coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

जसले 'माइतीघर' आएर 'कान्छी'सित 'मायाप्रीति' गाँसे

काठमाडौं- निजीस्तरबाट बनेको नेपालको पहिलो फिल्म 'माइतीघर'का निर्देशक बिएस थापाको मंगलबार भारतको मुम्बईमा ९३ वर्षको उमेरमा निधन भएको छ। उनको जन्म १९२३ जुलाई ३ का दिन देहरादुनमा भएको थियो।

'उहाँको बलिउडमा राम्रो इज्जत र पकड थियो, उहाँलाई बलिउडका फिल्मकर्मीहरुले पढालिखा मान्छेका रुपमा चिन्छे,' नेपाल निर्देशक किशोर रानाले भने, 'उहाँले थुप्रै हिन्दी फिल्मका पटकथालाई प्राविधिक रुपमा परिमार्जन गर्ने काम गर्नुभएको थियो।' थापाले डबल मास्टर्स् गरेका थिए।

नेपालको पहिलो सिनेमास्कोप फिल्म 'राँको'का निर्देशक किशोर रानालाई नेपालमा ल्याएकै थापाले हुन्। 'कान्छी' फिल्ममा राना सहायक निर्देशक थिए। थापाका माइला छोरा अनिल र किशोर मिल्ने साथी थिए। त्यसैले थापाको मुम्बईस्थित घरमा किशोरको नियमित आउजाउ हुन्थ्यो।

'मैले मुम्बई छाडेर नेपाली फिल्ममै काम गर्न थालेको देखेर उहाँ खुसी हुनुभएको थियो,' किशोरले सम्झे, 'उहाँ मलाई सधैं तिमीले नेपाली फिल्ममै समर्पित हुने निर्णय गरेर ठिक गर्‍यौ भन्नुहुन्थ्यो।'

नेपाल र भारतीय फिल्म उद्योगमा एकैपटक निर्देशन विधामा काम गर्न सफल सम्भवत एकमात्र निर्देशक बिएस थापा नै थिए। बलिउडमा उनको अभिनेता सुनिल दत्तसँग राम्रो मित्रता थियो। त्यसैले सन् १९६६ (२०२३ साल)मा रिलिज भएको 'माइतीघर'मा उनले सुनिललाई अतिथि भूमिकामा खेलाएका थिए। नेपाली मूलकी अभिनेत्री माला सिन्हाको अभिनयका कारण पनि 'माइतीघर'ले चर्चा कमाएको थियो। मालाले उक्त फिल्ममा अभिनय गर्ने क्रममै नायक सिपी लोहनीसँग बिहे गरेकी थिइन्।

'माइतीघर'पछि सन् १९७१ मा सुनिल दत्तको निर्देशनमा सुपरहिट फिल्म 'रेश्मा और शेरा' रिलिज भएको थियो। उक्त फिल्ममा सुनिललाई बिएस अर्थात् भीम सिंह थापाले नै सहनिर्देशकका रुपमा सघाएका थिए। सुनिलसँगको मित्रता यतिमै सीमित रहँदैन।

थापाद्वारा निर्देशित पहिलो भारतीय फिल्म पञ्जाबी भाषाको 'मन जिते जग जित'मा समेत सुनिलको अभिनय थियो। बलिउडमा चाहिँ थापाको पहिलो निर्देशकीय फिल्म सन् १९७५ को 'हिमालय से उँचा' हो। उक्त फिल्ममा पनि सुनिलले अभिनय गरेका थिए।

ओम प्रकाश, लक्ष्मी र फरिदा जलालको मुख्य भूमिका रहेको सन् १९७७ को 'चरण दास' थापाको दोस्रो हिन्दी फिल्म थियो। उक्त फिल्ममा सुनिलमात्र होइन अमिताभ बच्चन र धर्मेन्द्रको समेत विशेष भूमिका हेर्न पाइन्छ।

थापाले फिल्मसम्बन्धी काम भारतीय निर्देशक चेतन आनन्दसँग सिकेका थिए। चेतनका दुई फिल्म 'अर्पण (१९५६)' र 'किनारे किनारे (१९६३)'मा उनले अभिनय गरेका थिए। 'किनारे किनारे'का संगीतकार जयदेवमार्फत् नै थापाको सुनिल दत्तसँग चिनजान भएको थियो।

सन्् १९८२ को 'गंगाधाम' थापाको पहिलो सुपरहिट हिन्दी फिल्म थियो। नमिता चन्द्र, अरुण गोविल, शक्ति कपुरलगायतले उक्त फिल्ममा अभिनय गरेका थिए। फिल्मको प्रोडक्सन टिममा थुप्रै नेपालीको सहभागिता थियो। निर्देशक किशोर राना पनि 'गंगाधाम'मा सहायक निर्देशक थिए।

पहिलो पत्नी सरस्वतीको निधन भएपछि थापाले 'गंगाधाम'कै सहायक नृत्य निर्देशक प्रतिमा गुरुङसँग दोस्रो बिहे गरेका थिए। दुई पत्नीबाट उनका तीन छोरा र दुई छोरी छन्। छोराबुहारी सबैजना भारतमै बस्छन्।

थापाले सन् १९८४ मा आफ्नो दोस्रो नेपाली फिल्म 'कान्छी' निर्देशन गरे, जसबाट शर्मिला मल्लले ब्रेक पाइन्। 'कान्छी'पछि सन् १९८९ मा अर्को नेपाली फिल्म 'मायाप्रीति' निर्देशन गरे। त्यसपछि उनले नेपाली फिल्म निर्देशन गरेनन्।

मुम्बईमै सपरिवार बस्ने भएकाले उनले बलिउडमै काम गरे। नामुद निर्देशक प्रकाश मेहराका दुई फिल्म 'जिन्दगी एक जुवा (१९९२)' र 'बाल ब्रह्मचारी (१९९६)'मा उनले सहायक निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए।

प्रकाशित: २७ श्रावण २०७३ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App