८ वैशाख २०८१ शनिबार
विचार

महिलाको कुलदेवता कुन ?

हालैको कुरा हो, काठमाडौँकै एकजना बहिनी गुर्जुकोमा चिना देखाउन गएकी थिइन् । गुर्जुले उनलाई भने— ग्रहदशामा गडबडी चलिरहेको छ, कुलदेवता पूजा गर्नू ठीक हुन्छ ।  

समस्याको निदान पाएर बहिनी खुसी भएर त फर्किइन् । तर कुलदेवता पूजाको तयारी गर्दागर्दै उनलाई अर्को समस्या आइपर्‍यो, कुलदेवता पूजा गर्ने त हो, तर कुन चाहिँ कुलदेवता ? आफूले जन्मैदेखि श्रद्धापूर्वक पुज्दै आएको कुलदेवता कि बिहेपछि आफूलाई देखाइएको नयाँ कुलदेवता ? यो अन्योलले कुलदेवताप्रतिको उनको श्रद्धा अस्थिर हुन 

पुग्यो ।

वास्तवमा बिहेपछि महिलाको घर मात्र होइन, कुलदेवतासमेत परिवर्तन हुने रहेछ । यस्तो अवस्थामा प्रश्न उठ्न सक्छ, देवता भनेको मूलतः आस्था हो । के बिहेपछि महिलाले आफ्नो आस्थासमेत परिवर्तन गर्नुपर्ने रहेछ ? 

हाम्रो सामाजिक–सांस्कृतिक मान्यताअनुसार कुलदेवता त्यहीँ रहने गर्छन्, जहाँका हामी भूमिसन्तान हौँ । कुलदेवताले हाम्रो आदि थलोको पहिचान गर्छ । त्यसैले कुलदेवता मूलतः भूमिसँग सम्बन्धित देवता हुन् । महिलाको आदिभूमि भनेको त्यहीँ हुनुपथ्र्याे, जहाँ ऊ जन्मेकी छ । बिहेपछि उसको कुलदेवतासमेत परिवर्तन गर्ने यो संस्कारले देखाउँछ कि बिहेपछि महिलाको आदिभूमिसँगको सम्बन्धसमेत विच्छेद हुने रहेछ । तर बिहेपश्चात् जुन नयाँ ठाउँमा ऊ जान्छे, त्यो कसरी उसको आदिभूमि हुन सक्छ ? आदिभूमि त त्यो हो जहाँ ऊ उत्पन्न भएको छ । आफू उत्पन्न भएको आदिभूमिबाट बिहे सँगसँगै उसको सम्बन्धविच्छेद भइसकेको हुन्छ । अब त्यो उनको आदिभूमि रहेन । तर बिहेपश्चात् जाने नयाँ ठाउँ आदिभूमि हुने पनि कुरै भएन । त्यसो भए आदि थातथलोसँगको उसको सम्बन्ध के हो त ? जब मानिस भूमिसँगको सम्बन्धबाट टुट्न पुग्छ, उसको पहिचान पनि खण्डित हुन पुग्छ । 

बिहेपश्चात् भूमिसँगको सम्बन्धमा आउने यो परिवर्तनलाई सांस्कृतिक–सामाजिक मान्यताहरूले स्थापित त गर्न सकिएला । अहिलेसम्म भइरहेको पनि त्यही नै हो । तर भावनात्मक रूपले भने त्यो सम्बन्धलाई आजसम्म पनि स्वीकार्न नसकेका उदाहरण हामीसँग प्रशस्तै छन् । जस्तो कि, बिहे भइसकेकी छोरीलाई माइतीमा अर्को परिवारको सदस्य भइसकेकी भनेर व्यवहार गरिन्छ । श्रीमान्को घरमा चाहिँ अर्काको घरबाट आएकी भनेर व्यवहार गरिन्छ । माइतीको भूमिबाट उसलाई उखेलिसकेको हुन्छ, श्रीमान्को भूमिमा जरा थाम्न सकेको हुँदैन । यो अवस्थामा महिला न यताको हुन्छ, न उताको हुन सक्छ । उसको पहिचान व्यक्तिका रूपमा होइन, वस्तुका रूपमा सीमित हुन पुग्छ । एउटा वस्तुमाथि कुलदेवताको के दयादृष्टि पर्न सक्थ्यो र !

यसो हुनुको प्रमुख कारण पनि समाजमा प्रचलित पितृसत्तात्मक संरचना नै हो । यो संरचनाले महिलालाई भूमिसँगको सम्बन्धबाट सधैँ वञ्चित बनाएको हुन्छ । भन्न त महिलालाई धरती माता भनिन्छ । तर व्यवहारमा धरतीसँग उसको कुनै सम्बन्ध रहेको 

हुँदैन । किनभने, पैतृक भूमिमा उसलाई अंश दिइँदैन । उता श्रीमान्को घर उसको आफ्नो भूमि होइन । जसको भूमिसँग कुनै सम्बन्ध हुँदैन, त्यसको अस्तित्वको कुनै आधार पनि हुँदैन । भूमिसँग सम्बन्ध नरहेकै कारणले महिला सामाजिक, आर्थिक, राजनीतिक दृष्टिकोणले समेत पछाडि पर्न गएको हो ।

देवता मानिसको आस्थासँग सम्बन्धित रहेको हुन्छ । र, आस्था उसको अस्तित्वसँग । त्यसैले एउटा बिहे भएकै आधारमा महिलाले आफ्नो देवता नै, त्यो पनि कुलदेवता, परिवर्तन गनुपर्ने यो कस्तो सामाजिक संरचना ? आजसम्म जुन देवतालाई आफ्नो देवता भनेर पुजिरहेको हो, भोलिदेखि त्यसलाई चटक्कै त्यागेर अर्कै देवता पुज्न जानु सामान्य कुरा हो ? के कुनै पुरुषले यसो गर्न सक्छ ? वा कहिल्यै गरेको छ ? 

बिहेपश्चात् महिलाले अरू नै कुलदेवतालाई आफ्नो कुलदेवता माने नै भनौँ । केही गरी उक्त पुरुषसँग महिलाको सम्बन्धविच्छेद भएर अर्को पुरुषसँग बिहे भयो भने उसको कुलदेवता चाहिँ कुन हुन्छ त ? बिहे हुनुभन्दा अघिको ? वा बिहे पछिको ? कि नयाँ श्रीमान्को ? बिहे गर्नु भनेको कुलदेवतासम्बन्धी आफ्नो आस्था पनि परिवर्तन गर्दै जानु हो ? नयाँ श्रीमान्को कुलदेवता नै महिलाको पनि कुलदेवता बन्ने हो भने त्यसभन्दा अघिका कुलदेवताहरूसँग उसको के सम्बन्ध रहन्छ त ? 

अर्को कुरा, सम्बन्धविच्छेदपछि पुनः अर्को बिहे हुनैपर्छ भन्ने ग्यारेन्टी त हुँदैन । केही गरी अर्को बिहे भएन र महिला एक्लै बस्न थाल्यो भने त्यस अवस्थामा उसको कुलदेवता कुन हुन्छ त ? माइतीतिरको कुलदेवतासँगको नाता त बिहेकै दिनमा तोडिइसक्यो । अब बिहे पनि टुट्यो भनेपछि श्रीमान्को कुलदेवतासँग पनि नाता तोडिने नै भयो । त्यस अवस्थामा उक्त ‘एकल महिला’को कुलदेवता कुन हुन्छ त ? कि कुलदेवता नै हुँदैन ? यदि ‘कुलदेवता’ भन्ने कुनै अवधारणा हाम्रो समाजमा छ भने कुलदेवताविहीन मानिस पनि समाजमा हुन सक्छ ? 

महिला होस् वा पुरुष, हरेक मानिसको कुनै न कुनै कुल त हुन्छ नै । अतः कुलको देवता पनि हुने नै भयो । तर महिलाको हकमा विवाह नै कुलदेवता हुने अथवा परिवर्तन हुने अथवा कुलदेवतै नहुने अवस्थाको कारक तत्व बन्छ भने त्यो त महिलाका पक्षमा बनाइएको संस्कारै भएन । बिहे भए कुलदेवता हुने, बिहे नभए कुलदेवता पनि नहुने । मानिसको कुल अर्थात् उत्पत्ति जस्तो विषयलाई बिहे जस्तो एउटा संस्कारभित्र कैद गर्नु कत्तिको सान्दर्भिक होला ? अस्तित्ववादको आँखाले हेर्ने हो भने त्यो महिला मात्र होइन, पुरुषका लागि पनि चिन्तनीय विषय हो । 

अब माथि सुरुमा उल्लेख गरिएको प्रसंगमा फर्कौं । कुनै महिला यदि एक्लै बसेर कुलदेवताविहीन अवस्थामा पुगिरहेको बेला माथि उल्लेख गरिएकी बहिनीको जस्तै ग्रहदशा बिग्रिएर कुलदेवता पुज्नुपर्ने स्थिति आयो भने कुन चाहिँ कुलदेवता पुज्नु जानु ? मात्र सम्बन्धविच्छेद भएको कारणले कुलदेवताविहीन भएर बस्नु ? 

प्रकाशित: ३ माघ २०७४ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App