७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रादेशिक राजधानी घोषणाले दाङमा आक्रोश, अब वारपारको आन्दोलन

दाङ – पाँच नम्बर प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकिएपछि दाङमा आक्रोश चुलिएको छ। उक्त निर्णय नगर्न दबाब दिनका लागि बुधबार जिल्ला ठप्प पारेका दंगालीहरुले सरकारको निर्णय पश्चात आन्दोलनलाई झनै सशक्त बनाउने चेतावनी दिएका छन्।

बिहीबारदेखि जिल्लाका सम्पूर्ण सरकारी कार्यालय ठप्प पार्ने सम्मको निर्णय यहाँ गरिएको छ। ‘सरकारको गलत निर्णयको बिरुद्ध अब दाङ रुक्दैन,’ प्रादेशिक राजधानी सरोकार समितिका सदस्य सचिव सबीन प्रियासनले भने ‘विहिवारदेखि वारपारको आन्दोलन सुरु हुन्छ।’ सरोकार समितिले बुधबार सरकारको निर्णय लगत्तै जिल्लाका सम्पूर्ण सरकारी कार्यालय बन्द गर्नुका साथै बन्दरुपी आन्दोलनलाई झनै कडा बनाउने निर्णय गरेको छ।

यता आन्दोलनका कारण बुधवार दाङको जनजीवन निकै कष्टकर बन्यो। जिल्ला बन्द गरेर थालिएको आन्दोलनका कारण जिल्लामा दिनभर सवारी आवागमन ठप्प बन्न पुग्यो। शिक्षण संस्था, उद्योगधन्दा समेत दिनभर ठप्पै रहे।

आन्दोलनका कारण पूर्व पश्चिम राजमार्ग देखि जिल्लाका सहायक मार्गहरु समेत ठप्प पारिए। देउखुरीको लमहीमा गरिएको बन्दले पूर्व पश्चिम महेन्द्र राजमार्ग दिनभर ठप्पै बनेको थियो। जसका कारण दिनभर सैयौँ यात्रुहरु अलपत्र परेका थिए। यसैगरि जिल्ला सदरमुकाम घोराहीमा पनि दिनभर यातायात सेवा बन्द भयो, भने शिक्षण संस्था बजार पूर्ण रुपमा बन्द भए। यसैगरि तुलसीपुरमा गरिएको आन्दोलनले पहाडी जिल्लाहरुको यातायात सेवा ठप्पै बन्यो। तुलसीपुर भएर पुग्नुपर्ने सल्यान र रुकुमका लागि सवारी साधन चल्न सकेनन्।  

प्रदेश प्रहरी मुख्यालय, उच्च अदालत स्थापित जिल्लामा राजधानी नतोकिनुलाई दंगालीहरुले निकै अस्वाभाविक निर्णय भनेका छन्। यससंगै केहि दिनअघि मात्रै माघ २४ मा हुने राष्ट्रिय सभाको निर्वाचन पनि दाङमै तोकिसकेको छ। पाँच नम्बर प्रदेशको निर्वाचन दाङमा हुने गरि निर्वाचन अधिकृत कार्यालय पनि यहिँ स्थापित भैसकेको छ। जिल्लामा चर्किएको आन्दोलनले यहाँ तय गरिएको राष्ट्रियसभाको निर्वाचन प्रभावित बन्न सक्ने आँकलन गरिएको छ। ‘दाङलाई राजधानी नतोकिँँदा उब्जने आक्रोशले राष्ट्रियसभाको निर्वाचन प्रभावित हुन सक्ने खतरा निम्तीएको छ,’ श्रमराज्य मन्त्री डिल्लीबहादुर चौधरीले भने ‘यो बिषयलाई पनि ध्यानमा राखिनु पथ्र्यो।’ राज्यमन्त्री चौधरीले भनेजस्तै राजधानी खोसिएपछि यहाँ हुने भनिएको राष्ट्रियसभाको निर्वाचनलाई प्रभावित तुल्याईदिने चेतावनी आन्दोलनकारीहरुले दिएका छन्। ‘हाम्रो आन्दोलन क्षणीक हैन, वारपारकै आन्दोलन हो,’ राजधानी सरोकार समितिका सदस्य सचिव प्रियासनले भने ‘त्यो आन्दोलनले राष्ट्रिय सभाको निर्वाचन पुरै प्रभावित बन्ने छ।’

प्रधानमन्त्री शेरवहादुर देउवाका निकटस्थ मानिने राज्यमन्त्री चौधरी अहिले यहाँको आन्दोलनको नेतृत्वकर्ताकै रुपमा देखिएका छन्। सरकारकै मन्त्री कसरी आन्दोलनको नेतृत्वमा ? उनले जवाफ दिए ‘मलाई पदको मोह छैन, खोसियोस् मतलव छैन, सरकारले सहि निर्णय गरोस् भन्ने मात्रै मेरो चाहना हो।’

उनै राज्यमन्त्रीले राजधानी खोसिन सक्ने सूचना सबैभन्दा पहिला दंगालीहरुलाई दिएका थिए । यो सुईको पाएलगत्तै माघ १ गते उनी आन्दोलन चर्काउनकै लागि दाङ आईपुगेका थिए। ‘मैले हरसम्भव गर्दापनि नहुने संकेत पाईसकेपछि अब आन्दोलन बाहेक अर्को विकल्प छैन भनेर आन्दोलनका लागि यहाँ आएको हुँ,’ उनले भने ‘मलाई सरकार हैन, सधैँभरी चाहिने दंगाली जनता हुन्।’

उनले अब निकै कडा आन्दोलन गरिने चेतावनी समेत दिए। ‘म आँफै सहभागी सरकारको बिरोधी हैन,’ उनले भने ‘गलत निर्णयको बिरुद्ध मेरो आन्दोलन कडा बन्दै जान्छ।’ उनले सरकारको यो गलत निर्णय बिरुद्ध सबै दंगालीहरुलाई आन्दोलनमा होमिन अपिल समेत गरे।

देउवाले बुटवलका नेताहरुको चर्को दबाब थेग्न सकेनन्। यस्तै माओवादी नेता कृष्णबहादुर महरा सरकारबाट बाहिरिनुले देउवाले आँफू झनै दबाबमा परेको बताएका थिए। ‘दाङको पक्षमा बोल्ने कोहि भएनन्, महरा जी पनि बाहिरिएपछि बुटवलको एकतर्फी दबाब परेको छ,’ देउवाको भनाई उदृत गर्दै राज्य मन्त्री चौधरीले भने ‘महराजी सरकारबाट नबाहिरिएको भए मलाई एकतर्फी दबाब पर्ने थिएन।’

सरकारबाट बाहिरिएपनि महराले पार्टीका तर्फबाट चर्को दबाब भने दिईरहेका थिए। ‘महराजी र म बाहेक अरु निर्वाचित ज्यूहरु कोहि पनि यो बिषयमा सक्रिय बन्नु भएन,’ उनले भने ‘तर हाम्रो मात्रै उपाय चलेन।’ प्रदेशका १२ वटै जिल्लाको पायक पर्ने दाङलाई राजधानी नतोकेर पूर्वी कुनामा राजधानी तोकिनुलाई न्याय सम्मत भन्न मिल्ने या नमिल्ने भन्दै राज्यमन्त्री चौधरीले प्रश्न गरे।

विहिवार देखि आन्दोलनलाई कडा बनाउने निचोडमा पुगेका दंगालीहरुले सडकमा साईकल समेत कुद्न नदिने चेतावनी दिएका छन्। बिहीवारदेखि कुनै बेला पनि बन्द नखुल्ने निर्णय सरोकार समितिले गरेको छ। 

प्रकाशित: ३ माघ २०७४ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App