coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेले भन्यो- कामचलाउ हैसियतको सरकारले कुनै नियुक्त नगरोस्

काठमाडौं – नेकपा (एमाले)ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

कार्यबाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बुधबार पार्टी मुख्यालय धुम्वाराहीमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रियसभाको निर्वाचन गर्न ढिलाइ गरिरहेको भन्दै तोकिएको समयमा निर्वाचन गर्न सरकार र आयोगसँग माग गरिएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए।

उनले सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न गरिएको ढिलाइले राष्ट्रियसभाको निर्वाचन प्रभावित हुने भएकाले तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोकी राष्ट्रियसभा निर्वाचनको मिति तय गर्न माग गरिएको बताए।

कामचलाउ हैसियतको सरकारले नयाँ दरबन्दी सिर्जना गर्ने, सरुवा बढुवा गर्ने, राज्यको ढुकुटीबाट रकमान्तर गरी खर्च गर्ने काम रोक्नुपर्नेमा बैठकले जोड दिएको भट्टराईले बताए।

बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार चयन गरी पठाउँदा विशेष ध्यान दिन मातहतका कमिटीलाई निर्देशनसमेत दिएको छ।

‘राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिश गर्दा यसअघिका चुनावमा उम्मेदवार नभएका र विभिन्न क्षेत्रमा योगदान पु-याएका पार्टीका नेता तथा कार्यकर्तालाई छनौट गर्न मातहत कमिटीलाई निर्देशन दिने निर्णय गरेका छौं’, उनले भने– ‘प्रदेशबाट सिफारिश मागेका छौं, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कतिपय भूगोल, क्षेत्र र समुदाय छुटेका छन् तर अब राष्ट्रियसभाको निर्वाचनमा त्यस्तो नहोस् भनेर तल्लोतहबाटै विशेष ध्यान दिई सिफारिश गर्न भनेका छौं।’

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नेसम्बन्धमा सरकारले आफ्नो दलसँग सल्लाह नगरेको उनले बताए।

प्रकाशित: ३ माघ २०७४ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App