८ वैशाख २०८१ शनिबार
राजनीति

धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन, आमहड्ताल जारी

धनकुटा – प्रदेश नम्बर १ को राजधानी विराटनगर तोकिएपछि धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ। धनकुटाको जिरोप्वाईन्टमा आन्दोलनकारीले पुत्ला दहन गरेका हुन्। त्यस अवसरमा आन्दोलनकारीले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका थिए।

धनकुटाको भौतिक पूर्वाधारको विषयमा गलत रिपोर्टिङ गर्ने क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको पनि आन्दोलनकारीले पुत्ला दहन गरेका छन्। त्यसैगरी बुधबार राति १० बजेबाट आम हड्ताल जारी राख्ने निर्णय संघर्ष समितिले गरेको छ। सरकारले माग नसच्याएसम्म आन्दोलन नरोक्ने निर्णय भएको प्रदेशसभा सांसद निरन राईले बताए। ‘सरकारले विभेदपूर्ण निर्णय ग¥यो। पहाड रित्याउने अभियान सुरु गरेको छ। सरकारको यो निर्णय विरुद्ध सशक्त आन्दोलन गर्छाै’, सांसद राईले भने।

धनकुटा राजधानी प्राप्ती संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले पनि निरन्तर आन्दोलन गर्ने बताएका छन्। ‘बुधबार विहानैदेखि बन्दको कारण रोकिएका गाडीलाई गन्तब्यसम्म पठाउनको लागि ३ घण्टालाई बन्द खोलेका छौ। यी सवारी साधन पठाई सकेपछि  अनिश्चितकालिन आम हड्ताल सुरु गर्छाै’, उनले भने। बन्दको कारण धनकुटाको मुलघाट, हिले र सिधुवामा सयौं सवारी साधन रोकिएका थिए।

यस अगाडि बुधबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गर्न पुगेका आन्दोलनकारीले कार्यालयमा तालबन्दी गरेका छन्। तालाबन्दी गर्न गएका आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी हुँदा एकजना घाइते भएका छन्। प्रहरीले आन्दोलनकारीलाई गेटबाहिरै रोक्न खोजेपछि प्रहरीसंग घम्साघम्सी भएको थियो। आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयको पहिलो गेट तोडेर कार्यालयको प्राङ्गणमा पुगेका थिए।

प्रदेशसभा सांसद निरन राई र ईन्द्रमणी पराजुलीको नेतृत्वमा गएको आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका हुन्। आन्दोलनकारी र प्रहरीबीच भएको घम्साघम्सीमा परी धनकुटा नगरपालिका वडा नंं ६ का जेशिस श्रेष्ठ घाइते भएका छन्। टाउकोमा चोट लागेका श्रेष्ठको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ।

करिब एकसय जनाको समूहमा गएका आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्। सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो समूह परिचालन गरिएको छ। आन्दोलनकारीले क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहविरुद्ध पनि नाराबाजी गरेका छन्। क्षेत्रीय प्रशासक सिंहले धनकुटामा सर्वपक्षीय बैठक नबोलाई धनकुटामा भौतिक पुर्वाधार कमजोर रहेको प्रतिवेदन सरकारलाई पेस गरेको आरोप धनकुटाबासीले लगाउँदै आएका छन्।

त्यसैगरी राजधानीको माग गर्दै सडकमा उत्रेका जिल्लाबासीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै धनकुटाका सबै सरकारी र निजी विद्यालय बन्द भएका छ। प्रदेश नम्बर १ को राजधानी माग गर्दै धनकुटा बजार र कोशी राजमार्गमा यातायात विहानैदेखि बन्द भएको छ। यातायात बन्दको क्रममा संखुवासभाबाट धरान जाँदै गरेको एक मोटरसाइकल तोेडफोड गरेका छन्। को २६ प ५६११ नम्बरको पल्सर मोटरसाईकल रोकेर तोडफोड गरेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताए। मोटरसाइकलको भाईजर, लुकिङ ग्लास र ट्यांकीमा क्षति भएको छ।

प्रादेशिक राजधानीको माग गर्दै धनकुटाबासीले ३३ दिन देखि निरन्तर आन्दोलन गरिरहेका छन्।

प्रकाशित: ३ माघ २०७४ १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App