४ वैशाख २०८१ मंगलबार
राजनीति

चुनावमा कति खर्च गरे रवीन्द्र मिश्र र गगन थापाले ?

काठमाडौं – काठमाडौं जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभातर्फ ६१ र प्रदेशसभातर्फ ९१ जनाले खर्च विवरण बुझाएका छन्। काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ १७१ र प्रदेशसभा सदस्यतर्फ २२२ जनाले उम्मेदवारी दिएका थिए।

कसको कति खर्च ?

क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालका अनुसार काठमाडौं क्षेत्र नं २ बाट विजय भएका नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले १४ लाख ९० हजार, क्षेत्र नं ५ बाट विजय भएका एमालेका महासचिव ईश्वर पोखरेलले २४ लाख १४ हजार ७८, क्षेत्र नं १ बाट विजय भएका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले रु १७ लाख ३० हजार ५००, क्षेत्र नं ४ बाट उम्मेदवार बनेका कांग्रेसका युवा नेता गगन थापाले २४ लाख १३ हजार १०० खर्च विवरण बुझाएका छन्।

यसैगरी काठमाडौं क्षेत्र नं ३ बाट विजय भएका कृष्ण राईले २२ लाख ५६ हजार र क्षेत्र नंं ९ बाट विजय भएका एमालेका नेता कृष्ण गोपाल श्रेष्ठ रु १२ लाख ७८ हजार खर्च विवरण बुझाएका छन्।

यसैगरी विवेकशील साझा पार्टीबाट काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार बनेका रवीन्द्र मिश्रले १३ लाख ८९ हजार २१४ र काठमाडौं क्षेत्र नंं ५ बाट उम्मेदवार बनेका काँग्रेस नेता डा प्रकाशशरण महतले १६ लाख ४१ हजार खर्च बिबरण बुझाएका छन्।

क्षेत्रीय निर्वाचन अधिकारी दाहालका अनुसार यही माघ २ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारलाई निर्वाचन खर्च बुझाउने समयसीमा तोकिएको थियो। निर्वाचन खर्च विवरण बुझाउनेले तोकिएको सीमामा नै खर्च विवरण बुझाएका छन्। प्रतिनिधिसभा सदस्यका लागि २५ लाख र प्रदेशसभा सदस्यका लागि रु १५ लाखसम्म खर्च गर्न पाउने व्यवस्था छ।

उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७२ को उपदफा (४) अनुसार निर्वाचनमा भएको खर्च विवरण निर्वाचनको परिमाण घोषणा भएको ३५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ।

खर्च विवरण नबुझाउने उम्मेदवारलाई छ वर्षसम्म उम्मेदवार हुन नपाउने व्यवस्था छ । खर्च विवरण अधिकांश विजय हुने उम्मेदवारले बुझाएका छन्।

प्रकाशित: ३ माघ २०७४ ०९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App