८ वैशाख २०८१ शनिबार
खेल

सारापोभाको विजयी सुरुआत

मेलबर्न– राम्रो लयमा देखिएका रोजर फेडेरर र नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनमा आफ्नो प्रभाव जमाउन सफल भएको दिन मंगलबार पूर्वविजेता मारिया सारापोभाले पनि विजयी सुरुआत गरेकी छिन् ।

बीसौं ग्रान्ड स्लाम उपाधि जित्ने लक्ष्यमा रहेका साबिक विजेता फेडेररले रोड लभेर एरिनामा स्लोभेनियाका अलजाज बेडेनेलाई ६–३, ६–४, ६–३ को सेटमा हराएका थिए । दोस्रो वरीयताप्राप्त स्विट्जरल्यान्डका फेडेररले पाँचाै अस्ट्रेलियन ओपन र कीर्तिमानी आठौं विम्बल्डनको उपाधि जित्दै २०१७ को सुखद अन्त्य गरेका थिए ।

‘गत वर्ष यस प्रतियोगितामा केके भएका थिए भनेर मैले सोचिरहेको थिएँ । किनकि मेरा लागि यो सिजनभरकै उत्कृष्ट प्रतियोगिता हो,’ २०१७ को फाइनलमा राफेल नाडाललाई पराजित गरेका फेडेररले भने, ‘आशा छ यस प्रतियोगितामा यो वर्ष राम्रो हुनेछ ।’

१२ पटकका ग्रान्ड स्लाम विजेता जोकोभिच कुइनाको चोटका कारण ६ महिना आराममा बसेका थिए । जोकोभिचले अमेरिकाका डोनाल्ड योङलाई ६–१, ६–२, ६–४ को सेटमा स्तब्ध बनाए । सातौं पटक अस्ट्रेलियन ओपनको उपाधि जित्ने लक्ष्यमा रहेका जोकोभिचले तेस्रो सेटमा भने संघर्ष गर्नुपरेको थियो ।
‘मेरो पुनरागमनलाई सुखद बनाउन चाहन्थे । त्यो भयो,’ जोकोभिचले भने, ‘पहिलो दुई सेटमा मैले राम्रो टेनिस खेलेँ । तर तेस्रो सेटमा डोनाल्डले राम्रो गरे ।’

घुँडाको शल्यक्रियाका कारण झन्डै ६ महिना आराममा रहेका पूर्वविजेता स्टेन वावरिन्काले विजयी सुरुआत गर्ने क्रममा रिकार्डस बेरान्किसमाथि ६–३, ६–४, २–६, ७–६(७÷२) सेटको विजय हासिल गरेका थिए ।
विश्व नम्बर एक सिमोना हेलेपले दोस्रो चरणमा स्थान पक्का गरेकी छिन् । रोमानियाकी हेलेपले आफ्नै देशकी वाइल्ड कार्ड पाएर प्रतियोगितामा स्थान बनाएकी १७ वर्षीया डेस्टनी इएभालाई ७–६(७÷५), ६–१ को सेटमा हराएकी थिइन् ।

तिघ्राको चोटबाट सताइएकी तेस्रो वरीयाताप्राप्त गाब्रिन मुगुरुजाले फ्रान्सकी जेसिका पोनचेटमाथि ६–४, ६–३ सेटको नतिजा निकालिन् ।दुई वर्षअघि अस्ट्रेलियामा शक्तिवद्र्धक औषधि मेल्डोनियम प्रयोग गरेको भेट्टिएपछि १५ महिना निलम्बनमा परेकी सारापोभाले आफू पाँच पटकको विजेता हो भनेर प्रमाणित गरिन् ।

मेलबर्नमा २००८ को उपाधि जितेकी सारापोभा (अहिले ४८औं वरीयाता)ले जर्मनीकी टात्जाना मारियालाई ६–१, ६–४ को सेटमा पराजित गरिन् । पछिल्लो दुई वर्षमा उनले अस्ट्रेलियन ओपन खेलेको यो पहिलो हो ।‘यो क्षणबाट म आनन्दित छु । मलाई यहाँ खेल्न मन पर्छ,’ गत अप्रिलमा निलम्बन फुकुवा भएकी रसियन सुन्दरी सारापोभाले थपिन्, ‘दुई वर्षपछिको यो प्रतियोगिता साँच्चिकै उपलब्धिमूलक होस् भन्ने चाहेकी छु ।’

अर्की पूव नम्बर एक एन्जेलिक केरबेरले अन्ना–लेना फ्रइडजसलाई ६–०, ६–४ को सेटमा हराइन् । केरबेर २०१६ की विजेता हुन् ।‘२०१७ लाई मैले बिदाइ गरिसकें । अब पछाडि फर्केर हेर्न चाहन्नँ,’ गत वर्ष बिर्सनलायक प्रदर्शन गरेपछि शीर्ष वरीयता गुमाएकी केरबेरले भनिन् ।छैटौं वरीयताप्राप्त कारोलिना प्लिसकोभा र आठौं वरीयताकी क्यारोलिन गार्सियाले पनि दोस्रो चरणमा स्थान बनाइन् ।अमेरिकी खेलाडीको खराब प्रदर्शनले निरन्तरता पाउनेक्रममा म्याडिसन ब्रेनगल बेलायतकी जोहाना कोन्टासँग पराजित भइन् ।

‘यो क्षणबाट म आनन्दित छु । मलाई यहाँ खेल्न मन पर्छ । दुई वर्षपछिको यो प्रतियोगिता साँच्चिकै उपलब्धिमूलक होस् भन्ने चाहेकी छु ।’

 

 

प्रकाशित: ३ माघ २०७४ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App