coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फेरि बल्यो सडकमा आगो

दाङ – मंगलबार बिहान प्रदेशिक राजधानीबारे समाचार फैलियो, ‘सरकारले आज प्रदेश प्रमुखसँगै प्रदेशको अस्थायी मुकाम  घोषणा गर्दैछ ।’ उक्त खबरमा जनाइएअनुसार प्रदेश ५ को राजधानी बुटवल आसपास हुने भनेर उल्लेख थियो । प्रदेश नम्बर पाँचको राजधानी दाङ हुनेमा विश्वस्त बन्दै आएका दंगालीका लागि यो खबर अप्रिय बन्न पुग्यो । अनि तत्काल यो खबरले आन्दोलन मच्चाइदियो ।

दाङ बाहिर राजधानी घोषणा गर्न लागेको सरकारको तयारीबिरुद्ध भन्दै गरिएको आन्दोलनले दाङका बजार दिउँसो एकाएक बन्द भए । घोराही बजारमा दिउँसो २ बजेदेखि व्यवसायीहरू स्वस्फूर्त व्यवसाय बन्द गरेर प्रदेश राजधानीको माग गर्दै नाराबाजीमा उत्रिए भने तुलसीपुरमा दिउँसो १ बजेदेखि बजार र यातायात बन्द भए । उता लमही बजार पनि दिउँसोदेखि मंगलबार बेलुकासम्मै सुनसान बन्न पुग्यो । सडकमा टायर बालेर प्रदर्शन भएका छन् ।

मंगलबारको आन्दोलनलाई सांकेतिक बिरोध भनेका दंगालीहरूले बुधबारदेखि अनिश्चितकालीन जिल्ला ठप्पकै कार्यक्रम घोषणा गरिसकेका छन् । ‘हामीहरूले आज (मंगलबार) सरकारको गलत निर्णयको तयारीबिरुद्ध सांकेतिक रूपमा आन्दोलन मात्रै गरेका हौँ,’ प्रादेशिक राजधानी सरोकार समितिका सदस्यसचिव सविन प्रियासनले नागरिकसँग भने, ‘अब बुधबारदेखि अनिश्चितकालीन जिल्ला बन्द गरेर आन्दोलनलाई कडा बनाउँछौँ ।’ प्रदेशका १२ वटै जिल्लाको पायक पर्ने दाङलाई छोडेर राजधानी अन्यत्र लैजाने सरकारको तयारी किमार्थ स्वीकार्य नहुने भन्दै सरोकार समितिले दाङबाहेक राजधानीका लागि अन्यत्र विकल्प नै बन्न नहुने निस्कर्ष निकालेको छ ।

‘जबसम्म दाङ राजधानी बन्दैन, तबसम्म हामीहरूको आन्दोलन रोकिन्न,’ समितिका सदस्य सचिव प्रियासनले भने, ‘यो हाम्रो आन्दोलनको प्रमुख मुद्दा भनेको प्रदेशका हरेक नागरिकको पायकमा राजधानी तोकियोस् भन्नका लागि हो ।’ सबैको पायकसँगै यहाँको भौगोलिक बनावट, सीमा सुरक्षा, भौतिक पूर्वाधारका हिसाबले पनि दाङ अरु जिल्लाभन्दा उपयुक्त भएको दंगालीको जोड रहँदै आएको छ ।
यसअघि पनि सरकारसमक्ष प्रदेश ५ को राजधानी दाङ प्रस्ताव गरिएको र निर्णय हुने भन्दै समाचार बाहिरिएपछि विभिन्न जिल्लामा आन्दोलन चर्किएको थियो ।

त्यही आन्दोलनलाई ध्यानमा राख्दै सरकारले अस्थायी मुकाम तोक्ने निर्णयबाट पछि हटेको जानकारी गराएको थियो । त्यसयता आन्दोलनरत जिल्लावासीहरू मत्थर बनेका थिए । तर मंगलबार बिहानै पुनः राजधानी घोषणा हुन लागेको समाचार बाहिरिनासाथ सडकमा आगो बल्न थाले । यसको मूल कारण गत स्थानीय तहको निर्वाचनदेखि राजनीतिक अ‍ेजन्डा राजधानी बन्नु मूल कारण हो । स्थानीय तह एवं प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनमा प्रमुख राजनीतिक अजेन्डा बनेको राजधानीले अहिले हरेक नागरिकको ध्यान तानेको छ । यसर्थ राजधानी नहुने खबरले स्थानीयमा आक्रोश पैदा गरिरहेको छ ।

स्थानीय तहको निर्वाचनमा दाङ प्रादेशिक राजधानी प्रमुख चुनावी अजेन्डा बन्यो । वडा तहदेखि गाउँपालिका हुँदै नगर, उपमहानगरपालिकाको निर्वाचनमा भिडेका सबै उम्मेदवारको एउटै बोली थियो, ‘मेरो जित प्रादेशिक राजधानीका लागि हो ।’ स्थानीय तहको निर्वाचनपछि भएको प्रदेश तथा प्रतिनीधिसभाको निर्वाचनमा पनि उही मुद्दा नै चुनाव जित्ने प्रमुख विषय बनिदियो । वडा तहदेखि केन्द्रसम्मको चुनावी अजेन्डाको प्रशिक्षणले आमनागरिकलाई पनि मूलतः राजधानीको मुद्दा बढी प्रिय बनिदियो ।

‘राजधानी पक्का भनेर केही उम्मेदवारले चुनावमा बढी भोट पनि प्राप्त गरे, या भनौ जिते पनि,’ विश्लेषक विनोद पोखरेलले भने ‘स्थानीय तह देखि नै आमनागरिकमा राजधानीको अजेन्डा प्रस्तुत गर्न थालियो, जसका कारण हरेक मतदाताको रोजाइमा राजधानी बन्दै गयो ।’ राजधानी बनेपछि विकासका पूर्वाधार खडा हुने भन्दै गरिएको चुनावी प्रचारबाजी अहिले पेचिलो बन्दै गएको विश्लेषक पोखरेलको टिप्पणी छ । यही प्रचारकै कारण अहिले राजधानी नपाउने खवर सुन्नासाथ आन्दोलनका लागि जोश पैदा हुने गरेको उनले बताए ।

‘यो राजनीतिक चुनावी अजेन्डाको जोश पनि हो,’ उनले भने ‘किनकी आमनागरिकले राजधानी बन्ने कुरा बढी भन्दा बढी सुने र आम मतदातामा अब मुख्य आवश्यकता नै राजधानी हो भन्ने सोच विकास भैसकेको छ ।’

बिगतका निर्वाचनमा राजधानीलाई नै मुख्य अजेन्डा बोकेर निर्वाचित जनप्रतिनीधिमाथि पनि राजधानीको निर्णयले अविश्वास पैदा हुने अर्को खतरा पनि सामु नै रहेको विश्लेषण हुने गरेको छ । अहिले राजधानी घोषणा सरकारको हातमा रहेको बुझेका नागरिकले चुनावका बेला आफैले राजधानी ल्याउने भन्दै दिलाएको विश्वासप्रति प्रश्न उठ्नसमेत थालेको छ । ‘मतदातालाई राजधानी मैले नै ल्याउँछु भनेर वाचा गरेकाहरू अहिले किन निरिह बनेर बसेको ?,’ घोराहीवासी एक सर्वसाधरण भन्छन्, ‘निर्णायक बन्न नसक्नेले यो अजेन्डालाई मत बटुल्ने अस्त्र मात्रै बनाएको आभाष भइरहेको छ ।’
सबैको केन्द्र भने ‘दाङ’
मंगलबार प्रदेश प्रमुख तथा प्रादेशिक अस्थायी मुकाम तोक्ने सरकारी तयारी बुधवारका लागि सारिएको छ । तथापी बुधबारको मन्त्रिपरिषद् बैठकले पनि दाङ बाहिर नै अस्थायी मुकाम तोक्नसक्ने शंका दाङमा बढेको छ । तर प्रदेशका हरेक जिल्लाको केन्द्रका रूपमा भने दाङ जिल्ला नै देखिन्छ ।

यो प्रदेशको पश्चिमी जिल्ला बर्दिया दाङको सदरमुकाम घोराहीदेखि १ सय १३ किलोमिटर दूरीमा छ भने यो प्रदेशको पूर्वी जिल्ला पश्चिम नवलपरासी १ सय २९ किलोमिटरको दूरीमा छ । यसैगरी घोराहीदेखि पाल्पा जिल्लाको दूरी १ सय १५ किलोमिटर रहेको छ भने गुल्मी ७५ किलोमिटरको दूरीमा छ । राजधानीको अर्को सम्भावित जिल्ला रूपन्देही १ सय ३ किलोमिटरको दूरीमा छ भने अर्घाखाँचीको सन्धीखर्क ६५ किलोमिटरको दूरीमा छ ।

कपिलवस्तुको तौलिहवा ७७ किलोमिटर, प्यूठान ३७, रोल्पा ३३, पूर्वी रुुकम ७५ किलोमिटरको दूरीमा छ । यस्तै बाँकेको नेपालगन्ज १ सय १३ किलोमिटरको दूरीमा छ । यसरी अन्य जिल्लाको दूरी हेर्दा पनि दाङ अन्य जिल्लाम भन्दा प्रादेशिक राजधानीका लागि पायकमा देखिन्छ । तर अन्य जिल्ला मुकाम तोकिए पश्चिमी या पूर्वी जिल्लालाई अपायक पर्ने देखिन्छ ।राजधानी माग गर्दै मंगलबार तुलसीपुमा टायर बालेर आन्दोलन गरिँदै ।
 


 

 

प्रकाशित: ३ माघ २०७४ ००:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App