६ वैशाख २०८१ बिहीबार
कला

‘शेरबहादुर हलिउडबाट प्रभावित’

फिल्म ‘शेरबहादुर’का कलाकार रविन्द्र झा(बाँया), सुनिल थापा(बीच) र नायिका मेनुका प्रधान(दाँया) ।

काठमाडौं – फिल्म ‘शेरबहादुर’को ट्रेलर सार्वजनिक हुँदा यो फिल्म हलिउडको फिल्म ‘डन्ट ब्रिथ’बाट प्रभावित भएको आरोप लागेको थियो । फिल्म प्रभावित भएको विषयमा निर्माण समूहले कोही नबोलिरहँदा मंगलबार उनीहरूले सञ्चारकर्मी सामू फिल्म हलिउडबाट प्रभावित भएको स्वीकारे ।

फिल्ममा शीर्ष भूमिकामा देखिएका अभिनेता सुनिल थापाले फिल्म हलिउडबाट प्रभावित भएको खुलाए । ‘फिल्मको स्क्रिप्ट पढ्दा खेरी नै यो हलिउडबाट प्रभावित भएको भन्ने थाहा पायौं । त्यसकारणले फिल्म हलिउडबाट प्रभावित भएको भन्नमा कञ्जुस्याइँ गर्दिन,’ उनले भने, ‘हलिउडबाट प्रभावित भए पनि फिल्ममा दर्शकले नेपाली मौलिकता प्रशस्त पाउँछन् ।’

फिल्ममा दृष्टिविहीन पूर्व व्रिटिस लाहुरेको भूमिकामा आफू देखिने बताउँदै सुनिलले नेपाली फिल्मको इतिहासमा पहिलोपटक एउटा ठूलो सेट बनाएर सेटमै फिल्म छायांकन गरिएको दाबी गरे । ‘फिल्ममा दृष्टिविहीन भूमिका भएकाले मैले तिलगंगा आँखा अस्पताल गएर दृष्टिविहीनको व्यवहार र घुमफिर शैलीको बारे सिकें,’ सुनिलले भने, ‘यो फिल्ममा अभिनय गर्नकै लागि मैले दुई बलिउड फिल्म पनि छोडें । किनकी यो फिल्ममा मेरो चरित्र बलियो लाग्यो ।’

फिल्मका क्रिएटिभ निर्देशक प्रदीप भट्टराई फिल्म हलिउडबाट प्रभावित भए पनि नेपाली मौलिकता प्रशस्त राखिएको बताए । ‘हलिउडबाट फिल्म प्रभावित भए पनि शेरबहादुरलाई नेपाली मौलिकतामा ढालेका छौं,’ उनले दाबी गरे, ‘फिल्म हेर्दा दर्शकले हलिउड फ्लेबर पाउनुहुन्न । अन्य फिल्मको विषय नायक केन्द्रित हुन्छ । तर यो फिल्ममा बस्तुलाई नायक बनाएका छौं । झ्याल, ढोकालगायतका सबै बस्तु फिल्मका नायक छन् ।’

निर्माता गौरीशंकर धुजुले लामो समयपछि फिल्म निर्माणमा पुनरागमन गरेकाले आफ्नो पुनरागमन सुखद हुने आशा व्यक्त गरे । नायिका मेनुका प्रधानले अहिलेसम्म गरेका फिल्ममा भन्दा ‘शेरबहादुर’मा आफ्नो चरित्र भिन्न रहेको बताइन् । अभिनेता रविन्द्र झाले फिल्ममा आफू लभर ब्वाईका रूपमा देखिने खुलाए । त्यस्तै कर्माले फिल्ममा आफ्नो चरित्र चोरको रहेको बताए । आर राजवंशीको निर्देशन रहेको फिल्म माघ १९ मा रिलिज हुँदैछ ।

धिराज प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा गौरीशंकर धुजु र धिरज राजवंशीको लगानी छ । फिल्ममा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रवीन्द्र झालगायतको अभिनय छ । फिल्ममा वसन्त श्रेष्ठको नृत्य, दीर्घ गुरुङ र नारायण जिसीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रमोद क्षेत्रीको लेखन छ ।

 

प्रकाशित: ३ माघ २०७४ ०३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App