्पादन क्षमता बढाउने, उत्पादन कर्ममा सहयोगी बन्ने कुनै कार्यक्रम छैनन् । यसले आत्मनिर्भर हुन सघाउँदैन ।’ सरकारले अघिल्लो वर्ष झापालाई धानको सुपर जोन घोषणा गरेको थियो । तर, यहीँका किसानले लागत पनि नधान्ने मूल्यमा धान बेच्नुपर्यो । बजार व्यवस्थापनको त कुरै छाडौं यसपटक सिजनमा धानको न्यूनतम समर्थन मूल्यसमेत सरकारले निर्धारण गरेन । जसका कारण व्यापारीको सिन्डिकेटले तोकेको भाऊमा धान बेच्न किसान बाध्य भए ।

धानमा मात्रै होइन, अन्य कृषिजन्य उत्पादनमा पनि किसानले बेहोरिरहेको झन्झट र  सास्ती पनि कृषिजन्य वस्तुको  विदेशबाट हुने आयात बढाउने मुख्य कारण भइरहेको छ । सरकारले उत्पादन बढाउन आह्वान गर्ने तर बजार व्यवस्थापनमा उदासीनता देखाउने कारणले यस्तो भइरहेको कृषि अधिकारी बताउँछन् । ‘नेपाली किसानले उत्पादन गरेका वस्तुको सहज बजार व्यवस्थापन गर्न राज्य चुकेकै कारण हामीलाई पुग्दो कृषि वस्तु उत्पादन गर्न नसकिएको हो,’ कृषि कार्यालयका एक अधिकारीले भने, ‘बजार सहज बनाउने र न्यूनतम मूल्य पाउने ग्यारेन्टी भएमात्रै भए पनि कृषि वस्तुको आयात यो हदमा हुन्थेन।’

कृषि क्षेत्रलाई व्यावसायिक बनाउन नसक्नु तथा कृषकले उत्पादनको उचित मूल्य नपाउनु जस्ता कारणले कृषिवस्तु आयातको दर बढेको कृषिविज्ञको भनाइ छ । त्यही भएर आन्तरिक उत्पादनले धान्ने अवस्था हुँदा पनि ठूलो परिमाणमा कृषि वस्तु आयात गर्नुपरेको छ । त्यसो त पूर्वी  नाका हुँदै  सबभन्दा बढी मुसुरो दाल निर्यात  हुँदै आएको छ ।  मुसुरो दाल बंगलादेश निर्यात हुन्छ । कार्यालयका प्लान्ट क्वारेन्टाइन अधिकृत सुरेशकुमार साहका अनुसार बन्दा, मुसुरो दाल, अदुवा, अम्लिसो, तोरीपिना, राइस ब्रान तथा जडीबुटी जस्ता वस्तु निर्यात हुने गरेको छ । तर, लगभग उस्तै ढंगका कृषि वस्तु दोब्बरभन्दा बढी आयात पनि हुँदै आएको छ । कृषि उत्पादन आयातका लागि नेपालले एसियाली मात्रै होइन, अस्ट्रेलियादेखि क्यानडासम्मकै मुलुक भ्याइरहेको छ । चीन, भारत, अस्टे«लिया, क्यानाडा लगायत देशबाट कृषिजन्य वस्तुको आयात उच्च हुने गरेको छ । पूर्वी नाका भएर सबैभन्दा बढी दलहन आयात भएको देखिन्छ ।

क्वारेन्टाइन कार्यालयका अनुसार साउनदेखि कात्तिक अन्तिमसम्मको अवधिमा ७६ करोड २४ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको आठ हजार तीन सय ९५  मेट्रिक टन गेडागुडी क्यानडा र अष्टे«लियाबाट आयात भएको छ । तीन करोड २८ लाख आठ हजार रुपैयाँ मूल्यको मकै, पाँच करोड ७३ लाख १२ हजार रुपैयाँको दुई हजार तीन सय ८८ मेट्रिक टन कोदो, एक करोड ७५ लाख १० हजार रुपैयाँ मुल्य बराबरको एक हजार ६ सय ६१ मेट्रिक टन ताजा तरकारी पनि आयात भएको छ ।

यसबाहेक एक हजार आठ सय ६८ टन फलफूल, १० टन मकैको बीउ, एक हजार नौ सय पाँच टन प्याज, ६ हजार ३ सय २५ टन आलु तथा १२ टन लसुन  आयात भएको छ । ‘आयात भएका यी सबै कृषिवस्तु नेपालमा प्रशस्त उत्पादन हुन सक्ने वस्तुमा पर्छन्,’ सरकारका पूर्व कृषि अधिकारी सोमनाथ खनालले भने ‘तर, किसानलाई अनुदानलगायत सहयोग दिने, मलखाद, बीउविजन, सिँचाइ र विद्युत्मा छुट दिने नीति नहुँदा किसानले लगानी उठाउन सक्दैनन् । त्यही भएर सम्भावना भएर पनि उत्पादन हुन सकेको छैन ।’

 त्यसो त भारतीय नाकाबन्दीको बेलामा ‘आत्मनिर्भर अर्थतन्त्र’बारे सरकारी तहबाटै ठूलै पैरवी भएको थियो । तर, नाकाबन्दी खुलेर त्यसबेलाको घाउमा खाटा बस्दै जाँदा सरकारी घोषणा कुनै ठोस कार्यक्रमका रुपमा देखापरेन । तत्कालीन अवस्थामा सार्वजनिक खपतमै घोषणा सीमित भयो । किनभने, त्यसयता निर्यात बढ्न सकेको छैन, जति मात्रामा आयात बढेको छ । ‘सरकारको नेतृत्व गर्ने दललाई भोट फकाउने मेलो चाहिएको हुन्छ, कर्मचारीलाई कमाउने,’ पूर्व कर्मचारी खनाल थप्छन्, ‘त्यसैले कृषिको उत्पादन बढाउने, कृषकलाई प्रोत्साहित गर्ने कार्यक्रमहरु हल्लाका लागि जस्ता भएका छन्, परिणाममुखी हुन सकेका छैनन् ।’

उनको भनाइलाई तथ्यहरुले पनि सही साबित गर्छन् । किनभने सम्भावना छ भनिएका वस्तुकै आयात पनि नेपालले बढाउन सकेको छैन । ताजा तरकारीदेखि फलफूलसम्मको सबैभन्दा ठूलो बजार बंगलादेश बन्न सक्ने बहस चलेको वर्षौं भइसकेको छ । तर, अहिलेसम्म बंगलादेश पठाउने वातावरण भने बनेकै छैन ।

थोरै परिमाणका सीमित कृषि वस्तु विदेश पठाएर नेपालले निर्यात व्यापारको परम्परा धानिरहेको छ ।  पूर्वी नाकाबाट साउनदेखि कत्तिक महिनासम्म पाँच करोड ७४ लाख ४८ हजार  रुपैयाँ मूल्यको बन्दा भारत निर्यात भएको छ । ३४  करोड ६६ लाख ८० हजार रुपैयाँको तीन हजार आठ सय ५२ टन  मुसुरो दाल, २५ करोड १९ लाख ७७ हजार  रुपैयाँको ११ हजार दुई सय ४९ टन अदुवा, १२ करोड ७४ लाख ८८ हजार रुपैयाँको तीन हजार नौ सय ८४ टन अम्लिसो निर्यात भएको छ । २६ लाख ९६ हजार रुपैयाँ बराबरको ४५.३ मेट्रिक टन जडीबुटी पूर्वी नाका भएर निर्यात भएको छ । तीन करोड ५३ लाख आठ हजार रुपैयाँ बराबरको एक हजार दुर्य सय ६१ टन तोरीपिना र ५८ लाख ५९ हजार रुपैयाँ बराबरको चार सय ९४ मेट्रिक टन राइस ब्रान निर्यात भएको क्वारेन्टाइनको तथ्यांकले देखाउँछ ।

 

प्रकाशित: ४ माघ २०७४ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App