coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सोलुखुम्बुमा ४ सय विद्यार्थी बिरामी, स्वाइन फ्लूको आशंका

सोलुखुम्बु – सोलुखुम्बुमा ४ सय बढी विद्यार्थी बिरामी परेका छन्। जिल्लाको विकट क्षेत्रमा पर्ने महाकुलुङ गाउँपालिका - २ स्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थी एकैपटक बिरामी भएका हुन्। चिकित्सकले बिरामी विद्यार्थीमा स्वाइन फ्लूको आशंका गरेका छन्। विद्यार्थीमा एक्कासी ज्वरो आउने, टाउको दुख्ने, बान्ता हने, आँखा रातो हुने, आँसु आइरहने, खोकी लाग्ने जस्ता समस्या देखिएको छ। ६ वर्षदेखि १६ वर्ष उमेरका बालबालिकामा यस्तो समस्या देखिएको विद्यालयका प्रधानाध्यापक टंक दाहालले जनाएका छन्।

५ दिनअघि विद्यालयमा रहेका करिब ३ सय विद्यार्थीमा यस्तो स्वास्थ्य समस्या देखिएको थियो। मंगलबार पनि विद्यालयमा अध्ययनरत १ सय २४ जना विद्यार्थी बिरामी परेको विद्यालयले जनाएको छ। विद्यार्थीमा अज्ञात रोगको लक्षण देखिएपछि विद्यालयले बिरामी विद्यार्थीलाई उपस्थित नहुन भनेको थियो। बाँकी १ सय २४ जना विद्यार्थीमा समेत त्यो समस्या देखिएपछि बिरामी हुनेको संख्या बढेको हो। बिरामीको संख्या थपिदै गएपछि अभिभावकहरु भने चिन्तामा छन्।   

यता, प्राथमिक स्वास्थ्य केन्द्र सोताङका चिकित्सक सङडु शेर्पा सहितको टोली उपचारमा संलग्न भएका छन्। ल्याब परीक्षण पछि मात्रै रोग पत्ता लाग्ने उपचारमा खटिएका डाक्टर सङडु शेर्पाले बताए। शेर्पाले भने, ‘ल्याब परीक्षण नगरी समस्या पत्ता लगाउन नसकिएको र ल्याब परीक्षण पछि मात्रै समस्या थाहा हुने छ।’

विद्यार्थीहरुमा स्वाइन फ्लूको लक्षण देखिएको बताउँदै उनले अगाडि भने– ‘हिजो देखि नै हामी पेल्माङ आधारभुत विद्यालयको प्राङगणमा स्वास्थ्य जाँच गरी औषधि वितरणमा खटिरहेका छौं, औषधि पनि पर्याप्त छैन ।’ सोताङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ल्याएको औषधि पनि सकिन लागेकाले बुङको स्वास्थ्य चौकीबाट झिकाईएको उनको भनाई छ।  

स्वाईन फ्लुको आशंका लागेकोले परीक्षणको लागि समान लिएर ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको एक टोली बुधबार काठमाडौंबाट सोलुखुम्बु आउँदै छ। हाल बिरामी विद्यार्थीहरुलाई भने लक्षण अनुसारको उपचार गरी औषधि दिइएको चिकित्सकहरु बताउँछन्।

विद्यालयका प्रधानाध्यापक टंक दाहालले विद्यार्थीहरुमा एक्कसी यस्तो समस्या देखा परेको बताउँदै भने, ‘एक्कासी ज्वरो आउने, टाउको दख्ने, बान्ता हने समस्या देखियो। एकैपटक विद्यार्थी बिरामी भए, स्वास्थ्य संस्था पुग्न पैदल २ घण्टासम्म लाग्ने हुँदा बोकेर स्वास्थ्य संस्था लैजान पनि सकेनौँ।’ विद्यालयमा ४ सय विद्यार्थी अध्ययनरत छन्।

सबै विद्यार्थी विरामी भएपछि विद्यालय पठनपाठन बन्द गर्ने अवस्थामा पुगेको छ। यसअघि विद्यालयमा यस्तो समस्या देखिने गरेको थिएन। एक्कासी देखिएको अज्ञात रोगको समस्याले अभिभावक पनि चिन्तामा छन्।

प्रकाशित: २ माघ २०७४ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App