८ वैशाख २०८१ शनिबार
समाज

११ बुँदे माग राख्दै देशभरका नर्सहरू आन्दोलित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आन्दोलित नर्सहरू । तस्बिरः डिबी बुढा

जुम्ला – दुर्गममा काम गर्ने नर्सहरूलाई उचित पारिश्रमिक सुरक्षाको प्रत्याभूति सहितका विभिन्न ११ बुँदे माग राख्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका नर्सहरूले दैनिक तीन घण्टा नियमित काम छाड्दै आएका छन् । नर्सले काम नगरेपछि अस्पतालले दिने सेवा प्रभावित बनेको छ। 

नर्सिङ अफिसर सबिना थापाले कालोपट्टी बाँधेर बस्ने र ड्युटी नगर्ने गरेको बताइन । अस्पतालको नर्सिङ महाविद्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरूले माघ ६ गते सम्म तीन घण्टा र ७ गतेबाट २४ सै घण्टा डयुटी नगर्ने चेतावनी दिएका छन । नेपाल सरकारका नर्सहरूलाई उपलब्ध हुँदै आएको न्यूनतम तलब भत्ता सरह निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरुलाई उपलब्ध गराउनु पर्ने, मानव अंग प्रत्यारोपण केन्द्रबाट निस्कासन गरिएका नर्सिङका कर्मचारीलाई बिना शर्त पुनर्वहाली गर्नु पर्ने, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनःस्थापना गर्नु पर्ने, जनतालाई गुणस्तरीय सेवा दिनको लागि सरकारले बनाएको विरामीको अनुपात सबै अस्पतालमा लागु हुनु पर्ने माग गरेका हुन्। 

यस्तै भोलेन्टियरको नाममा भएको नर्सको श्रमशोषण बन्द गर्नु पर्ने, सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवद्र्धन गरी गुणस्तरीय नर्सिङ सेवा उपलब्ध गराउने व्यवस्था गर्नु पर्ने, लुगाभत्ता, रात्रिकालिन भत्ता, बिदा सुविधा, र हेजाड भत्ता वृद्धि गरी लागु गरिनु पर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृद्धि विकासको लागि पोष्ट खाका तयार गर्नु पर्ने, योग्यता पुगेका अनमी, स्टाफ नर्सहरुलाई व्याचुलर नर्सिङ र मास्टर नर्सिङलाई पिएचडी सम्मको तलबी बिदा अध्ययनको व्यवस्था गरिनुका साथै श्रम ऐन २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशिघ्र लागु गर्नु पर्नेमा मागसहित आन्दोलनमा उत्रिएका हुन्। 

नर्सिङ अधिकृत सुस्मिता विसीले आफ्नो हक, हित र अधिकारका लागि थालिएको आन्दोलन निष्कर्षमा नपुगे सम्म आन्दोलन जारीरहने बताइन । उनले भनिन, ‘हरेक हिसावले हुने विभेदको अन्त्य नहुँदासम्म यो आन्दोलनले विश्राम लिने छैन।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ५७ जना अनमी र नर्सहरूले आन्दोलन थालेका हुन। नर्सहरूले ड्युटी गर्न छाडेपछि निकै समस्या आएको अस्पताल प्रशासनले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला संघर्ष समितिकी संयोजक डा.शर्मिला श्रेष्ठले आकस्मिक अप्रेशन र आकस्मिक सेवा बाहेक सबै सेवा बहिस्कार गरेको बताइन । तोकिएको मिति भित्र माग संबोधन नभए थप जटिल प्रकारका आन्दोलनका कार्यक्रम घोषणा हुनेमा उनले जोड दिइन । राष्ट्रव्यापी रुपमा नेपाल नर्सिंङ संघले पनि आन्दोलनका कार्यक्रमलाई घनिभूत बनाउदै लगेको छ। 

प्रकाशित: २ माघ २०७४ ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App