coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बुढा सुब्बा गोल्डकप बीसौं संस्करण माघ २० देखि

धरान– मोफसलमा आयोजनाले निरन्तरता पाएको बुढा सुब्बा रेडबुल गोल्डकप यसपालि २०औं वर्षमा प्रवेश गर्दै छ । दुई दशक पूरा भएको उपलक्ष्यमा बुढा सुब्बाको २०औं संस्करणलाई भव्य र आकर्षक बनाउन आयोजक धरान फुटबल क्लबले विशेष तयारी थालेकाे छ ।

क्लबका अनुसार माघ २० गतदेखि २७ गतेसम्म २०औं सँस्करण आयोजना हुनेछ । पछिल्ला ६ संस्करण धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुँदै आएको प्रतियोगिता यो वर्षदेखि पुनः धरान १६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा हुनेछ । निर्माणाधीन रंगशालाको अधिकांश प्याराफिट बनिसकेको छ भने खेलमैदान मर्मतसम्भार भइरहेको क्लबका अध्यक्ष एवं एन्फा केन्द्रीय उपाध्यक्ष किशोर राईले बताए।

एन्फा कुनै बेला गणेश थापा र गीता राणा नेतृत्व विवादमा फसेर नेपाली फुटबल ओरालो लाग्दा बुढा सुब्बा गोल्डकपले साख जोगाएको थियो । अहिले पनि ठ्याक्कै नेपाली फुटबलले त्यही नियति भोगिरहँदा बुढा सुब्बा गोल्डकप भने सुखद २०औं वसन्तमा पाइला टेक्दै छ । ‘हिजो जस्तो लाग्छ, हामीले बुढा सुब्बा गोल्डकप सुरु गर्ने निर्णय गरेका थियौं, २० वर्ष पुगिसकेछ । यो एउटा युग हो, २०औं संस्करणलाई हामी विशेष रूपमा आयोजना गर्दै छौं,’ वराह किचनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले भने, ‘प्रदेश नं १ को राजधानी धरानमा भन्ने नारासहित स्तरीय फुटबल खेल पस्कने तयारीमा छौं ।’२०५५ सालदेखि सुरु भएको बुढा सुब्बा गोल्डकप निरन्तर आयोजना हुने एक मात्र नेपालको फुटबल प्रतियोगिता हो ।

बुढा सुब्बाकै सिको गरेर पछि विभिन्न प्रतियोगिता नेपालमा सुरु भए । प्रतियोगितामा अहिलेसम्म ९ वटा टोली सहभागी हुने तय भए पनि १० वटा टोली पनि हुन सक्ने क्लबले जनाएको छ । सम्भावित टोलीमा नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, संकटा क्लब, थ्री स्टार क्लब, अन्डर १९ राष्ट्रिय नेपाली टिम, बंगलादेश धनमुन्दी क्लब, गरिफा फुटबल क्लब कोलाकता (भारत), एपिएफ क्लब र आयोजक क्लब छन् । ‘नेपाली सेनाको टिमलाई पनि सहभागी गराउने पहल गर्छांैं । गत वर्ष पनि प्रयास गरेका थियौं, यसपालि पनि प्रयत्न गरेर १० टिम बनाउन सक्छौं,’ अध्यक्ष राईले भने, ‘यसपालि उपाधि जित्ने भनेर धरानका मात्र उत्कृष्ट, क्षमतावान खेलाडी राखेर टिम बनाएका छौं । टोलीले खप्तड गोल्ड कपमा पनि राम्रो प्रदर्शन गरिसकेको छ ।’

प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद ५ लाख १ हजार र उपविजेताले २ लाख ५१ हजार पाउनेछ । गत संस्करण बराबर नै भएकोले यो पुरस्कार राशि बढ्न सक्ने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उदीयमान खेलाडीलाई जनही २५ हजार रुपियाँ दिइने आयोजक क्लबले जानकारी दिएको छ ।  ‘व्यक्तिगततर्फ नगद पुरस्कार वृद्धि गरेका छौं, विजेता र उपविजेतालाई पनि वृद्धि गर्नेबारे क्लबले पुनर्विचार गर्नेछ । पैसा बढाउन भन्दा पनि निरन्तरतामा हामी केन्द्रित छौ,’ क्लबका अध्यक्ष राईले भने ।

 

प्रकाशित: ३ माघ २०७४ ०२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App