६ वैशाख २०८१ बिहीबार
समाज

भक्तपुरको वारुणयन्त्र समस्यामा

काठमाडौं- भक्तपुरको पिलाछेँमा आठ दिनअघि ग्यास सिलिन्डर पड्केर सूर्यमान नकर्मीको घरमा आगलागी भयो। नकर्मीले तुरुन्तै जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरमा खबर गरे पनि दमकल नपुगेपछि करिब ७०/८० लाख रुपैयाँ बराबरको मालमत्ता नष्ट भयो। वारुणयन्त्रको दमकल तयारी अवस्थामा नभएका कारण समयमै पुग्न नसक्दा नकर्मीको क्षति धेरै भयो।

आकस्मिक सेवामा पर्ने दमकल हरहमेशा तयारी अवस्थामा रहनुपर्ने हुन्छ। भक्तपुरमा भने तयारी होइन आगलागीको खबर आएपछि बल्ल दमकल तयार हुने गर्छ। गृहमन्त्रालय अन्तर्गत सञ्चालित एक मात्र वारुणयन्त्र भक्तपुरको हो। तर मन्त्रालयकै कमजोरीका कारणले वारुणयन्त्रले प्रभावकारी सेवा दिन सकेको छैन।

'साउन १ गते नै दमकलको चालक काजमा गृह मन्त्रालय गएको थियो। चालक नभएको सम्बन्धित निकायलाई बारम्बार जानकारी गरायौं,' वारुणयन्त्र कार्यालय प्रमुख विजय धौभडेलले भने, 'मन्त्रालयले कुनै चासो दिएन। १८ गते आगलागी भयो।' खबर पाएपछि स्थानीय भएको नाताले बाहिरको चालक खोजेर आगलागी नियन्त्रणमा गए पनि निकै ढिला भएकाले धेरै क्षति भएको धौभडेलले स्विकारे। उनले भने, 'हामीले गर्न सक्ने जति गरिरहेका छौं। तर माथिबाटै गर्नुपर्ने काम नहुँदा वारुणयन्त्र समस्याको भूमरीमा परेको छ।' धौभडेलले चालक रहेको भए आगलागी निभाउन दमकल समयमै पुग्थ्यो भन्दै यसअघि खबर आउनासाथै आगलागी नियन्त्रणमा पुग्ने गरेको बताए।

वारुणयन्त्रमा अहिले ४ वटा दमकल छन्। तर चालू अवस्थामा भने एउटा मात्र दमकल छ। 'सञ्चालनमा रहेको एउटा दमकल पनि बारम्बार बिग्रिरहन्छ,' धौभडेलले भने, 'आधुनिक उपकरण एउटा पनि नभएको यो दमकल करिब ६० वर्ष पुरानो हो।' उनका अनुसार जर्मनीको अयान्सवर्ग नगरपालिकाले अनुदान दिएको हो। धेरै पुरानो भएका कारण पनि दमकल बिग्रिने समस्या आइरहन्छ। बिग्रँदो दमकलसँगै कर्मचारीको व्यवस्थापनको पनि समस्या रहेको उनले बताए।

'२४ सै घन्टा आकस्मिक सेवा गरेवापत् कर्मचारीले पाउनुपर्ने सुविधा पाइरहेका छैनन्,' उनले भने, 'मन्त्रालयले दिएकै सुविधा पनि कटौती गरिरहेको छ।'

स्थानीय विकास मन्त्रालयले आफूमातहत सञ्चालित काठमाडौं र ललितपुरका वारुणयन्त्रमा कार्यरत कर्मचारीलाई आकर्षक सुविधा उपलब्ध गराउँछ। मन्त्रालयले भत्ताको व्यवस्था, लत्ताकपडा, रासन र सुरक्षाका लागि आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ। तर गृह मन्त्रालयमातहत सञ्चालित भक्तपुरको वारुणयन्त्रमा भने तलबबाहेक कुनै सुविधा नभएको कार्यालयले जनायो। 'काम गर्नचाहीँ २४ सै घन्टा तयार रहनुपर्छ तर सुविधा केही पनि छैन,' वारुणयन्त्रका एक कर्मचारीले भने, 'केही समय पहिलासम्म त रासन उपलब्ध गराउँथ्यो। अहिले त त्यो पनि कटौती गर्‍यो।'

वारुणयन्त्रमा अहिले १० जना अग्नीनियन्त्रक, २ जना क्लिनर, २ जना कमाण्डर, २ जना चालक गरी १६ जना कर्मचारी छन्। २ कमाण्डर र एक चालक बाहेक अरु सबै करारका कर्मचारी हुन्। करारको काम अनि सुविधा पनि केही नभएपछि कर्मचारी फेरबदल भइरहने गरेको छ। दमकल नियमित सञ्चालन गर्दा भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेलगायत दोलखामा समेत सेवा दिने गरेको थियो। दमकल ३७ सय लिटर क्षमताको छ।

गृह मन्त्रालयमातहत सञ्चालित वारुणयन्त्रलाई सरकारले स्थानीय विकास मन्त्रालय मातहत सञ्चालन गर्ने निर्णय गरेपछि काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिकाले सोही बमोजिम सञ्चालन गरे। तर भक्तपुर नगरपालिकाले भने खर्च धान्न नसक्ने भन्दै जिम्मा नलिएपछि गृहले नै सञ्चालन गर्दै आएको हो। नगरपालिकाको आधारभूत पूर्वाधारमध्ये एउटा दमकल पनि हुनुपर्ने भए पनि भक्तपुर नगरपालिकाले भने गृहमन्त्रालयले चलाउँदै आएको दमकल सञ्चालन गर्न त परै जाओस् खर्च धान्न नसक्ने भन्दै पन्छिदै आएको छ। दमकल आम्दानी दिने स्रोत नभएर खर्च मात्रै गराउने भएका कारण पनि नगरपालिकाले आफ्ना आम्दानीको केही हिस्सा वारुणयन्त्र सञ्चालनमा खर्च हुने भएपछि नगरपालिकाले अटेर गरिरहेको मन्त्रालय स्रोत दाबी गर्छ। स्रोतका अनुसार गृहले जसोतसो काम सेवा दिइरहेकाले पनि नगरपालिकाले दमकल चलाउन चासो नदिएको जनाएको छ।

गृह मन्त्रालयले भने पटकपटक अनुरोध गर्दा पनि नगरपालिकाले जिम्मा नलिएको बताएको छ। दमकल सेवा स्थानीय निकायबाटै सञ्चालन हुने भएकाले गृहले यसतिर खासै चासो नदिएको तर भक्तपुरमा भने सञ्चालन गर्नुपर्ने बाध्यता नै परेर मात्र सञ्चालन गरिरहेको जनाएको छ। गृहले व्यवस्थित ढंगबाट सञ्चालन गर्न नसकेको पनि स्विकारेको छ।

गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार भक्तपुरको वारुणयन्त्र व्यवस्थित गर्न छलफल भइरहेको बताए। उनले वारुणयन्त्र कस्ले र कसरी व्यवस्थित गर्ने चाँडै नै निर्णय हुने बताए।

स्थानीय विकास मन्त्रालयका सहसचिव तथा वारुणयन्त्र विभाग प्रमुखले भने गृह मन्त्रालयले सञ्चालन गरिरहेकाले केही बोल्न नमिल्ने बताए।

प्रकाशित: २७ श्रावण २०७३ ०३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App