coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

रियो पोखरीमा शितयुद्धको झल्को

रियो दी जेनेरियो- सत्तरी र असीको दशकमा भएको शीतयुद्धले ओलम्पिकमा पारेको असर रियोमा पनि झल्किएको छ। अमेरिकी र रुसी पौडी खेलाडीबीचको विवाद पछि त्यो झन छताछुल्ल भएको हो। अमेरिकाले रुसको सबै टोलीलाई रियो ओलम्पिकमा प्रतिबन्ध लगाउनुपर्ने बताएपछि खेलका दुई शक्तिशाली राष्ट्रबीच विवाद बढेको थियो। त्यसको सबैभन्दा ठूलो असर सोमबार भएको महिला १०० मिटर ब्रेस्टस्ट्रोक प्रतियोगिताका फाइनलमा देखियो।

अमेरिकी युवा खेलाडी लिले किङ र केटी मेलीले रुसकी युलिया इफिमोभालाई डोपिङ काण्डको प्रतीकका रूपमा व्याख्या गरेपछि विवाद बल्भि्कएको थियो। रियोका लागि सुरुमा प्रतिबन्धमा परेकी इफिमोभा अपिल गरेपछि अन्तिम समयमा प्रतियोगताका लागि फुकुवा भएकी हुन्।

ओलम्पिकमा कमैमात्र देखिने दृश्य त्यहाँ देखियो। इफिमोभालाई रियोमा उपस्थित दर्शकले गिज्याएका थिए। ओलम्पिक एक्वाटिक एरिनामा अमेरिका अमेरिकाले गुन्जिएको थियो। त्यसपछि खेलमा पनि उनले थोरैले स्वर्ण पदक गुमाइन्। किङले स्वर्ण आफ्नो नाममा लेखाइन्। अमेरिकाकै मेलीले कांस्य हात पारिन्।

‘साँच्चिकै भन्नुपर्दा मैले बोलेको विषयप्रति म गौरवान्वित छु र खेलमा पनि म पहिलो भएकी छु,’ किङले भनिन्, ‘सबै खेलाडी (पौडी) ले जे सोचिरहेका छन् त्यो मैले बाहिर प्रकट गरेकी हुँ। साहस गरेर बोलेकी हुँ।’

किङ र मेलीले पौडी पोखरीमा पनि आफ्नो हात यताउता चलाएका थिए। जुन कार्य पदक वितरण कार्यक्रममा पनि दोहोर्‍याए। किङले इफिमोभालाई कहिल्यै बधाई नभन्ने बताइन्।

‘म मात्र त्यो क्षणमा बोलिरहेकी छु,’ किङले भनिन्, ‘यदि म इफिमोभाको स्थानमा भएको भए पनि मैले कसैबाट बधाईको आशा गर्ने थिइनँ। तर यदि उनले त्यो आशा गरेकी छिन् भने म क्षमा चाहन्छु।’

खेल सकिएपछि पत्रकारसँग बोल्नेक्रममा इफिमोभा बीचैमा भक्कानिएकी थिइन्। उनी पदक जितेपछिको पत्रकार सम्मेलनसम्म आउने हिम्मत त जुटाइन् तर डोपिङको मुद्दा बल्भि्कएपछि आँसु रोक्न भने सकिनन्।

‘मेरो एक गल्तीले प्रतिबन्ध झेल्नुपर्‍यो,’ १६ महिनाको प्रतिबन्ध सम्झँदै इफिमोभाले भनिन्। उनलाई यो वर्ष पनि केही प्रावधानसहितको प्रतिबन्ध थियो। तर मेमा कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस (कास) मा अपिल गरेपछि उनी फुकुवा भएकी हुन्। उनले भनिन्, ‘दोस्रो मेरो गल्ती होइन। मलाई थाहा छैन कसरी मान्छेहरूलाई सम्झाउने। यदि दहीले प्रतिबन्ध गराउँछ भने त्यो मेरो गल्ती हो?’

जीवनको लामो अमेरिका बसाइ  र प्रशिक्षणमा बिताएकी इफिमोभाले आफू राजनीतिको सिकार भएको बताइन्।

‘खेलमा राजनीतिले प्रवेश पाउनु ठूलो आपत्तिजनक विषय हो। खेलाडीलाई राजनीतिबाट प्रेरित नभई एकअर्काको समस्या बुझ्न म आग्रह गर्दछु,’ उनले थपिन्, ‘म १ वर्षमा १ महिनामात्र रुसमा बस्छु। मलाई केही थाहा छैन यहाँ के हुँदैछ। केही भइराखेको हो मैले बुझ्न सकेको छैन। सामान्यतया ओलम्पिकमा सबै युद्ध रोकिन्छ। तर, उनीहरू रसियालाई पराजित गर्ने बाटो खोजिरहेका छन् र त्यसमा खेलाडीलाई प्रयोग गरिरहेका छन्। यो न्यायसंगत छैन।’

प्रकाशित: २७ श्रावण २०७३ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App