परिदृश्य

गुट राजनीतिबाट  माथि उठ कांग्रेस

बिहिबार, २७ साउन २०७३, ०८ : ५७ विश्वमणि पोखरेल

कांग्रेसी कलह सायद यो पार्टीको नियति हो। राजनीतिक पार्टीमा मतमतान्तर हुन्छन्, त्यसलाई स्वभाविक मानिन्छ। मूल राजनीतिक विचारधारा एउटै भए पनि त्यसलाई आत्मसात गर्ने र  व्यहारमा उतार्ने काम व्यक्तिपिच्छे फरक–फरक हुन सक्छ । त्यसैले एउटा जीवन्त पार्टीमा नेताहरूका विचारमा विरोधाभाष हुनु स्वभाविक मानिन्छ, कतिपय अर्थमा। कम्युनिस्टहरूमा पनि फरक मतको समानान्तर रुपमा अभ्यास गर्ने गर्दछन् तर कांग्रेसमा त्यस्तो चलन छैन। कांग्रेस स्थापनाकालदेखि अहिलेसम्मको यात्रामा शीर्ष नेताहरू सधैँ मत–मतान्तरमा रमाएको देखिन्छ। राय बझाएर नेता हुने अभ्यास यो पार्टीमा मौलाएको पाइन्छ।  लामो समयदेखि यस्तै रीतले चल्दै आएको छ यो पार्टी। त्यसैले कांग्रेसजनका लागि यस्ता मतभेद स्वाभाविक र सामान्य लाग्न सक्छन्। हिजो पनि यस्तै थियो, आज पनि त्यस्तै हुँदैछ भनेर चित्त बुझाउनेहरूको संख्या ठूलो छ। तर, केही वर्ष यता विकसित कांग्रेस कलह विगतको जस्तो स्वभाविक देखिन्न। नेताहरूको अहं र जुँगाको लडाइँ अनि पदहरूमा भागबण्डा गर्ने सौदाबाजीलाई सैद्धान्तिकीकरण गरेर राजनीतिक आवरण दिन नेताहरू सक्षम छन्। अहिले त्यसकै प्रहसन भइरहेको छ, काठमाडौंमा। कांग्रेसमा आवद्ध युवाहरू जो कलेज पढिरहेको दाबी गर्दछन्, उनीहरूको ११ औं अधिवेशन पार्टीका शीर्ष नेताहरूको कोपभाजनमा परेको छ। युवाहरू नेताका गुटगुटमा विभाजित भएर 'जय नेपाल' भनिरहेका छन्। किन विद्यार्थी युवाको जमातमाथि नेताको लगाम? कसैले प्रश्न गर्न नसकिरहेको अवस्था देखिँदैछ। कोही अधिवेशनका बेथितिको नाममा आमरण अनसन गर्दैछन्, कोही नेता भने महलमा नेतृत्वका लागि याचना गर्दैछन्।

नेपालका राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा लामो राजनीतिक इतिहास भएको र लोकले प्रजातान्त्रिक पार्टीको मान्यता दिएको कांग्रेसमा यस्ता विचलन सुहाउने होइन। एकले अर्कामाथि दोष थोपरेर आफू पानी मुनिको ओभानो हुने रोग यो पार्टीमा विकसित भएको छ। माउ पार्टी कलहमा रुमलिएको अवस्थामा त्यसका हाँगाबिगा सग्ला हुन्छन् भन्न मिल्दैन।

कांग्रेस पार्टीको अधिवेशन र भातृ संगठनका अधिवेशनको काम कार्यकर्ताको विश्वास जितेको नेतृत्व चुन्नु र पार्टी वा भातृ संगठनका नीति, कार्यक्रम  अनुमोदन गर्नु हो तर कांग्रेसमा आम कार्यकर्ताले चुनेको नेतृत्वलाई अस्वीकार गर्ने परम्परा बसाल्न खोजिँदैछ । विवादकै बीच नेविसंघको अधिवेशन सम्पन्न हुने आशा गरौं। गुटहरूको निर्वाचनमा कुनै एउटा गुटले निर्वाचन जित्ने छ वा मिश्रित परिणाम आउनेछ। तर, आफूलाई लोकतन्त्रको पर्याय ठान्ने कांग्रेसजन आम कार्यकर्ताले चुनेको नेतृत्वलाई स्वीकार्न तयार हुन्नन्। जो अहिले देखिएको छ। आम प्रतिनिधिले छानेको कार्यकारिणीको वैधानिकता अस्वीकार गर्ने अभ्यासमा कांग्रेसजन रमाइरहेका छन्। अहिले नेविसंघमा देखिएको विवाद भोलिका दिनमा प्रत्येक भातृ संगठनको अधिवेशनमा प्रकट हुनेछ। लामो समयदेखि गुट कलहकै कारण भातृ संगठनहरूको अधिवेशन भएको छैन। अधिवेशनहरू जुन बेला हुन्छ, त्यो बेला त्यहाँ कब्जा जमाउने  मनोविज्ञानले काम गर्दछ। कांग्रेसले संसदीय राजनीतिक प्रणाली अख्तियार गरेको छ। यसको अर्थ बहुमतको सत्ता। पार्टी सत्तामा पनि यही कुरा लागू हुन्छ। बहुमत ल्याउनेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने हुन्छ। निर्वाचनमा पराजित हुनेहरूले अर्को पटकका लागि कार्यकर्ताको विश्वास बटुल्नु पर्छ। लोकतन्त्रको यो मौलिकपन आत्मसात गर्न कांग्रेसका शीर्ष नेताहरूलाई असहज देखिँदैछ। गुटका आधारमा अधिवेशनबाट नेतृत्वमा आएकाहरूले नेतृत्वदायी भूमिका खेल्न सक्तैनन्। त्यो उनीहरूको कमजोरी हो। पार्टीको जिम्मेवारी पाएपछि आफ्ना आलोचकलाई समेट्ने उदारमना नेतृत्वमा देखिँदैन। आफ्नो गुटलाई बलियो बनाउने र त्यसैका हर्ताकर्तालाई अवसर दिने परिपाटी कांग्रेसमा हिजो पनि थियो, आज पनि छ। कांग्रेस गुट राजनीतिकै कारण आफ्नो धरातल छोड्दै गएको हेक्का सायद शीर्ष नेताहरूले गरेका छैनन्। वामपन्थी दलमा चरम विभाजनकै कारण कांग्रेसले मुलुकको राजनीतिमा बढी भूमिका  पाइरहेको  धरातलीय यथार्थ यहाँ बुझ्न आवश्यक छ। शीर्ष नेतृत्वको गुटको चश्मा लगाइरहेको हो भने उसले समयको पदचाप बुझ्न सक्तैन, जनताको अपेक्षा पुरा गर्न सक्तैन र कार्यकर्ताको विश्वासबाट टाढिँदै जान्छ। सात सालको राजनीतिक परिवर्तनको समयमा प्रजा परिषद् ठूलो पार्टी थियो। अहिले त्यो इतिहास भइसकेको छ। कांग्रेसजनले बेलैमा आत्मसात गर्न आवश्यक छ, कतै यो पार्टी प्रजा परिषद्कै दिशामा गइरहेको त छैन? 

नेविसंघ अधिवेशनमा देखिएको गुट राजनीतिको अर्थ हो, भातृ संगठन कब्जा गर्ने मनोविज्ञान। कब्जा गर्ने मानासिकता लोकतान्त्रिक हुँदै होइन। कब्जा गर्नु अभिनायकवादी चरित्र हो। लोकतान्त्रिक इतिहासमा गर्व गर्ने कांग्रेसका शीर्ष नेताहरू अधिनायकवादी मार्गमा? अधिनायकवादले गाँजेपछि त्यसले आफ्नो वरिपरिका बाहेक अरु कोही देख्दैन। अहिले कांग्रेसमा त्यही भइरहेको छ। गुटगत राजनीतिक अभ्यासबाटै नेपाली कांग्रेसको नेतृत्व सम्हाल्न पुगेका पार्टी सभापति शेरबहादुर देउवा कांग्रेस संसदीय दलका नेता पनि ह्ुन्। लामो संघर्षपछि पार्टी नेतृत्वको जिम्मेवारी पाएका देउवामा ठूलो छाती, लचिलो कार्यशैली र आफ्ना विरोधीलाई सम्हाल्न सक्ने राजनीतिक सुझबुझ र चातुर्य अपेक्षित थियो। अधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि देउवा गुट–राजनीतिबाट माथि उठ्न सकेनन्। यो उनको कमजोरी हो। आफ्नो वरिपरि बसेर जय नेपाल गाउनेहरूलाई मात्र कांग्रेस देख्न थाले भने ठूलो जमात विरोधी खेमामा उभिन पुग्छ। कांग्रेस शीर्ष नेतृत्वमा लामो समयदेखि जमेर बसेको कोइराला वंश परम्परालाई परास्त गर्नु आफ्नो ठाउँमा छ तर पदमा पदासिन हुनु मात्रले नेता कहलिइँदैन। कांग्रेस एउटा आफ्नैखाले संक्रमणकालबाट गुजि्ररहेको छ। त्यहाँ चुनौती छन् र अवसरहरू पनि छन्। त्यसका लागि गुट त्याग्न सक्नु पर्दछ। देउवाले सभापति र संसदीय दलको नेताको हैसियतमा आम कांग्रेसको नेता भन्ने मानसिकता बनाउन आवश्यक छ। 

उता पार्टीको बाह्रौं अधिवेशनमा देउवासँग संस्थापनको नाममा प्रतिस्पर्धा गर्ने रामचन्द्र पौडेल पनि आफ्नो मौलिक पहिचानबाट विमुख भएको देखिँदैछ। उनी अधिवेशनमा पराजित भएका हुन्। यस अर्थमा उनको मुख्य काम र कर्तव्य आगामी नेतृत्वका लागि आफूलाई तयार गर्नु हो तर उनी त्यसो गरिराखेका छैनन्। उनलाई हतारो छ। उनी आफैँ सत्ता राजनीतिमा ४० प्रतिशतको माग दाबी गर्दै व्यक्तव्यबाजी गर्नु 'सेतु'लाई सुहाउने कुरा होइन। पौडेलले देउवासँग प्रत्यक्ष संवाद गरेर विकसित राजनीतिमा आफ्नो भूमिका विस्तार गर्ने सम्भावना थियो राजनीतिमा तर उनले त्यसो गरेनन्। आफूलाई सधैँ गुट राजनीतिबाट अलग रहेको दाबी गर्ने र महाधिवेशनमा पनि गुट अन्त्य गर्ने प्रमुख एजेन्डा बनाएका पौडेललाई अधिनायकवादी चरित्रको गुट किन चाहियो? निश्चय नै देउवा र पौडेल समवयी नेता हुन्। कांग्रेसमा जुन बेला गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई पक्षमा मतभेद हुँदा पौडेल र देउवा दुवै भट्टराई खेमामा हुन्थे। तर पनि पौडेल समन्वयकारी नेताका रुपमा चिनिन्थे। समय क्रममा खास गरेर सत्ता राजनीतिले पौडेललाई कोइराला खेमामा पु्र्‍यायो र उनी १२ औं महाधिवेशनमा संस्थापन पक्षका नेता बन्न पुगे। प्रधानमन्त्री बन्ने हुटहुटीले पौडेल कतिपय अवस्थामा प्रतिपक्षीजस्तै देखिन्छन्। उनी खासमा आफ्नो राजनीतिक पहिचानविपरीत कोइराला कोटरीको गुटबन्दीलाई राजनीतिक अस्त्र बनाउन पुगेका छन्। कोइराला कोटरीका कतिपय सदस्य जो अहिले भूमिकाविहीन भएका छन्, उनीहरूकै उक्साहटमा पौडेल गुट राजनीतिको अस्त्र लिएर भौतारिइरहेका त होइनन्? कांग्रेसजन प्रश्न गर्न थालेका छन्।

गुट राजनीतिबाट मुक्ति कांग्रेसको अहिलेको आवश्यकता हो। मुलुकको राजनीतिमा अहं भूमिका खेल्नुपर्ने पार्टीका शीर्ष नेताहरू गुटको नेता मात्र हुन  सुहाउने कुरा होइन। गुट राजनीतिको चरम विकास भएको अहिलेको अवस्थाको आँकलन गर्न सक्नु नेताहरूको बुद्धिमानी हुन जान्छ। होइन भने नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ, सबै संगठनमा गुट राजनीति हाबी हुँदै जानेछ र कांग्रेस कमजोर बन्दै जानेछ। गुटबन्दीबाट माथि उठ्न देउवाले अग्रसरता लिनुपर्दछ र पौडेलले त्यसलाई साथ र समर्थन गर्न सक्नु पर्दछ। होइन भने गुटगत राजनीतिले कांग्रेसमा ठूलो क्षति पुर्‍याउने छ। कारण, स्थानीय निकायको चुनाव, संसदको चुनाव र प्रदेशका चुनाव सामुन्ने छन्।








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad